काठमाण्डौ । धितोपत्र कारोबार हुने साताको अन्तिम दिन बिहीबार बजार दोहोरो अंकले उकालो लागेको छ। 

आज नेप्से परिसूचक २५.२३ अंकले बढेर २६३६.६८ को विन्दुमा उक्लिएको छ। यो नेप्सेले चुमेको हालसम्मकै उच्च विन्दु पनि हो। 

यो दिन राम्रा र बलिया कम्पनीको सूचक सेन्सेटिभ इन्डेक्स पनि ६.७७ अंकले बढेर ४८१.७८ को उचाइमा पुगेको छ। आज पौने ९ अर्ब रुपैयाँबराबरको सेयर किनबेच भएका छन्।

बजार जानकार रघुनाथ अधिकारी बैंकिङ समूहमा पोजेटिभ ट्रेन्ड देखिएकोले बजार अझै माथि जान सक्ने बताए। केही दिन अगाडिको करेक्सनले बजार थप मजबुत बनेको अधिकारीको भनाइ छ। ‘हिजोआज लघुवित्त र बीमा समूहमा करेक्सन आएको छ, यसले खरिदको अवसर सिर्जना गरेको छ’, उनले भने। 

देश मुलुकमा देखिएको राजनीतिक अन्यौलताले सेयर बजारलाई खासै प्रभाव नपार्ने अधिकारीको ठहर छ। ‘यदि राजनीतिक संकट बढ्दै गए अन्य क्षेत्रमा हुने थप लगानी पनि सेयर बजारमै भित्रिने वातावरण बन्छ’, उनले भने, ‘लगानी बढ्दै जानु भनेको बजार पनि माथि जानु नै हो।’

एसियन सेक्युरिटिज् बुटवल शाखाका प्रबन्धक दीनानाथ शर्माले यतिबेला ठूलो संख्यामा लगानीकर्ताहरु भित्रिरहेको सेयर बजारको आकार पनि बढ्दै गएको बताए। ‘गाउँगाउँबाट मानिसहरु सेयर कारोबार गर्न आइरहेका छन्, प्राथमिक सेयर बेचेर दोस्रो बजारबाट धमाधम सेयर उठाइरहेका छन्’, उनले भने, ‘लगानीकर्ताको मनोबल निकै उच्च बनेको छ, यसले बजार अझै आक्रामक ढंगले अगाडि बढ्ने निश्चित छ।’

शर्माले यस्तै अवस्था रहिरहने हो भने बजार अझै १२–१५ सय अंकले उकालो लाग्ने निश्चित रहेको बताए। ‘यो बुलिस ट्रेन्ड दीर्घकालीन हुने देखिएको छ’, उनले भने। 

आज नेप्से उपसमूहमा रहेका १२ समूहमध्ये ९ वटामा हरियाली छाएको छ भने ३ वटामा रातो पोतिएको छ। 

यो दिन व्यापार समूह सबैभन्दा बढी ७२.९२ अंकले उकालो लागेको छ। विकास बैंक समूह ६२.१४ अंकले बढेको आज बैंकिङ समूहमा २३.३७ अंक, होटेल्स समूहमा ४.६९ अंक, जलविद्युत् समूहमा १८.६ अंक, वित्त समूहमा ५.३५ अंक, उत्पादन तथा प्रशोधन समूहमा २०.१६ अंक, अन्य समूहमा ५३.८२ अंक र म्युचुअल फन्ड समूहमा ०.१४ अंकको बढोत्तरी भएको छ। 

आज जीवन बीमा समूह सबैभन्दा धेरै १०९.७३ अंकले ओरालो लागेको छ। निर्जीवन बीमा समूह ५०.३ अंकले घटेको आज लघुवित्त समूहमा २८ अंकको गिरावट आएको छ। 

धेरै कारोबार गर्ने कम्पनीहरु

आज नेप्सेमा सूचीकृतमध्ये २०६ कम्पनीका १ करोड ९६ लाख ४६ हजार ५७८ कित्ता सेयर ८ अर्ब ७२ करोड २१ लाख ४६ हजार ७८५ रुपैयाँबराबरको कारोबार भएको छ। 

यो दिन एआईसी एसिया बैंकको सबैभन्दा धेरै ५६ करोड १ लाख रुपैयाँ बढीको कारोबार भएको छ। निफ्राको ५० करोड ८२ लाख रुपैयाँबराबरको कारोबार भएको आज सिभिल बैंकको २८ करोड ३८ लाख रुपैयाँ, ग्लोबल आईएमई बैंकको २६ करोड ९६ लाख रुपैयाँ, नबिल बैंकको २६ करोड २ लाख रुपैयाँ, नेपाल टेलिकमको २५ करोड ४५ लाख रुपैयाँ, एभरेस्ट बैंकको २२ करोड २९ लाख रुपैयाँ, नेपाल बैंकको २१ करोड ५१ लाख रुपैयाँ, नेपाल लाइफ इन्स्योरेन्सको २१ करोड २४ लाख रुपैयाँ र मेगा बैंकको १८ करोड २७ लाख रुपैयाँबराबरको कारोबार भएको छ। 

धेरै कमाउने र धेरै गुमाउने

आज ७ वटा कम्पनीको सेयरमूल्यमा पोजेटिभ सर्किट लागेको छ। यो दिन नेपाल हाइड्रो डेभलपरको सेयरमूल्यमा १० प्रतिशत तथा कर्णाली विकास बैंक, एभरेस्ट बैंक अग्राधिकार सेयर, बेस्ट फाइनान्स, सिभिल बैंक, निफ्रा र समृद्धि फाइनान्सको सेयरमूल्यमा १० प्रतिशतका हाराहारीमा वृद्धि भएको छ। आज ग्रिन डेभलपमेन्ट बैंकको सेयरमूल्य पनि ९ प्रतिशत बढीले उकालो लागेको छ। 

यो दिन मिर्मिरे लघुवित्तका सेयरधनीहरुले धेरै गुमाए। यो संस्थाको सेयरमूल्यमा ५ प्रतिशतको हाराहारीमा गिरावट आएको छ।