काठमाण्डौ । सातामा धितोपत्र कारोबार हुने पहिलो दिन आइतबार बजारमा रेकर्डैरेकर्ड कायम भएका छन्। 

आज परिसूचक ४८.९७ अंकले बढेर २५२४.२३ को विन्दुमा पुगेको छ। यो परिसूचकले हालसम्मै चुमेको उच्च विन्दु हो। 

यो दिन राम्रा र बलिया कम्पनीको सूचक सेन्सेटिभ इन्डेक्स पनि ५.४५ अंकले बढेर ४५९.४८ को उचाइमा पुगेको छ। आज कारोबार रकमले समेत नयाँ कीर्तिमान कायम गरेको छ। आज साढे १० अर्ब रुपैयाँबराबरको सेयर किनबेच भएको छ। 

बजार जानकार गोविन्दप्रसाद घिमिरेले आजका बजार बढाइ आशा गरेअनुसार नै भएको बताए। हालसम्मकै ठूलो आईपीओ नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रो) सूचीकरण भएपछि यसले बजारको सूचक र पुँजीकरण अझै माथि जाने उनको दाबी छ। ‘मध्याह्नपछि बजारमा सेयर आपूर्ति नै नभएको अवस्था देखियो’, उनले भने, ‘यसले यो प्रस्ट गर्छ कि अझै बजारमा हंग्री इन्भेस्टरहरु आइसकेका छैनन्।’

घिमिरेका अनुसार बोनस र हकप्रद सेयर निष्कासन गर्ने कम्पनीहरुको सेयरमा अझै खरिदचाप उच्च हुन सक्छ। ‘अहिले बजार बढ्नु स्वाभाविक नै हो’, उनले भने, ‘यतिखेर लगानीकर्ताहरुको मनोबल उच्च छ, ब्याजदर पनि कम छ अनि नियामक निकायहरु पनि बजारप्रति सकारात्मक नै छन्।’

दोस्रो त्रैमासको रिपोर्ट आकर्षक निकालेकै कारण लगानीकर्ताहरुले बैंकबाट ऋण झिकेर लघुवित्त कम्पनीहरुमा लगानी खन्याएकै कारण आज या समूहमा उछाल आएको घिमिरेको भनाइ छ। लघुवित्तले पनि सस्तो ब्याजदरमा लगानी बढाएकाले यो समूहमा नाफा उच्च आउनले देखिएर लगानीकर्ताहरु झुम्मिएको उनको तर्क। ‘अहिले सबै सेक्टरमा बुल आइनसकेको अवस्था छ’, उनले भने, ‘सेयर बजारमा बुल जहिले पनि सेक्टरवाइज आउने भएकाले बजार अझै बढ्नेछ।’

सरस्वती क्याम्पसको एमबीएम संकायका निर्देशक केपी पाण्डेले अहिलेको बजारमा जोखिमलाई पनि लगानीकर्ता तथा नियामक सबैले ख्याल गर्नुपर्ने सुझाव दिए। उनले जलविद्युतबाहेक अन्य सेक्टरमा आगामी वर्षको प्रतिफल निश्चित नहुने हुँदा लगानीकर्ताहरु अहिले सजग हुन आवश्यक देखिएको बताए। ‘अहिले लगानीकर्ताहरु बजारमा कम्पनीले दिने प्रतिफलभन्दा पनि हुने पुँजीगत लाभमा बढी आकर्षित भएको देखिन्छ, उनले भने, ‘त्यसैले बेला जनताको लगानी सुरक्षाका लागि सरोकारवालाहरुले समय–समयमा चेतनामूलक कार्यक्रमहरु चलाउनुपर्छ।’ 

आज नेप्से उपसमूहमा रहेका १२ समूहमध्ये ९ वटामा हरियाली छाएको छ भने बाँकी ३ वटामा रातो पोतिएको छ।

यो दिन जीवन बीमा समूह सर्वाधिक ५७२.११ अंकले उकालो लागेको छ। निर्जीवन बीमा समूह ४९०.३ अंकले बढेको आज लघुवित्त समूहमा ३३४.२५ अंक, व्यापार समूहमा ८२.८२ अंक, होटेल्स् समूहमा २७.५२ अंक, जलविद्युत् समूहमा ५९.२१ अंक, वित्त समूहमा १६.०९ अंक, उत्पादन तथा प्रशोधन समूहमा ४१.७१ अंक र अन्य समूहमा ५३.९२ अंकको बढोत्तरी भएको छ।

