काठमाण्डौ । नेपाल राष्ट्र बैंक कायममुकायम गभर्नर डा. नीलम ढुंगाना तिम्सिनाले लघुवित्त ग्रामीण विकासको मुख्य आधार भएको बताएकी छन्। 

काठमाण्डौमा आजबाट सुरु भएको तेस्रो राष्ट्रिय लघुवित्त सदस्य सम्मेलनको उद्घाटन गर्दै कामु गभर्नर तिम्सिनाले लघुवित्तले गरिब र लक्षित समुदायको आर्थिक पुनरुत्थान गर्न, लैंगिक असमानतालाई न्यून गर्न, महिला सशक्तीकरणलाई टेवा दिन र आर्थिक असमानतालाई कम गर्न मद्दत गरेको बताइन्। ‘लघुवित्तले वित्तीय सेवाबाट वञ्चित रहेका समूहलाई प्रदान गर्ने वित्तीय सेवाहरुलाई जनाउँछ, जसले उनीहरुलाई स्वरोजगारका अवसरहरु विकास गर्न र विभिन्न आय आर्जन गर्ने गतिविधिहरु विस्तार गर्न मद्दत पुर्याउँछ’, उनले भनिन्। 

लघुवित्तले महिलाहरुको आर्थिक उन्नतीमा महत्वपूर्ण भूमिका खेलेको तिम्सिनाले बताइन्। ‘पुरुषहरुको अनुपातमा महिलाहरुको रोजगारीलगायत आयआर्जन हुने क्षेत्रमा सहभागिता कम रहे पनि लघुवित्त वित्तीय संस्थाहरुले ग्रामीण विपन्न वर्गका महिलाहरुलाई उत्पादनशील क्रियाकलापमा संलग्न गराई रोजगारी सिर्जनालगायत ग्रामीण महिलाको उत्थानमा महत्वपूर्ण भूमिका खेल्दै आएका छन्’, उनले भनिन्, ‘औपचारिक रोजगारी वा जीविकोपार्जनका वैकल्पिक अवसरहरुको अभावले मुलुकको आर्थिक विकासमा महिलाहरुको सहभागितालाई सिमित बनाएको सन्दर्भमा लघुवित्त वित्तीय संस्थाहरुले महिलाहरुलाई आर्थिक गतिविधिमा सहभागी गराउन अभिप्रेरित गर्दै आएका छन्।’

समावेशी आर्थिक विकासका लागि नेपालमा भएका विभिन्न प्रयासको बाबजुद मुलुकको कुल जनसंख्याको करिब १८ प्रतिशत हिस्सा अझै पनि गरिबीको रेखामुनि रहेको तिम्सिनाले बताइन्। अझै पनि २० प्रतिशत जनसंख्याको हिस्सा औपचारिक वित्तीय पहुँचभन्दा बाहिर रहेको स्थितिमा लघुवित्त वित्तीय संस्थाहरुलाई गरिबी निवारण, आर्थिक समावेशीकरण र समग्र आर्थिक विकासका लागि प्रभावकारी साधन मानिएको उनको भनाइ थियो। 

‘नेपालमा लघुवित्तको अभ्यास सुरु भएको साढे चार दशकभन्दा पनि बढी भइसकेको छ। यसबीच गरिबी निवारणका धेरै पहल सुरु गरिए पनि लघुवित्त कार्यक्रममात्र गरिबी निवारण र ग्रामीण विकासको मुख्य आधार भएको छ’, तिम्सिनाले भनिन्। 

तिम्सिनाले लघुवित्त वित्तीय संस्थाहरुको सेवा देशका ७७ वटै जिल्लामा पुगेको र सञ्चालनमा आएका शाखाको संख्या ४९८५ रहेको जानकारी गराइन्। २०७८ पुस मसान्तसम्ममा लघुवित्त वित्तीय संस्थाको कुल सदस्य संख्या ५६ लाख २२ हजार रहेको र त्यसमध्ये पुरुषको संख्या १ लाख ५१ हजार मात्र रहेको उनले जानकारी गराइन्। महिलाको संख्या भने ५४ लाख ७१ हजार रहेको छ। 

लघुवित्त वित्तीय संस्थाहरुबाट ऋण लिने सदस्यको संख्या ३१ लाख ७१ हजार रहेको छ। जसअन्तर्गत पुरुषको संख्या ८३ हजार छ भने महिलाको संख्या ३० लाख ८८ हजार रहेको छ।

यद्यपि महिलाहरुसँग सम्पत्तिको स्वामित्वको कमी भएकाले महिलाद्वारा विभिन्न व्यवासय थालनी गर्दा आवश्यक हुने कर्जाको धितोसमेतको अभाव भएको देखिएको तिम्सिनाले बताइन्। ‘कुल पुरुषको जनसंख्या मध्ये ५६ प्रतिशत पुरुषहरुको वित्तमा पहुंच रहेको छ भने महिलाहरुको कुल जनसंख्या मध्ये मात्र ३६ प्रतिशत पहुंच रहेको छ’, उनले भनिन्, ‘आर्थिक स्रोतमाथि महिलाको पहुँच र नियन्त्रण पनि निकै कम भएको अवस्था छ।’

उद्घाटन कार्यक्रममा आयोजक समितिका अध्यक्ष शंकरमान श्रेष्ठले देशमा अझै १८ प्रतिशत जनसंख्या गरिबीको रेखामुनी रहेकाले लघुवित्तले गरिबीलाई शून्यमा झार्न सक्नुपर्नेमा जोड दिए। उनले एकैव्यक्तिले धेरै लघुवित्त संस्थाबाट कर्जा लिएको भन्दै त्यसमा कडाइ गर्नुपर्ने बताए। 

सम्मेलन उद्घाटनमा आउने कार्यक्रम भए पनि निर्वाचन आचारसंहिताका कारण आउन नसकेपछि प्रधानमन्त्री शेरबहादुर देउवाले सम्मेलन सफलताको शुभकामना पठाएका थिए।