– अनन्त्य सुन्दर
काठमाण्डौ । केही समयदेखि लगातार घट्दो क्रममा रहेको नेपाली सेयर बजार आज भारी अंकले बढेसँगै लगानीकर्ता उत्साहित देखिन्छन्।
हिजो २७.५१ अंकले बढेको बजार आज झन्डै ९० अंकले बढेको छ। लगानीकर्ता संघसंगठनका नेता तथा बजारका अगुवा लगानीकर्ता अब बजार घट्नुपर्ने कुनै कारण नरहेकाले बजार बढ्ने बताउँछन्।
नेपाल इन्भेस्टर्स फोरमका निवर्तमान अध्यक्ष छोटेलाल रौनियार अब बजार बढ्नुको साथै नेप्से परिसूचकले छिटै नै पुरानो रेकर्ड ब्रेक गर्ने बताउँछन्। ‘अहिले लगानीकर्ताले १५ महिनाको ब्याज तिरिसकेको अवस्था छ’, रौनियार भन्छन्, ‘राष्ट्र बैंकले सीडी रेटियोलाई सीसीड़ी रेटियो कायम गर्ने कुराको लगानीकर्तामाझ चर्चा पनि छ। त्यसका साथै बैंकका साथै व्यक्तिलाई ब्रोकर लाइसेन्स दिने कुराको पनि चर्चा छ। त्यसैले बजार बढ्ने निश्चित छ।’
बजारलाई असर गर्ने नकारात्मक न्युज अब कुनै नरहेकाले नेप्से परिसूचकले छिटै नै अल–टाइम हाई बनाउने रौनियारले दाबी गरे।
नेपाल पुँजी बजार लगानीकर्ता संघकी अध्यक्ष राधा पोख्रेल भन्छिन्, ‘मौद्रिक नीतिको समीक्षा हुने बेला भएको छ। राष्ट्र बैंकले ४–१२ को सेयर धितो कर्जामा लगाएको क्याप संशोधन हुने नीतिगत कुराहरू पनि उठेको छ। त्यसका साथै बैंकहरुलाई राष्ट्र बैंकको अघिल्लो महिनाको भन्दा १० प्रतिशत मात्र ब्याजदर बढाउन पाइने निर्देशनसँगै लगानीकर्ताहरूको मनोबल अहिले उच्च भएकाले बजार बढेन निश्चित छ।’
लगानीकर्ता दबाब समूहका महासचिव नयन बास्तोला सेयर बजारमा पुनः लगानी गर्ने माहौल बनेको बताउँछन्। ‘छोटो समयमा नै सेयर बजारमा भारी अंकको अस्वाभाविक करेक्सन भएकाले अब बजार बढ्ने निश्चित छ’, बास्तोला भन्छन्, ‘केही साताअघि बैंकहरुले अस्वाभाविक रूपमा ब्याजदर बढाउने कोसिस गरेका थिए। तर राष्ट्र बैंकले बैंकहरुलाई सिंगल डिजिटमा ब्याजदर कायम गर्नुपर्ने निर्देशन दिएसँगै लगानीकर्तामा सकारात्मक प्रभाव परेको छ।’
बजारमात्र नभएर कारोबार रकम पनि बढेकाले बजारको घट्ने क्रम सकिएको बास्तोला बताउँछन्।
बढ्दो बजारमा मात्तिने र घट्दो बजारमा आत्तिने लगानीकर्तालाई बास्तोलाको अध्ययन गरेरमात्र लगानी गर्न सुझाव छ।
नेपाल इन्भेस्टर्स फोरमकी महासचिव दुर्गा तिवारी बजार लयमा फर्केको देखिएको बताउँछिन्। ‘हिजोदेखि बजारमात्र नभएर कारोबार रकममा पनि सुधार आएको छ। बजार सोचेभन्दा बढी घटेकाले अब बढ्ने नै हो’, तिवारी भन्छिन्।
कम्पनीहरुको राम्रो लाभांश घोषणा गर्नुका साथै त्रैमासिक रिपोर्ट पनि राम्रो आउने लगानीकर्तामा अपेक्षा देखिएकाले अब बजार बढ्ने उनको बुझाइ छ।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago