काठमाण्डौ । धितोपत्र कारोबार हुने साताको चौथो दिन पनि सेयर बजारमा सामान्य गिरावट आएको छ। 

बजार आज ५.८३ अंकले घटेर १८५८.५६ को विन्दुमा बन्द भएको हो। राम्रा र बलिया कम्पनीको सूचक सेन्सेटिभ इन्डेक्स पनि ०.८३ अंकले घटेर ३५९.९५ को विन्दुमा झरेको छ। कारोबार रकम हिजोको तुलनामा सामान्य बढेको छ। 

शाइन रेसुंगा डेभलपमेन्ट बैंकका सञ्चालक वीरेन्द्र बिष्ट लगानीकर्तामा विश्वासको वातावरण नबन्दा बजार उठ्न नसकेको बताउँछन्। ‘मागभन्दा बढी सेयरको आपूर्ति बढिरहेको छ’, उनले भने, ‘यसले पनि बजार प्यानिक बनाएको छ। माग बढ्ने काम नियामकबाट हुनुपर्यो।’

बिष्टले ६–८ महिना आईपीओ र हकप्रद रोकेमा बजारमा सुधार आउन सक्ने बताउँछन्। ‘केही नीतिगत सुधार हुन आवश्यक छ’, उनले भने, ‘अर्थमन्त्री बजार सुधारका लागि प्रयासरत छन्। त्यसैले बजारमा आशा गर्ने ठाउँ भने छ।’

तिहारपछि बजारले लय समात्न सक्ने बिष्टको भनाइ छ।

बजार जानकार उपेन्द्र पाठक पनि ओभरसप्लाईकै कारण बजार घटेको बताउँछन्। ‘१० कित्ते नीतिले बजार प्रभावित बनेको छ’, उनले भने, ‘लगानीकर्ताले आईपीओमा परेको सेयर घाटामा बेचिरहेका छन्।’

लगानीकर्ताको मनोबल बढाउन नीतिगत सुधार हुनैपर्ने पाठकको भनाइ छ। ‘अब आईपीओ बुक बिल्डिङ विधिबाट आउनुपर्यो’, उनले भने, ‘सबैलाई प्रिमियममा आईपीओ ल्याउन दिनुभएन।’ 

आज नेप्से उपसमूहमा रहेका १३ वटा समूहमध्ये एउटामात्रै हरियाली छाएको छ भने १२ वटामा रातो पोतिएको छ। 

यो दिन लगानी समूहमात्रै ०.०८ प्रतिशतले उकालो लागेको हो। 

आज होटेल तथा पर्यटन समूह सर्वाधिक १.०१ प्रतिशतले ओरालो लागेको छ। उत्पादन तथा प्रशोधन समूह ०.९८ प्रतिशतले घट्दा बैंकिङ समूहमा ०.०२ प्रतिशत, विकास बैंक समूहमा ०.३८ प्रतिशत, वित्त समूहमा ०.३७ प्रतिशत, जलविद्युत समूहमा ०.४७ प्रतिशत, जीवन बीमा समूहमा ०.४० प्रतिशत, लघुवित्त समूहमा ०.७० प्रतिशत, म्युचुअल फन्ड समूहमा ०.५२ प्रतिशत, निर्जीवन बीमा समूहमा ०.३६ प्रतिशत, अन्य समूहमा ०.२२ प्रतिशत र व्यापार समूहमा ०.५३ प्रतिशतको गिरावट आएको छ। 

धेरै कारोबार गर्ने कम्पनीहरु

आज नेप्सेमा सूचीकृतमध्ये २९६ कम्पनीका ३३ लाख ६४ हजार ५६ कित्ता सेयर ८१ करोड २० लाख ८९ हजार २९१ रुपैयाँमा किनबेच भएका छन्। 

यो दिन सोनापुर मिनरल्सको सर्वाधिक १४ करोड ६० लाख रुपैयाँ बढीको कारोबार भएको छ। आशा लघुवित्तको संस्थापक सेयरको ७ करोड २ लाख रुपैयाँबराबरको कारोबार भएको आज हाथवे इन्भेस्टमेन्टको १ करोड ९७ लाख रुपैयाँ, सिटिजन लाइफको १ करोड ४८ लाख रुपैयाँ, हिमालयन डिस्टिलरीको १ करोड २९ लाख रुपैयाँ, रिलायबल लाइफको १ करोड २८ लाख रुपैयाँ, ग्लोबल आइएमई बैंकको १ करोड २५ लाख रुपैयाँ, नबिल बैंकको १ करोड ८ लाख रुपैयाँ, सोल्टी होटेलको १ करोड रुपैयाँ र नेपाल पुनर्बीमा कम्पनीको ९३ लाख ६ हजार रुपैयाँ बढीको कारोबार भएको छ। 

धेरै कमाउने र धेरै गुमाउने

आज सयपत्री हाइड्रोपावरका सेयरधनीहरुले धेरै कमाए। यो कम्पनीको सेयरभाउ ९ प्रतिशत बढीले उकालो लागेको छ। 

यो दिन सोनापुर मिनरल्सका सेयरधनीहरुले धेरै गुमाए। यो कम्पनीको सेयरभाउ ८ प्रतिशतको हाराहारीमा ओरालो लागेको छ।