काठमाण्डौ । सेयर बजारका लगानीकर्ताले नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीतिको प्रथम समीक्षामार्फत ब्याजदर बढ्न नदिने उद्देश्यले स्प्रेड दर घटाउनुलाई स्वागतयोग्य कदमका रुपमा लिएका छन्। उनीहरुले राष्ट्र बैंकको यो कदम पुँजीबजारमैत्री भएको र यसले पुँजीबजारमा सकारात्मक प्रभाव पार्ने पनि बताएका छन्।
नेपाल इन्भेस्टर्स फोरमका अध्यक्ष तुलसीराम ढकालले ब्याज थप बढ्न नदिन समीक्षामार्फत स्प्रेड दर घटाउने राष्ट्र बैंकको निर्णयले पुँजीबजारका लागि निकै फलादायी साबित हुने बताए। ‘विशेषगरी तरलता सहज नहुनु र ब्याजदर बढ्दै जानुले पुँजीबजारमा दोहोरो मार परिरहेको थियो’, उनले भने, ‘किनकि कर्जाको ब्याज बढिरहँदा लगानीकर्तालाई बढी ब्याज तिर्नुपर्ने अवस्था थियो। अर्कोतर्फ निक्षेपको ब्याजदर बढ्दा निक्षेपकर्ताले धमाधम पुँजीबजारबाट पैसा निकालेर बैंकमा राख्ने अवस्था सिर्जना भएको थियो। यसले पुँजीबजारमा नकारात्मक प्रभाव पारिरहेको थियो।’
राष्ट्र बैंकले समीक्षामार्फत गरेको व्यवस्थाले अब त्यो अवस्थाको अन्त्य भएको ढकालको भनाइ छ। ‘अहिले चुनाव पनि सकिएको छ, तरलता पनि विस्तारै सहज हुँदै गएको छ’, उनले भने, ‘अब ब्याजदर पनि घट्न सक्ने भएकोले लगानीकर्ताले बैंकबाट कम ब्याजदरमा ऋण पाउने सम्भावना हुन्छ। यसले पुँजीबजारमा सकारात्मक प्रभाव पार्छ।’
नयाँ बन्ने सरकारले पुँजीगत खर्च पनि बढाउने भएकोले अब पुँजीबजार सकारात्मक ढंगले अगाडि बढ्ने ढकालको विश्वास छ।
स्वतन्त्र पुँजीबजार संघका अध्यक्ष रोहन कार्कीले पनि राष्ट्र बैंकले प्रथम समीक्षामार्फत ल्याएको व्यवस्था पुँजीबजार अनुकूल नै रहेको बताए। ‘चुनाव सकिएको छ, अब नयाँ सरकार बनाउने तयारी पनि सुरु भइसकेको छ’, उनले भने, ‘त्यही भएर राष्ट्र बैंक पनि केही न केही सकारात्मक सन्देश दिउँ भन्ने मुड रहेको देखिन्छ।’
अहिले तरलता पनि केही सहज हुँदै जानु र विदेशी मुद्राको सञ्चिती पनि बढ्दै जानुले अब पुँजीबजार सकारात्मक नै हुने देखिएको कार्की बताउँछन्। ‘राष्ट्र बैंकको हिजोको समीक्षाले अब ब्याजदरको बियरिस ट्रेन्ड सुरु भएको हो कि भन्ने संकेतका रुपमा लिन सकिन्छ’, उनले भने, ‘यसले बजारको चाहिँ बुल ट्रेन्ड सुरु गर्छ भन्ने लाग्छ।’
त्यसैले बजार अब विस्तारै लयमा फर्किने कार्कीको भनाइ छ।
बजार जानकार प्रेम ओली पनि मौद्रिक नीतिको प्रथम समीक्षाले अब ब्याजदर कन्ट्रोल हुने र पुँजीबजारमा सकारात्मक प्रभाव पार्ने बताउँछन्। ‘विशेषगरी तरलता र ब्याजदर बजारमा प्रभाव पार्ने हो’, उनले भने, ‘यी दुवै विस्तार पुँजीबजार अनुकूल हुँदै गएका छन्। राष्ट्र बैंकको कदमले ब्याजदर अब घट्ने सम्भावना छ । त्यसैले बजार सकारात्मक नै हुन्छ।’
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19