काठमाण्डौ । साताको दोस्रो दिन सोमबार पनि सेयर बजार दोहोरो अंकले ओरालो लागेको छ। 

बजार आज २४.६८ अंकले घटेको हो। योसँगै नेप्से परिसूचक १९५१.२१ को विन्दुमा झरेको छ। राम्रा र बलिया कम्पनीको सूचक सेन्सेटिभ इन्डेक्स पनि ५.४६ अंकले घटेर ३६८.४९ को विन्दुमा ओर्लेको छ। कारोबार रकम हिजोको तुलनामा घटेर १ अर्ब १६ करोड रुपैयाँ बढीको भएको छ। 

बजार जानकार सरोज भट्टराई अमेरिकाका २ वटा बैंक डुब्दा आर्थिक मन्दी आउन सक्ने आँकलनले त्यसको प्रभाव नेपाली बजारमा परिरहेको बताउँछन्। ‘यही कारणले लगानीकर्ता डराउँदा बजार बिक्री दबाब परेको हुन सक्छ’, उनले भने। 

अर्कोतर्फ ठूला लगानीकर्ताहरु पर्ख र हेरको रणनीतिमा बस्दा पनि बजार सुस्ताएको भट्टराईले बताए। ‘ठूला लगानीकर्ताहरु सरकारको पूर्णता र आउने अर्थमन्त्रीले सेयर बजारको लगानीलाई सुनिश्चित गर्छन् कि गर्दैनन् भन्ने पर्खाइमा बसेको देखिन्छ’, उनले भने। 

बजारमा रहेको केही पैसा आईपीओमा र केही पैसा हकप्रदमा जाँदा दोस्रो बजारमा पैसा नआएको भट्टराई बताउँछन्। ‘अहिले धेरैजसो कम्पनीको बोनस सेयर धमाधम सूचीकृत भइरहेका छन्, तिनै सेयरका कारण बजारमा बिक्री दबाब परेको छ’, उनले भने, ‘फागुन–चैत सेयर बजारका अफ सिजन पनि हो। त्यसैले कारोबार सुस्ताएको हुन सक्छ।’

सक्रिय लगानीकर्ता निमानन्द कँडेल विश्व आर्थिक मन्दीमा जान सक्ने त्रासले नेपालको सेयर बजारमा असर पर्छ कि भन्ने डरले लगानीकर्ताहरु आत्तिँदा बजारमा बिक्री दबाब परेको बताउँछन्। ‘नेपाल अर्थतन्त्र उकास्न सरकारले केही पनि पहल नगर्दा ठूला लगानीकर्ता बजार पस्न नसक्दा पनि बजार सुस्त भएको हो’, उनले भने। 

नेपालका लगानीकर्ता बजार बढ्दा किन्न दौडिने र केही घट्न थालेपछि फेरि बेच्नतिर लाग्ने भएकोले यहाँको बजारमा परिपक्वता नदेखिएका कारण पनि बजार घट्न पुगेको कँडेल बताउँछन्। 

आज नेप्से उपसमूहमा रहेका १३ वटै समूहमा रातो पोतिएको छ। 

यो दिन जीवन बीमा समूह सर्वाधिक १.६६ प्रतिशतले ओरालो लागेको छ। लघुवित्त समूह १.६१ प्रतिशतले घट्दा बैंकिङ समूहमा १.६१ प्रतिशत, विकास बैंक समूहमा १.११ प्रतिशत, वित्त समूहमा ०.८३ प्रतिशत, होटेल तथा पर्यटन समूहमा ०.८१ प्रतिशत, जलविद्युत समूहमा ०.६४ प्रतिशत, लगानी समूहमा ०.९६ प्रतिशत, उत्पादन तथा प्रशोधन समूहमा १.१३ प्रतिशत, म्युचुअल फन्ड समूहमा १.०४ प्रतिशत, निर्जीवन बीमा समूहमा ०.९४ प्रतिशत, अन्य समूहमा ०.९६ प्रतिशत र व्यापार समूहमा १.४३ प्रतिशतको गिरावट आएको छ। 

धेरै कारोबार गर्ने कम्पनीहरु

आज नेप्सेमा सूचीकृतमध्ये २५६ कम्पनीका ३३ लाख ६९ हजार १३६ कित्ता सेयर १ अर्ब १६ करोड २५ लाख ३ हजार ५१५ रुपैयाँमा कारोबार भएको छ। 

यो दिन एनआईसी एसिया बैंकको सर्वाधिक ६ करोड २४ लाख रुपैयाँ बढीको कारोबार भएको छ। शिवम सिमेन्टको ५ करोड ६८ लाख रुपैयाँबराबरको कारोबार हुँदा अरुण भ्याली हाइड्रोपावरको ५ करोड ५ लाख रुपैयाँ, हिमालयन डिस्टिलरीको ४ करोड १९ लाख रुपैयाँ, नबिल बैंकको ३ करोड ५१ लाख रुपैयाँ, नेपाल लाइफ इन्स्योरेन्सको २ करोड ७० लाख रुपैयाँ, अपी पावरको २ करोड ६४ लाख रुपैयाँ, हिमालयन बैंकको २ करोड ४८ लाख रुपैयाँ, सानिमा माई हाइड्रोपावरको २ करोड ४७ लाख रुपैयाँ र स्वरोजगार लघुवित्तको २ करोड २९ लाख रुपैयाँ बढीको कारोबार भएको छ।

धेरै कमाउने र धेरै गुमाउने

आज शुभम पावरका सेयरधनीहरु मालामाल भए। यो कम्पनीको सेयरभाउमा १० प्रतिशतको हाराहारीमा बढेर पोजिटिभ सर्किट लागेको छ। 

यो दिन खप्तड लघुवित्तका सेयरधनीहरुले धेरै गुमाए। यो लघुवित्तको सेयरभाउ ८ प्रतिशतको हाराहारीमा ओरालो लागेको छ।