काठमाण्डौ । धितोपत्र कारोबार हुने साताको चौथो दिन बुधबार बजार दोहोरो अंकले बढेको छ। लगातार घटिरहेको बजार हिजोबाट सम्हालिएर लयमा फर्किएको हो।
आज बजारमा ४०.४० अंकको बढोत्तरी भएको हो। योसँगै नेप्से परिसूचक २४३२.१४ को विन्दुमा उक्लिएको छ। राम्रा र बलिया कम्पनीको सूचक सेन्सेटिभ इन्डेक्स पनि ८.११ अंकले बढेर ४३८.६० को उचाइमा पुगेको छ। कारोबार रकम भने घटेर ३ अर्ब ३७ करोड रुपैयाँमा सीमित बनेको छ।
नेपाल इन्भेस्टर फोरमका अध्यक्ष छोटेलाल रौनियार चौतर्फी सकारात्मक माहौल बनेकै कारण बजार बढेको तर्क गर्छन्। ‘अहिलेको राजनीति गतिविधिले बजारलाई खासै असर पार्लाजस्तो मलाई लाग्दैन किनकि सत्तामा जो आए पनि अब सेयर बजार प्रभावित हुँदैन’, उनले भने।
विस्तार बजेट खर्च बढेकोले तरलतामा दबाब कम पर्दै जाने र यसले सेयर बजारलाई सकारात्मक दिशातिर बढाउने रौनियारको भनाइ छ। तरलता सामान्य पार्नकै लागि केन्द्रीय बैंकले रिभर्स रिपो गरेकोले बजारमा पर्याप्त तरलता हुने निश्चित रहेको रौनियारको बुझाइ छ।
पछिल्ला केही दिनदेखि आइरहेको करेक्सन अब लगभग सकिएको अनुमान रौनियारको छ। ‘राजनीतिक अन्यौलता र अफ सिजनमा नाफा बुक गर्दा बजारमा केही दिन करेक्सन आएको थियो’, उनले भने, ‘अब बजार सकारात्मक ढंगले अगाडि बढ्छजस्तो मलाई लाग्छ।’
नेपाल पुँजी बजार लगानीकर्ता संघकी अध्यक्ष राधा पोखरेल राजनीतिक अन्यौलता र तरलताकै त्रासका कारण बजारमा केही दिनदेखि करेक्सन आएको बताउँछिन्। ‘बजारमा घटबढ स्वभाविक हो’, उनले भनिन्, ‘जोखिम विश्लेषण गरेर लगानी गर्नुपर्छ।’
घट्दो बजारमा किनेको सेयरले दीर्घकालमा फाइदा नै हुने पोखरेलको तर्क छ। अहिले बजारमा अल्पकालीन लगानीकर्ताहरु हावी भएको उल्लेख गर्दै पोखरेलले छोटो समयमा बढी नाफा खोज्ने र सामाजिक सञ्जालमा आएका खबरका आधारमा सेयर कारोबार गर्ने पारिपाटीले लगानी जोखिममा पर्न सक्ने पोखरेलको सुझाव छ। ‘करेक्सनका बेला अध्ययन गरेर राम्रा र बलिया कम्पनीको सेयर उठाउनु उचित हुन्छ’, उनले भनिन्।
आज नेप्से उपसमूहमा रहेका १३ वटै समूहमा हरियाली छाएको छ। जीवन बीमा समूह सर्वाधिक ३७२.५८ अंकले उकालो लागेको यो दिन निर्जीवन बीमा समूहमा २२४.८७ अंक, बैंकिङ समूहमा १९.१५ अंक, व्यापार समूहमा ४२.९ अंक, होटेल तथा पर्यटन समूहमा ११२.६९ अंक, विकास बैंक समूहमा २६.८२ अंक, जलविद्युत् समूहमा ३१.०१ अंक, वित्त समूहमा १३.५३ अंक, उत्पादन तथा प्रशोधन समूहमा ९८.०८ अंक, अन्य समूहमा ४७.४३ अंक, लघुवित्त समूहमा ११३.८७ अंक, म्युचुअल फन्ड समूहमा ०.१ अंक र लगानी समूहमा १.२६ अंकको बढोत्तरी भएको छ।
धेरै कारोबार गर्ने कम्पनीहरु
आज नेप्सेमा सूचीकृतमध्ये २१२ कम्पनीका ८६ लाख २६ हजार ६६७ कित्ता सेयर ३ अर्ब ३७ करोड ४५ लाख ५२ हजार १७८ रुपैयाँमा कारोबार भएका छन्।
यो दिन निफ्राको सर्वाधिक २० करोड ४ लाख रुपैयाँ बढीको कारोबार भएको छ। नेपाल लाइफ इ्रन्स्योरेन्सको १८ करोड ८४ लाख रुपैयाँबराबरको कारोबार भएको आज हाइड्रोइलेक्ट्रिसिटी इन्भेस्टमेन्टको १६ करोड ४१ लाख रुपैयाँ, माथिल्लो तामाकोशीको १४ करोड २० लाख रुपैयाँ, नेपाल टेलिकमको ११ करोड ९६ लाख रुपैयाँ, नबिल बैंकको ११ करोड ६८ लाख रपैयाँ, प्रभु बैंकको संस्थापक सेयरको १० करोड ७३ लाख रपैयाँ, नेपाल बंगलादेश बैंकको १० करोड ३१ लाख रुपैयाँ, नेको इन्सुरेन्सको ९ करोड ७ लाख रुपैयाँ र ग्लोबल आईएमई बैंकको ७ करोड ३८ लाख रुपैयाँ बढीको कारोबार भएको छ।
धेरै कमाउने र धेरै गुमाउने
आज ५ वटा कम्पनीको सेयरमूल्यमा पोजेटिभ सर्किट लागेको छ। चन्द्रागिरी हिल्स, जोशी हाइड्रोपावर, ग्रीनलाइफ हाइड्रोपावर, युनाइटेड इदी मर्दी, पञ्चकन्या माई हाइड्रोपारको सेयरमूल्यमा १० प्रतिशतको हाराहारीमा वृद्धि भएर पोजेटिभ सर्किट लागेको हो। आज खानीखोला हाइड्रोपावरको सेयरमूल्य पनि ९ प्रतिशत बढीले उकालो लागेको छ।
यो दिन घलेम्दी हाइड्रोपावरका सेयरधनीहरुले धेरै गुमाएका छन्। यो कम्पनीको सेयरमूल्यमा ९ प्रतिशतको हाराहारीमा गिरावट आएको छ।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago