– अर्जुन तिमिल्सिना

काठमान्डौ । फुटबलको महाकुम्भ विश्वकप फुटबल प्रतियोगिता सुरु भइसकेको छ। 

विश्वकप फुटबलको झन्डै एक शताब्दीको इतिहास छ। हरेक ४ वर्षमा हुने यो प्रतियोगिताको विश्वभरका खेलप्रेमीले व्यग्र प्रतीक्षामा बसेका हुन्छन्।

सन् १९३० बाट सुरु भएको विश्वकप फुटबल प्रतियोगिता दोस्रो विश्वयुद्धका कारण सन् १९४२ देखि १९४६ सम्म हुन सकेन। अहिलेसम्म विश्वकप फुटबलमा ७९ वटा देशले सहभागिता जनाइसकेका छन्। तीमध्ये ८ वटा देशहरुमात्रै प्रतियोगिताको उपाधि चुमेका छन्। 

हालसम्म ब्राजिलले ५ पटक र जर्मनी र इटलीले ४–४ पटक यो प्रतियोगिताको उपाधि उचालेका छन्। अर्जेन्टिना, उरुग्वे र फ्रान्सले २–२ पटक प्रतियोगिता जितेका छन्। इंग्ल्यान्ड र स्पेनले १–१ पटक विश्वकप फुटबलको उपाधि आफ्नो पक्षमा पार्न सफल भएका छन्। 

यसपालिको विश्वक फुटबल प्रतियोगिता कतारमा भइरहेको छ। त्यहाँ विभिन्न देशका खेलप्रेमी आफ्नो देशको टोलीलाई समर्थन पुगेका छन्। धेरै पाहुना  कतारमा होटेलको अभाव भएर दुबईमा पनि बसेका छन्। 

कतार नेपालको नजिकको गतन्व्य हो। त्यहाँ थुप्रै नेपाली श्रमिक पनि छन्। अहिले फुटबलको महाकुम्भ हेर्न नेपालीहरु पनि कतारमा पुगेका छन्। 

सेयर बजार अहिले घटेर तल्लो विन्दुमा पुगेको अवस्था छ । तर, पनि केही ब्रोकरहरु ‘धनभन्दा मन ठूलो’ भन्दै बजार घटेको बेला पनि लाखौँ खर्च गरेर भए पनि विश्वकप फुटबल प्रतियोगिता हेर्न भनेर कतार हानिएका छन्। 

प्राइमो सेक्युरिटिज (स्टक ब्रोकर नं. १६)का सञ्चालक हरिप्रसाद शर्मा आफ्ना केही साथीहरुसित कतार पुगेका छन्। ‘आज जर्मन र जापानको खेल हेर्न रंगशाला जाने तयारी गर्दैछौँ’, शर्माले बिजशालाकर्मीसँग भाइबरमा भएको कुराकानीमा भने, ‘कतारको वातावरण निकै उल्लासयमय बनेको छ।’

प्रतियोगिताकै कारण अहिले नेपालबाट कतारको जहाजको टिकटको मूल्य ४ लाख रुपैयाँभन्दा बढी पर्ने गरेको शर्माले सुनाए। ‘यहाँ बस्ने होटेलको त कुरा नै नगरौँ’, उत्साहित हुँदै उनले भने, ‘जे भए पनि कतारमा निकै रमाइलो छ।’

आजको खेल जर्मनीले जित्नेमा शर्मा ढुक्क छन्। ‘जर्मन टोली निकै लयमा छन्, आज उत्कृष्ट खेल खेल्ने मेरो अपेक्षा छ’, उनले भने, ‘मलाई त यसपालिको प्रतियोगिताको उपाधि जर्मनीले उचाल्छजस्तो लाग्छ।’

आफू जर्मनीको फ्यान रहेको शर्माले बताए। 

शर्मासँगै कतार पुगेका एसियन सेक्युरिटिज (स्टक ब्रोकर नं.२६)का सञ्चालक रुद्रप्रसाद शर्मा पनि जर्मनी र जापानबीच खेल हेर्न उत्साहित छन्। ‘आज खेल जर्मनीले नै जित्न सक्छ’, उनले भने।