-भक्तराज रसाइली
काठमाण्डौ । पुराना ब्रोकरहरुमध्ये सेयर बजारमा विशिष्ट पहिचान बनाएका ब्रोकर नम्बर ११, मल्ल एण्ड मल्ल स्टक ब्रोकिङ्ग कम्पनी प्रा.लि.ले सेयर खरिदबिक्रीमा २०५० सालदेखि मध्यस्थकर्ताको सेवा दिइरहेको छ । 

डिल्लीबजारमा रहेको कार्यालय अहिले काठमाण्डौ–१ हात्तीसारस्थित आफ्नै भवनमा छ । 

कम्पनीका कार्यकारी अध्यक्षका रुपमा परमेश्वरभक्त मल्ल रहेका छन् । 

ब्रोकर पेशामा आउनुअघि गुडविल फाइनान्सका प्रमोटर समेत रहेका मल्ल ब्रोकरहरुमाझ बौद्धिक व्यक्तित्वको रुपमा समेत परिचित छन् ।

मल्ल २०५६ सालमा नेप्सेको सञ्चालक समितिमा निर्देशक समेत रहे । 

नियामक सेबोन र नेप्सेका उच्च पदाधिकारीसमेत उनको खुलेरै प्रशंसा गर्ने गर्छन । 

ललितपुरको हरिसिद्धिका स्थायीबासी मल्लले मार्केटिङ्ग र वित्तशास्त्रमा एमबीए उत्तीर्ण गरेका छन् । 

शंकरदेव क्याम्पसबाट बीबीएस अध्ययनपछि भारतमा सीए पढ्न हानिएका थिए । त्यहाँ पढ्दा स्टक ब्रोकरको छाप परेको र सेयर ब्रोकरको पेशा आफ्नो प्यासन समेत बनेपछि २०५० सालतिर नेपाल आउँदा यहाँको एक्सचेञ्जले  ब्रोकर लाइसेन्स खुलाएको र त्यही क्रममा आवेदन दिई कडा प्रतिस्पर्धा छिचोलेर लाइसेन्स पाएको उनले सम्झिए ।

त्यसताका ब्रोकर लाइसेन्स वितरणका लागि लिइने परीक्षा फेयर हुन्थ्यो, यहीकारण समेत सो परीक्षाको विषयमा बीबीसी नेपाली सेवाले रिपोर्ट नै तयार गरेको उनले सम्झिए ।

मल्ल एण्ड मल्ल स्टक ब्रोकिङ्ग कम्पनी प्रा.लि.को स्थापना २०५४ सालमा भएको हो । ३ जना प्रमोटर रहेको कम्पनीको चुक्तापूँजी २ करोड रहेको छ । ५ करोडभन्दा बढी नेटवर्थ रहेको छ ।

मल्ल एण्ड मल्ल स्टक ब्रोकिङ्ग कम्पनी प्रा.लि.मा हाल १४ जना कर्मचारीहरु कार्यरत छन् । हालसम्म उपत्यका बाहिर नगएको यो कम्पनीले हालै १२ ठाउँमा शाखा बिस्तारका लागि नेप्सेमा आवेदन दिएको छ । 

एघार नम्बर ब्रोकरले आफ्नै डीपी सञ्चालन नगरेका भएतापनि १० जना ब्रोकरहरु मिली खोलिएको नेपाल डीपी हाउस सञ्चालन गरेको छ ।

दैनिक ५० जना ग्राहकहरुको उपस्थिति रहने गरेकोमा कुल कारोबारी खाता १० हजार भन्दा बढी रहेको मल्लको भनाई छ । दैनिक नियमित कारोबारी २० जना रहेकामा संस्थागत लगानीकर्ता १० वटा रहेका उनले जानकारी दिए ।

चालु आर्थिक वर्षको तेश्रो त्रैमासमा कम्पनीले १८ करोडको खरिद र पौने १५ करोड रुपैयाँ हाराहारीमा १ सय ७७ कम्पनीको कारोबार गरेको कम्पनीले जानकारी दिएको छ ।

आफूलाई अन्तिम दश कारोबारीको स्थान दिन रुचाउने मल्लको ब्रोकर हाउसमा सुविधाको कमी नभएको दाबी गरे ।

