काठमाण्डौ । धितोपत्र कारोबार साताको अन्तिम दिन बिहीबार पनि सेयर बजार दोहोरो अंकले उकालो लागेको छ। 

आज बजार ३२.३० अंकले बढेको हो। योसँगै नेप्से परिसूचक १८७७.३२ को विन्दुमा उक्लिएको छ। राम्रा र बलिया कम्पनीको सूचक ५.२३ अंकले बढेर ३५८.१८ को विन्दुमा पुगेको छ। कारोबार लामो समयपछि १ अर्ब रुपैयाँ माथिको भएको छ। 

बजार जानकार सूर्यनारायण पौडेल अहिले बजारले शक्ति सञ्चय गरिरहेको बताउँछन्। ‘बजार १८०० लाई नै बटम बनाएर फर्किएको छ’, उनले भने। 

राष्ट्र बैंकले मौद्रिक समीक्षामार्फत ऋणीलाई राहात दिँदै कर्जाको पुनःतालिकीकरणको सुविधा ल्याउँदा  बैंकहरुको खराब कर्जा पनि नियन्त्रण हुने देखिएकोले त्यसको प्रत्यक्ष सकारात्मक प्रभाव सेयर बजारमा परेको पौडेल बताउँछन्। ‘आज बजार १८५० भन्दा माथि नै बन्द भएको छ’, उनले भने, ‘यसले बजार अब बजेटअघिसम्म २२०० सम्म पुग्न सक्ने संकेत गरेको छ।’

अर्का बजार जानकार प्रकाश राजौरे २–३ वटा कारणले बजार बढेको बताउँछन्। ब्याजदर घट्दै जानु, बैंकहरुको प्रिमियम दर पनि घट्दै र कर्जाको पुनःतालिकीकरणले बैंक र ऋणी दुवैलाई सहज हुने व्यवस्था गर्नुले बजार बढेको उनको भनाइ छ। ‘१८०८ लाई टेस्ट गरेर बजार फर्किएको हुँदा यसलाई नै बटम मान्न सकिन्छ’, उनले भने। 

आज नेप्से उपसमूहमा रहेका १३ वटै समूहमा हरियाली छाएको छ। 

यो दिन होटेल तथा पर्यटन समूह सर्वाधिक ३.७५ प्रतिशतले उकालो लागेको छ। व्यापार समूह ३.७१ बढ्दा बैंकिङ समूहमा १.१० प्रतिशत, विकास बैंक समूहमा २.५५ प्रतिशत, वित्त समूहमा २.१७ प्रतिशत, जलविद्युत समूहमा २.८२ प्रतिशत, लगानी समूहमा १.८८ प्रतिशत, जीवन बीमा समूहमा २.०९ प्रतिशत, उत्पादन तथा प्रशोधन समूहमा ०.९६ प्रतिशत, लघुवित्त समूहमा २.२४ प्रतिशत, म्युचुअल फन्ड समूहमा १.२३ प्रतिशत, निर्जीवन बीमा समूहमा १.७२ प्रतिशत र अन्य समूहमा ०.९० प्रतिशतको बढोत्तरी भएको छ। 

धेरै कारोबार गर्ने कम्पनीहरु

आज नेप्सेमा सूचीकृतमध्ये २६४ कम्पनीका ४४ लाख २२ हजार १८६ कित्ता सेयर १ अर्ब ४७ करोड ४७ लाख ६५ हजार ३८८ रुपैयाँमा कारोबार भएका छन्। 

यो दिन नेपाल टेलिकमको सर्वाधिक ८ करोड ६३ लाख रुपैयाँ बढीको कारोबार भएको छ। शिवम सिमेन्टको ७ करोड ११ लाख रुपैयाँबराबरको कारोबार भएको आज एनआईसी एसिया बैंकको ६ करोड ७६ लाख रुपैयाँ, एभरेस्ट बैंकको ३ करोड ५९ लाख रुपैयाँ, नागरिक लगानी कोषको ३ करोड ४५ लाख रुपैयाँ, तारागाउँ रिजेन्स होटेलको ३ करोड ३३ लाख रुपैयाँ, नबिल बैंकको २ करोड ९७ लाख रुपैयाँ, अरुण भ्याली हाइड्रोपावरको २ करोड ८० लाख रुपैयाँ, हिमाल दोलखा हाइड्रोपावरको २ करोड ५७ लाख रुपैयाँ र युनिभर्सल पावरको २ करोड ५२ लाख रुपैयाँ बढीको कारोबार भएको छ। 

धेरै कमाउने र धेरै गुमाउने

आज २ वटा कम्पनीको सेयरभाउमा पोजिटिभ सर्किट लागेको छ। हिमालय ऊर्जा र आत्मनिर्भर लघुवित्तको सेयरभाउमा १० प्रतिशतको बढोत्तरीका साथ पोजिटिभ सर्किट लागेको हो। 

यो दिन सामुदायिक लघुवित्त, किसान लघुवित्त र युनिक नेपाल लघुवित्तका सेयरधनीहरुले धेरै गुमाए। यी लघुवित्तको सेयरभाउमा २ प्रतिशतको हाराहारीमा गिरावट आएको छ।