काठमाण्डौ । दुई दिन लगातार करेक्सन व्यहोरेको बजार आज बुधबार फेरि लयमा फर्किएको छ।
आज बजार ५५.७६ अंकले उकालो लागेको हो। योसँगै नेप्से परिसूचक २८२७.१२ को विन्दुमा उक्लिएको छ। यद्यपि नेप्सेले अल टाइम हाई रेकर्ड भने ब्रेक गर्न सकेन। यसअघि गत आइतबार नेप्सेले अल टाइम हाई रेकर्ड ब्रेक गर्दै २८२७.९३ को नयाँ उचाइ चुमेको थियो।
यो दिन राम्रा र बलिया कम्पनीको सूचक सेन्सेटिभ इन्डेक्स पनि ७.८३ अंकले बढेर ५०५.१५ को उचाइमा पुगेको छ। कारोबार रकम भने हिजोको तुलनामा बढेर सवा ११ अर्ब रुपैयाँ बढीको भएको छ।
बजार जानकार मेघनाथ निरौला आजको बढाइले बजारमा दिगोपन देखिएको बताउँछन्। ‘लगानीकर्ताहरुमा आत्मविश्वास बढेको देखिन्छ’, उनले भने, ‘हिजोअस्तिको करेक्सनलाई पनि बजार बढ्नलाई टेवा पुगेको देखिन्छ।’
बजार अझै गन्तव्यमा पुग्न बाँकी नै रहेको उल्लेख गर्दै निरौलाले भने, ‘बजारको उकालो यात्रा अझै लामो समय रहने देखिन्छ, त्यसैले अहिलेको अवस्था राम्रा र सस्ता कम्पनीका सेयर उठाएर राख्दा उचित प्रतिफल हुने देखिन्छ।’
अहिले बजारमा साना–ठूला दुवै खाले कम्पनीहरुको सेयरभाउ बढिरहेको निरौला बताउँछन्। ‘सेयर बजारको महौला तातेको छ, लगानीकर्ताहरु सेक्टरवाइज लगानी गरिरहेका छन्’, उनले भने।
बजारमा अब बढ्न बाँकी रहेको सेक्टर पनि उकालो लाग्ने निरौलाको विश्वास छ।
अर्का बजार जानकार रोहन कार्कीले आजको बढाइले बजार थप बुलिस यात्रातिर लम्किन थालेको प्रस्ट हुने बताउँछन्। ‘राष्ट्र बैंकको पछिल्लो निर्देशन र बजेटमा बजारका खासै उल्लेख्य नीति तथा कार्यक्रम नआएपछि अब बजार प्रभावित हुन्छ भन्ने थियो, त्यस्ता भ्रम तोडिएका छन्’, उनले भने, ‘बजारको गतिलो बाउन्सब्याक ती सबै भ्रमलाई गतिलो जबाफ दिएको छ। अब कुनै पनि बहानामा बजार प्रभावित हुँदैन।’
अहिलेको परिस्थितिमा लगानीकर्ताहरुले सक्रिय रुपमा कारोबार गरिरहेकोले बजार थप उचाइ चुम्नेमा दुईमत नरहेको कार्कीको भनाइ छ। ‘अब केही दिन बजार बढेर फेरि करेक्सन होला, तर करेक्सनले नै बजार थप मजबुत पार्दै जानेछ।’
आज नेप्से उपसमूहमा रहेका १३ वटा समूहमध्ये १२ वटा मा हरियाली छाएको छ भने एउटामात्रै रातो पोतिएको छ। यो दिन निर्जीवन बीमा समूह सर्वाधिक ४७९.११ अंकले उकालो लागेको छ। जीवन समूह ३७४.१७ अंकले बढेको आज बैंकिङ समूहमा ८.८ अंक, व्यापार समूहमा १५.१२ अंक, होटेल तथा पर्यटन समूहमा ९२.३५ अंक, विकास बैंक समूहमा २२५.६६ अंक, जलविद्युत समूहमा ८१.८२ अंक, वित्त समूहमा १३७.८३ अंक, उत्पादन तथा प्रशोधन समूहमा १३६.३४ अंक, अन्य समूहमा ११०.७७ अंक, लघुवित्त समूहमा ६९.६३ अंक र लगानी समूहमा ०.९२ अंकको बढोत्तरी भएको छ।
यो दिन म्युचुअल फन्ड समूहमा भने ०.०२ अंकको गिरावट आएको छ।
धेरै कारोबार गर्ने कम्पनीहरु
आज नेप्सेमा सूचीकृतमध्ये २१९ कम्पनीका २ करोड २६ लाख १३ हजार २९ कित्ता सेयर ११ अर्ब ३५ करोड १८ लाख १५ हजार ३५६ रुपैयाँमा कारोबार भएका छन्।
यो दिन नेपाल पुनर्बीमा कम्पनी एक्लैको १ अर्ब ३७ करोड रुपैयाँ बढीको कारोबार भएको छ। निर्धन उत्थान लघुवित्तको ३३ करोड ४५ लाख रुपैयाँबराबरको कारोबार भएको आज सानिमा माई हाइड्रोपावरको ३२ करोड १९ लाख रुपैयाँ, लुम्बिनी विकास बैंकको २९ करोड ७९ लाख रुपैयाँ, ज्योति विकास बैंकको २३ करोड १ लाख रुपैयाँ, एसियन लाइफ इन्स्योरेन्सको २१ करोड ७८ लाख रुपैयाँ, शिखर इन्स्योरेन्सको २० करोड ९२ लाख रुपैयाँ, मञ्जुश्री फाइनान्सको १७ करोड २६ लाख रुपैयाँ, राधी विद्युतको १७ करोड २ लाख रुपैयाँ र गरिमा विकास बैंकको १६ करोड ४५ लाख रुपैयाँ बढीको कारोबार भएको छ।
धेरै कमाउने र धेरै गुमाउने
आज १२ वटा कम्पनीको सेयरमूल्यमा पोजेटिभ सर्किट लागेको छ। राष्ट्रिय बीमा कम्पनी र सानिमा माई हाइड्रोपावरको सेयरमूल्यमा १० प्रतिशत तथा मञ्जुश्री फाइनान्स, पोखरा फाइनान्स, समृद्धि फाइनान्स, लुम्बिनी विकास बैंक, जानकी फाइनान्स, गुहेश्वरी मर्चेन्ट बैंक, आईसीएफसी फाइनान्स, श्री इन्भेस्टमेन्ट फाइनान्स, नेपाल पुनर्बीमा कम्पनी र युनियन हाइड्रोपावरको सेयरमूल्यमा १० प्रतिशतको हाराहारीमा वृद्धि भएर पोजेटिभ सर्किट लागेको हो। यो दिन रिलायन्स फाइनान्स र गोर्खाज फाइनान्सको सेयरभाउ पनि ९ प्रतिशत बढीले उकालो लागेका छन्।
यो दिन राधी विद्युत कम्पनीका सेयरधनीहरुले धेरै गुमाए। यो कम्पनीको सेयरभाउ ७ प्रतिशत बढीले ओरालो लागेको छ।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago