काठमाण्डौ। लघुवित्त वित्तीय संस्थाको लगानीमा ह्रास आएको छ। 

नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्ष २०७८–७९ को तेस्रो त्रैमासको अपरिष्कृत वित्तीय विवरणले लघुवित्त वित्तीय संस्थाहरुको लगानीमा ह्रास आएको देखिएको हो। 

वित्तीय संस्थाहरुको कुल लगानी ६ अर्ब ४३ करोड पुगेको छ। जुन २०७८ असार मसान्तको तुलनामा ५६.२७ प्रतिशतले कम हो। अघिल्लो आर्थिक वर्षको सोही अवधिमा कुल लगानी ४४.७७ प्रतिशतले बढेको थियो। 

विशेषगरी मुद्दति निक्षेपमा लगानी रहेको रकम कर्जा प्रवाहका लागि प्रयोग भएको कारण समग्र लगानीमा ह्रास आएको देखिन्छ। लघुवित्त वित्तीय संस्थाहरुले मुद्दति निक्षेपमा २०७८ चैतसम्म ४ अर्ब ८० करोड राखेका छन्। जुन रकम २०७८ असार मसान्तको तुलनामा ६४.०१ प्रतिशतले कम हो।

अघिल्लो आर्थिक वर्षको सोही अवधिमा मुद्दति निक्षेपमा राखेको रकम ३४.७९ प्रतिशतले बढेको थियो। 

लघुवित्त वित्तीय संस्थाहरुले समीक्षा अवधिमा मुद्दति निक्षेपमा गरेको लगानी र सेयर तथा डिबेन्चरमा गरेको लगानी घटेको देखिन्छ।

यस्तै लघुवित्त वित्तीय संस्थाहरुले सेयर तथा डिबेन्चरमा २०७८ चैतसम्म १० करोड लगानी गरेका थिए। जुन रकम २०७८ असार मसान्तको तुलनामा २३.८२ प्रतिशतले कम हो। अघिल्लो आर्थिक वर्षको सोही अवधिमा सेयर तथा डिबेन्चरमा राखेको रकम ५०.४४ प्रतिशतले बढेको थियो।

सरकारी सुरक्षणपत्रमा लघुवित्त वित्तीय संस्थाहरुले २०७८ चैतसम्म ७८ करोड लगानी गरेका थिए। जुन रकम २०७८ असार मसान्तको तुलनामा ४०.६३ प्रतिशतले कम हो। अघिल्लो आर्थिक वर्षको सोही अवधिमा सरकारी सुरक्षणपत्रमा राखेको रकम २५.२७ प्रतिशतले बढेको थियो।