आज बैंकिङ समूहमा ३.७१ अंक, विकास बैंक समूहमा ०.१७ अंक र म्युचुअल फन्ड समूहमा ०.०४ अंकको गिरावट आएको छ। 

धेरै कारोबार गर्ने कम्पनीहरु

आज नेप्सेमा सूचीकृतमध्ये २०२ कम्पनीका १ करोड ७७ लाख ३६ हजार ७३४ कित्ता सेयर १० अर्ब ४४ करोड १९ लाख ५१ हजार ३०४ रुपैयाँमा कारोबार भएका छन्।

यो दिन हिमालयन डिस्टिलरीको सर्वाधिक ५३ करोड १७ लाख रुपैयाँ बढीको कारोबार भएको छ। नेपाल लाइफ इन्स्योरेन्सको ३१ करोड ७६ लाख रुपैयाँबराबरको कारोबार भएको आज शिखर इन्स्योरेन्सको ३१ करोड ४६ लाख रुपैयाँ, ग्लोबल आईएमई बैंकको २९ करोड ४६ लाख रुपैयाँ, छिमेक लघुवित्तको २६ करोड ९७ लाख रुपैयाँ, डिप्रोक्स लघुवित्तको २६ करोड ५ लाख रुपैयाँ, नेपाल पुनर्बीमा कम्पनीको २४ करोड ८१ लाख रुपैयाँ, नेसनल लाइफ इन्स्योरेन्सको २३ करोड ३२ लाख रुपैयाँ, स्वालम्बन लघुवित्तको २२ करोड २० लाख रुपैयाँ र नागरिक लगानी कोषको २१ करोड ६६ लाख रुपैयाँ बढीको कारोबार भएको छ।

धेरै कमाउने र धेरै गुमाउने

आज ३४ वटा कम्पनीको सेयरमूल्यमा पोजेटिभ सर्किट लागेको छ। यो दिन आएसडीसी, गणपति, निर्धन उत्थान लघुवित्त, मञ्जुश्री फाइनान्स, सारथी नेपाल लघुवित्त, मेरो माइक्रोफाइनान्स, नागरिक लगानी कोष र डिप्रोक्स लघुवित्तको सेयरमूल्यमा १० प्रतिशत बढेर पोजेटिभ सर्किट लागेको छ।

त्यस्तै आरम्भ चौतारी लघुवित्त, समिट लघुवित्त, साधना लघुवित्त, सपोर्ट माइक्रोफाइनान्स, मिथिला लघुवित्त, सूर्योदय लघुवित्त, महुली सामुदायिक लघुवित्त, ग्लोबल आईएमई लघुवित्त, किसान लघुवित्त, इन्फिनिटी लघुवित्त, एनएमबी माइक्रोफाइनान्स, उन्नति सहकार्य लघुवित्त, सामुदायिक लघुवित्त, एनएलजी इन्स्योरेन्स, सिभिल लघुवित्त, ग्रामीण विकास लघुवित्त, फस्ट माइक्रोफाइनान्स, हिमालयन पावर पार्टनर, छिमेक लघुवित्त, माउन्टेन हाइड्रो, लिबर्टी इनर्जी, पाँचथर पावर, सिनर्जी पवार, जनउत्थान सामुदायिक लघुवित्त, घलेम्दी हाइड्रोपवर र छ्याङ्दी हाइड्रोपावरको सेयरमूल्यमा पनि १० प्रतिशतको हाराहारीमा वृद्धि भएर पोजेटिभ सर्किट लागेको छ। 

यो दिन हिमालयन ऊर्जा विकास र स्वाभिमान लघुवित्तको सेयरमूल्य पनि ९ प्रतिशतभन्दा बढीले उकालो लागेका छन्। 

आज नेपाल फाइनान्सका सेयरधनीहरुले धेरै गुमाए। यो कम्पनीको सेयरमूल्यमा ६ प्रतिशत बढीले गिरावट आएको छ।