काठमाण्डौ । बेलायतको राजधानी लन्डनमा ट्याक्सी चालक ५० वर्षीय स्पेन्स कुरासको बुधबार मृत्यु भयो। उनी गत मार्च १८ तारिखदेखि आफ्नै निवासमा सेल्फ आइसोलेसनमा बसेका थिए ।

सीएनएनका अनुसार कुरासकी १८ वर्षीया छोरी नतासाले बुवाको मृत्यु कोरोनाभाइरसबाट भएको आशंका जनाएकी छन्। उनले भनेकी छन्, ‘मेरो बुवा ट्याक्सी चलाउनुहुन्थ्यो, यात्रुबाट लिएको नगद पैसाबाट उहाँलाई कोरोनाभाइरस सरेको हुनुपर्छ, अनि त्यही भाइरसबाट उहाँको ज्यान गएको हुनुपर्छ।’

यद्यपि आधिकारिक रुपमा कुरासलाई कोरोनाको संक्रमण थियो वा थिएन भन्ने कुरा पुष्टि भइसकेको छैन। 

सीएनएनका अनुसार विश्व महामारी कोरोनाको सन्त्रास लन्डनमा व्याप्त भइरहेकै बेला कुरासले निडर भएर यात्रुलाई सेवा दिने भन्दै ट्याक्सी चलाउन छाडेनन्। उनी निकै आँटिला थिए। गत मार्च १७ तारिखसम्म उनले लन्डन सहरमा निर्धक्क भएर ट्याक्सी चलाएर यात्रुलाई सेवा दिए। 

मार्च १८ तारिखका दिन कुरास घर फर्किंदा उनलाई सामान्य ज्वोरो र रुघाखोकीजस्तो देखियो। ‘त्यसपछि बुबा घरमै सेल्फ आइसोलेसनमा बस्नुभयो’, कुरासी छोरीले भनेकी छन्, ‘हरेक दिन उहाँको अवस्था बिग्रिँदै गएपछि हामीले बुधबार अस्पताल लग्यौँ तर सोही दिन उहाँको निधन भयो।’ 

नतासाले बुवालाई संक्रमित यात्रुले दिएकै नगदबाट कोरोना सरेको आशंका गरेकी छन्। यद्यपि अस्पतालले कुरासको स्वाब परीक्षणका लागि पठाइएको तर रिपोर्ट आइनसकेको जनाएको छ। 

त्यसो त कोरोनाबाट बेलायतमा मात्रै १ हजार बढीको मृत्युभएको छ। पछिल्लो २४ घन्टामा मात्रै २६० जनाको ज्यान गएको छ। जसमा १३ जना स्वस्थ युवाहरु छन्। 

हालसम्म बेलायतमा १७ हजार ८९ जना संक्रमित फेला परेका छन्। – एजेन्सी