– अनन्त्य सुन्दर

काठमाण्डौ । लगातार घट्दो क्रममा रहेको नेपाली सेयर बजार गत पुस २० मा बन्द हुँदा नेप्से परिसूचक २३५८.८२ थियो। उक्त दिन बजार १७.९३ अंकले घटेको थियो। त्यसको भोलिपल्ट ५६.७३ अंकले बढेको बजार माघ ३ मा बन्द हुँदा नेप्से परिसूचक २९४७.३८ थियो।

त्यसपश्चात् बजारमा घट्ने क्रम सुरु भयो। गत सोमबारमात्र बजार १००.१० अंकले घटेको थियो। आज बजारमा ३.३३ अंकको वृद्धि भई बजार २७७९.९८ मा बन्द भएको छ। अर्थात् गत माघ ३ को परिसूचकको तुलनामा बजारमा झन्डै १६८ अंकको पहिरो आएको छ।

बढ्दो क्रममा रहेको बजार घट्नुको प्रमुख कारण चुनावको अनावश्यक हल्ला, क्रिप्टोमा लगानी, तरलताको अवस्थाका साथै ट्रेडरहरुको प्रोफिट बुकिङले गर्दा भएको लगानीकर्ताहरुको अगुवा बताउँछन्।

नेपाल इन्भेस्टर्स फोरमका निवर्तमान अध्यक्ष छोटेलाल रौनियार भन्छन्, बजार घट्नु र बढ्नु स्वाभाविक हो। तर, केही दिनको बजार घटाइ हेर्दा ट्रेडर हाबी भएर प्रोफिट बुकिङ भएको देखिन्छ।’

रौनियार बजारमा केही सीमित व्यक्तिहरुका झुन्डहरुले तरलता, ब्याजदर बढ्ने, चुनाव, क्रिप्टोको हल्ला गरेर बजारमा चलखेल भएको देखिएको बताउँछन्। ‘लगानीकर्ताहरुलाई मुनाफा चुनाव र क्रिप्टोको हल्ला होइन, कम्पनीको कमाइले हुने हो’, उनले भने, ‘त्यसैले अनावश्यक हल्लाको पछि नलागी वित्तीय अवस्था राम्रो भएको कम्पनीमा लगानी गर्दा कहिले डराउनु पर्दैन।’

‘ठूला लगानीकर्ताहरुले राम्रो लाभांश दिने कम्पनीमा लगानी गरेकाले बजार घटेको बढेको मतलब हुँदैन। तर अपरिपक्व नयाँ लगानीकर्ताहरुको हरियोमा किनेर रातोमा बेच्ने चलन छ’, रौनियार भन्छन्, ‘बजार बढ्न अझै पुगेको छैन। बैंक, माइक्रो, बिमा सबैको कमाइ राम्रो छ। त्यसैले दीर्घकालीन लगानी गर्दा फाइदा हुन्छ।’

वारेन बफेटको सिद्धान्त– ‘बाई इन रेड जोन टु इन्जोई ग्रिन जोन’ लाई आफ्नो लगानी मन्त्र बनाएका रौनियार भन्छन्, ‘बफेटको लगानी रणनीति फलो गर्दा कहिले घाटा हुँदैन। तर, नेपाली लगानीकर्ताहरु बफेटको ठीकविपरीत गर्छन्।’

नेपाल पुँजी बजार लगानीकर्ता संघकी अध्यक्ष राधा पोख्रेल एक हप्ताको बजार हेर्दा चुनाव अब तत्काल नहुने र सर्ने भन्ने हल्लाले असर गरेको बताउँछिन्। ‘बजार लगानीकर्ताको सेन्टिमेन्टले चल्छ। त्यसैले अहिले प्रोफिट बुक गरेका लगानीकर्ता र प्राविधिक विश्लेषकहरुले चुनाव, लकडाउन, तरलताजस्ता संवेदनशील कुराहरुको हल्ला गरेर बजार अझ घटेर सस्तोमा सेयर किन्ने प्रयास भएको छ’, उनले भनिन्।

वित्तीय अवस्था राम्रो भएको कम्पनीमा लगानी गर्ने लगानीकर्ताहरु अहिले आत्तिएर बेच्नुपर्ने अवस्था नभएको पोख्रेल बताउँछिन्।

सेयर बजारका सक्रिय लगानीकर्ता केशव कोइराला (काका) बजार घट्न लगभग सकिन लागेको बताउँछन्। ‘अहिले बजार बढेर कता हो कता माथि जाने र घटेर कता हो कता तल जाने मैले देखेको छैन’, उनले भने,  ‘आज घट्नु पर्ने बजार घट्न सकेन। आजको बजारमा सेलिङ प्रेसर कम थियो। ठूलो भोल्युममा कारोबार गर्ने ब्रोकरहरुको पनि बिक्रीभन्दा खरिद बढी भएको देखिन्छ। त्यसैले बजार धेरै घट्ने आधार न्यून भएकाले लगानीकर्ताहरुले राम्रा कम्पनीहरु छनौट गरेर लगानी गर्नुपर्छ।’