काठमाण्डौ । नेपाल धितोपत्र बोर्ड (सेबोन) ले लामो समयदेखि बन्द गरिदिएका ब्रोकर हाउसहरुको स्क्रिन एक्जिबिजन रुम (डिस्प्ले) पुनः खोल्ने निर्णय गरेको छ। 

सेबोनले चैत २८ गते ब्रोकर हाउसका डिस्प्ले पुनः सुचारु गर्ने निर्णय गरेको हो। सेबोन, नेप्से सीडीएससीका प्रतिनिधि सम्मिलित कार्यदलले ब्रोकर हाउसका डिस्प्ले पुनः सुचारु गर्नुपर्ने सुझाव दिएसँगै सेबोनले यस्तो निर्णय लिएको हो। 

कोभिड–१९ महामारीको सुरुआतदेखि ब्रोकर हाउसका डिस्प्ले बन्द गरिदिएका थिए। त्यतिबेल कोभिड संक्रमण रोकथाम तथा नियन्त्रणका सरकारका निर्देशनहरुअनुसार सेबोनले ब्रोकर हाउसका डिस्प्ले बन्द गर्ने निर्णय गरेको थियो। 

हाल कोभिड संक्रमणको जोखिम न्यूनीकरणसँगै अधिकांश क्षेत्रमा सरकारले प्रतिबन्धात्मक व्यवस्थालाई खुकुलो पारेकोले ब्रोकर हाउसका डिस्प्ले पनि खोल्ने निर्णय गरिएको सेबोनका उपकार्यकारी निर्देशक रुपेश केसीले बताए। ‘कोभिड न्यूनीकरणका लागि तोकिएको सुरक्षा व्यवस्थाहरुको पालना गर्ने गरी ब्रोकर हाउसका डिस्प्ले पुनः सुचारु गर्ने निर्णय भएको छ’, उनले भने।