काठमाण्डौ । जापानले दिएको हजार तीन सय क्विन्टल चामल विगत छ वर्षदेखि नेपाल खाद्य संस्थानका गोदाममा थन्किएको छ । जापानले खाद्यान्न सहयोगअन्तर्गत दिएको चामल मुलुकका विभिन्न ठाउँमा रहेका खाद्य संस्थानका गोदाममा थन्किएको हो ।

संस्थानको देशभरका कार्यालयमा ६ हजार २०० क्विन्टल तथा थापाथलीस्थित कार्यालयमा एक हजार १०० क्विन्टल थन्किएको छ । उक्त चामल खान हुने हो कि होइन भनेर निक्र्यौल हुन नसक्दा संस्थान अन्यौलमा छ । नेपाल खाद्य संस्थानको ४२औँ वार्षिकोत्सवका अवसरमा शुक्रबार आयोजित कार्यक्रममा संस्थानले सो जानकारी दिएको हो । 
 
कार्यक्रममा आपूर्ति मन्त्री दीपक बोहराले उक्त चामल नेपाल ऐकेडेमी अफ साइन्स एन्ड टेक्नोलोजी(नाष्ट)मा परीक्षण गरी चामल खान हुने ठहरिए बिक्री गर्न र खान नहुने ठहरिए नष्ट गर्न निर्देशन दिए ।
 
उनले खाद्य संस्थानलाई बलियो बनाएमा सरकार तथा संस्थानको मात्र हित हुने नभई चामलको व्यापारीद्वारा हुने कृत्रिम मूल्य वृद्धि नियन्त्रण तथा उपभोक्तालाई ठग्ने वातावरण  बन्न नसक्ने बताए ।

मन्त्री बोहराले अहिलेको युगमा खाद्य संस्थान प्रविधि तथा कम्युटर प्रणालीबाट सु–सज्जित हुनुपर्नेमा जोड दिँदै हालसम्म कम्प्युटर प्रणाली नहुनु दुःखद भएको बताए।खाद्य संस्थानलाई बलियो बनाई समय अनुसार परिवर्तन गर्न संस्थानले कार्य योजना तथा व्यापार योजना निर्माण गरी अघि बढ्न उनले आग्रह गरे। 
 
मन्त्रालयका सचिव प्रेमकुमार राईले भौतिक सम्पत्ती पर्याप्त भएको खाद्य संस्थानले जनताको सेवाका लागि  समयमा नै दुर्गम क्षेत्रमा खाद्यान्न पुयाउनुपर्नेमा जोड दिए ।

महाप्रबन्धक डा शिवहरि श्रेष्ठले सरकारको निर्देशन अनुसार दुर्गम क्षेत्रमा बङ्गलादेशबाट प्राप्तसहित संस्थानमा रहेको चामल नियमित रुपमा पठाउँदै आएको बताए ।
 
नेपाल खाद्य संस्थान कर्मचारी सङ्घका अध्यक्ष माधव अर्याल, नेपाल खाद्य संस्थान कर्मचारी युनियनका अध्यक्ष गोविन्द पहाडीले समेत आफ्नो धारणा राखे ।