काठमाण्डौ । पुस मसान्तको ब्याज र करको दबदबा सेयर बजारमै कायमै देखिएको छ । यहीकारण बजारको मन्द गति जारी छ । बुधबार पनि नेप्से परिसूचक झिनो अंकले मात्र बढ्यो । मंगलबार घटेको बजारमा सुधार देखिए पनि यो अपेक्षित सुधार भने होइन । 

यो दिन नेप्से परिसूचक २.२९ अंकले बढेको छ भने कारोबार रकम पनि बढेको छ । 

बजारमा इण्डेक्स र कारोबार रकम दुवै बढ्नु राम्रो संकेत हो । यसले बजार बिस्तारै लयमा आउँदै गरेको देखिन्छ । तर, पुसभित्रै बजारमा ठूलो बढोत्तरीको आशा नगर्नु नै बेस हुने विश्लेषक बताउँछन् ।

यो दिन बित्त समूहमा ०.१८ अंकको गिरावट आयो भने अन्य समूह १.११ अंकले घट्यो । 

बाँकी सबै समूहको सूचक बढ्यो । 

बैंकिङ समूह २.४३ अंकले बढेको यो दिन होटल समूह ५.४८ अंक, विकास बैंक समूह ८.३२ अंक, जलविद्युत समूह ०.६८ अंक, निर्जीवन बिमा समूह ६.३ अंक, जीवन बिमा समूह ९.७३ अंक, माइक्रोफाइनान्स समूह २.४३ अंक र उत्पादनमूलक १२.५७ अंकले बढे । 

धेरै कारोबार गर्ने कम्पनी
यो दिन बजारमा १ सय ६६ कम्पनीका १५ लाख १३ हजार ९ सय १२ कित्ता सेयर ३४ करोड ७८ लाख ७९ हजार ४ सय ६९ रुपैयाँमा किनबेच भएको छ ।

छिमेक लघुवित्तको ५ करोड ८६ लाख बढीको संस्थापक सेयर किनबेच भएको छ भने नेपाल बैंकले ४ करोड ८६ लाख बढीको कारोबार गरेको छ।

एनआइसी एशिया बैंकले १ करोड ६८ लाख, प्रभू बैंकले १ करोड ४१ लाख, नेपाल लाइफ इन्स्योरेन्सले १ करोड ३२ लाख, बैंक अफ काठमाण्डूले १ करोड २७ लाख, एनसीसी बैंकले १ करोड ८ लाख बढीको कारोबार गरेका छन् । 

प्राइम कमर्सियल बैंकको १ करोड १ लाख बढीको संस्थापक सेयर किनबेच भएको बजारमा नेपाल इन्भेष्टमेन्ट बैंकले ९४ लाख र सानिमा बैंकले ७४ लाखको हाराहारीमा कारोबार गरेका छन् ।

धेरै कमाउने र गुमाउने कम्पनी
यो दिन भार्गव विकास बैंकका लगानीकर्ताले धेरै कमाए । यो कम्पनीको सेयर मूल्य ६ प्रतिशतको हाराहारीमा बढ्यो । 

हाथ्वे फाइनान्सका लगानीकर्ताले धेरै गुमाए । यो कम्पनीको सेयर मूल्य ३.२ प्रतिशतले घट्यो ।