आफ्नै बिल्डिङ्गमा सेयर खरिदबिक्रीको सेवा दिइरहेको विषयलाई आफ्नो बलियो पक्ष मानेका छन् । नियामकहरुको नीति निर्देशनभित्र रही ग्राहकहरुको इच्छा अनुसार सेवा दिन पाउँदा मल्लले सन्तुष्टि व्यक्त गरे ।

ब्रोकर पेशाको प्यासनले नै यो पेशा अँगाल्न पुगेका परमेश्वरभक्त मल्लका सबै परिवार सरकारी कर्मचारी छन् । उनलाई चाहिँ नयाँ पृष्ठभूमि बनाउने रहर जागेकाले नै कमर्श विषय लिएर अध्ययन सुरु गरे । स्वरोजगार बनाउने उनको उच्च महत्वकांक्षाले आखिर उनलाई प्राइम कलेज, क्राउन इम्पेरियल होटल, गुड्विल फाइनान्स लगायतमा लगानीको हात अघि बढाए । ‘लगानी मेरो प्यासन हो।’ मल्लले भने–‘दिल्लीमा सिए पढ्न गएपछि मलाई लगानीमा विशेष चाख बढ्न थालेको थियो ।’ 

मल्ल एण्ड मल्ल स्टक ब्रोकिङ्ग कम्पनी प्रा.लि.का अध्यक्ष मल्लले ब्रोकर पेशामा सेयर ट्रेडिङ्गका अलावा स्टक डिलर, प्रोपाइटर टे«डिङ्ग, पोर्टफोलियो व्यवस्थापन, परामर्श लगायतका सेवाहरु सञ्चालन गर्न पाउनुपर्नेमा जोड दिए ।

बिहान साढे ९ बजेदेखि बेलुकी ६ बजेसम्म सेवा दिने मल्ल एण्ड मल्ल स्टक ब्रोकिङ्ग कम्पनी प्रा.लि.ले लगानीकर्ताले सेयर बिक्रीपछि उनीहरुको बैंक खातामा पैसा जम्मा गरिदिने गरेको छ । 

वृद्ध तथा अशक्त लगानीकर्ताहरुलाई होम डेलिभरी सेवा समेत दिएका मल्लले नेप्सेमा सूचीकृत कम्पनीहरुका विगत २५ वर्षदेखिका लाभांश र एजीएमका सूचना तथा जानकारी सुरक्षित रहेको दाबी गरे । विभिन्न कम्पनीहरुका विभिन्न सूचनाहरु टाँस गर्ने र फाइलिङ्ग गरेर सुरक्षित राख्ने उनको विशेष कलाले धेरै लगानीकर्ताहरुको मन समेत जितेको भेटियो ।

आधारभूत ज्ञान र उचित सल्लाह दिएर लगानीकर्ताहरुलाई नाफा कमाउने माहौल बनाउने वातावरण भएकाले ११ नम्बर ब्रोकरबाट सेवा लिएर हेर्न मल्लले लगानीकर्ताहरुलाई आग्रह गरे ।

नियामक निकायहरुको भूमिका नियमनमा मात्र सीमित नरही फेसिलेटरको पनि हुन जरुरी रहेको मल्लले औंल्याए । 

अन्तर्राष्ट्रिय मान्यता अनुरुप नेपाल राष्ट्र बैंक, सेबोन, बीमा समिति लगायतले प्रमोटर सेयरको प्रावधान हटाउनुपर्ने उनको सुझाव छ । एक निश्चित लकिङ्ग पिरियडपछि त्यस्ता सेयर पब्लिकमा कन्भर्ट हुनुपर्ने र नेप्सेले पनि प्रमोटर सेयरको लकिङ्ग पिरियड कहिले आउने हो, यसबारेमा बेलैमा र सबैले थाहा पाउने गरी सूचना गर्नुपर्ने उनी बताउँछन् ।

पूँजीबजारले बचतलाई प्रोत्साहन र पैसाको महत्व बढाउने भएकाले यसले मुलुकका लागि महत्वपूर्ण अर्थ राख्ने मल्लको धारणा छ ।

हालसम्म २५ वर्षसम्मकै इतिहासमा नियामकको कुनै पनि कार्वाहीमा नपरेको मल्लको दाबी छ ।

पूँजी बजार विकास र विस्तारका लागि तत्काललाई नयाँ प्रडक्टहरु लञ्च गर्नुपर्ने, प्रमोटर सेयर हट्नुपर्ने र बैदेशिक लगानी भित्र्याउन आवश्यक रहेको उल्लेख गर्दै मल्लले समयक्रमानुसार ऐन नियम परिवर्तन हुनु जरुरी रहेको बताए । 

बजारमा सूचिकृतमध्ये होटल, हाइड्रोका नियामक अविलम्ब व्यवस्था हुनुपर्र्ने  भन्दै सेबोनले नै पनि केही हदसम्म यसको नियमन गर्न आवश्यक भइसकेको उनको भनाई छ । 

जीवन बीमा कम्पनीहरुले सार्वजनिक गर्ने वित्तीय विवरण हेर्दा लगानीकर्ताले १०–१५ प्रतिशत लाभांश मात्र पाउने देखिने, तर एक्चुरी रिपोर्टले ४०–५० प्रतिशतसम्म लाभांश क्षमता रहेको भन्ने गरेका दाबी गर्दै यस्ता कम्पनीमा खेलोफड्को हुने गरेको र कडा नियमन आवश्यक रहेको दाबी गरे । 

नेप्सेले सुरुवातमा वितरण गरेको २५ ब्रोकर लाइसेन्स लिएकामध्ये १७ जना सिएहरुले यो पेशा छाडेका सम्झदै सेयर खरिदबिक्रीमा हुने चरम चलखेलका कारण ती १७ जना पलायन हुनुपरेको उल्लेख गर्दै यो विगतबाट पाठ सिकेर आगामी दिनमा सबै पक्ष सही ढंगले अगाडि बढ्नुपर्नेमा उनको जोड छ ।

कुराकानीको बिट मार्दै मल्लले विभिन्न अनलाइन पोर्टल मिडियाका कारण सूचना तथा जानकारीमा लगानीकर्ताको सहज पहुँच स्थापित भइरहेको समेत बताए । 

उनको ब्रोकर हाउसमा भेटिएका लगानीकर्तालाई हामीले सो ब्रोकरले दिने सेवासुविधाको विषयमा सोधेका थियौं । लगानीकर्ताले के भने त ? उनीहरुको भनाई उनीहरुकै शब्दमाः

वृषभ विष्ट(कमलपोखरी) रिटायर्ड बैंकर-६५ वर्ष
विगत १२ वर्षदेखि सेयर बजारमा छु ।  मैले ७ वर्षअघिदेखि यहाँबाट सेवा लिइरहेको छु । हालसम्म कारोबार निलम्बनमा नपरेकाले समेत सहज महसुस गरेको छु । यहाँको सेवाबाट एकदमै सन्तुष्ट छु । भेदभावको कतै गन्ध छैन । मार्जिन कारोबार लिन पाए सजिलो हुन्थ्यो । म यो ब्रोकरलाई १० नम्बरमा १० नम्बर नै दिन चाहन्छु ।

फणिन्द्रप्रसाद धमला(सामाखुशी) पर्यटन व्यवसायी-४६ वर्ष
आठ वर्षदेखि सेयरबजारमा लागेको हो । मैले दोश्रो बजारमा लगानीको सुरुवात नै यही ब्रोकरबाट गरेको हुँ । सेवासुविधा र पारदर्शिता यहाँको राम्रो पक्ष हो । मार्जिन कारोबारका लागि जोडदार आग्रह गर्दछु । मैले १० नम्बरमा १० नम्बर नै दिन चाहेँ ।

ज्ञानीरत्न महर्जन(डल्लु व्यापारी)- ४४ वर्ष
चार वर्षदेखि मैले यहाँबाट कारोबार गरिरहेको छु । अहिलेसम्म सबै कुरा ठीकै लागिरहेको छ । म १० नम्बरमा ९ नम्बर दिन्छु ।