काठमाण्डौ । सेयर बजारमा मंगलबार हरियाली छाएको छ। 

बजार आज ५६.१ अंकले उकालो लागेको हो। योसँगै नेप्से परिसूचक १९३०.९ को विन्दुमा उक्लिएको छ। राम्रा र बलिया कम्पनीको सूचक सेन्सेटिभ इन्डेक्स पनि ११.२८ अंकले बढेर ३८२.१४ को विन्दुमा पुगेको छ। कारोबार रकम सवा १ अर्ब रुपैयाँ बढीको भएको छ। 

नेपाल इन्भेस्टर्स फोरमका अध्यक्ष तुलसीराम ढकाल आज बजार बढ्नुमा कुनै आश्चर्य मान्नु नपर्ने बताउँछन्। ‘बजार न्यून विन्दुमा थियो, त्यसैले आज बढ्यो’, उनले भने। 

लाभांश सिजन, बैंकहरुको रिपोर्ट राम्रो आउने र चुनावी महौल तात्नुले पनि बजार सकारात्मक बनेको ढकालको ठहर छ। घरजग्गाको कारोबार खासै नचलेका कारण पुँजीबजार निर्विकल्प रहेको उनको भनाइ छ। 

ब्याजदर सस्तो नभए पनि अब नबढ्ने ढकाल बताउँछन्। ‘अल्पकालका लागिभन्दा दीर्घकालका लागि अहिले सेयर खरिद गर्ने अवसर हो’, उनले भने। 

सक्रिय लगानीकर्ता दामोदर गजुरेल चाडपर्व सकिएको र कम्पनीहरुले लाभांश घोषणा गरिरहेकोले बजार बढेको बताउँछन्। ‘आज बजारलाई भोलुमले पनि साथ दिएको छ’, उनले भने, ‘प्राविधिक रुपमा पनि बजार विभिन्न इन्डिकेटरहरुले खरिद सिग्नल दिएका छन्।’ 

लगानीकर्ताहरुको पनि आत्मबल बढेको गजुरेल बताउँछन्। ‘त्यसैले बजार २०५० देखि २१०० सम्म पुग्न सक्छ’, उनले भने। 

आज नेप्से उपसमूहमा रहेका १३ वटै समूहमा हरियाली छाएको छ। 

यो दिन वित्त समूह सर्वाधिक ५.४ प्रतिशतले उकालो लागेको छ। अन्य समूह ५.२८ प्रतिशतले बढ्दा बैंकिङ समूहमा २.२ प्रतिशत, व्यापार समूहमा ४.५६ प्रतिशत, होटेल तथा पर्यटन समूहमा २.०९ प्रतिशत, विकास बैंक समूहमा ३.९५ प्रतिशत, जलविद्युत समूहमा ४.३७ प्रतिशत, निर्जीवन बीमा समूहमा २.४२ प्रतिशत, उत्पादन तथा प्रशोधन समूहमा ३.३३ प्रतिशत, लघुवित्त समूहमा २.१९ प्रतिशत, जीवन बीमा समूहमा १.९९ प्रतिशत, म्युचुअल फन्ड समूहमा ०.५३ प्रतिशत र लगानी समूहमा ४.१७ प्रतिशतको बढोत्तरी भएको छ। 

धेरै कारोबार गर्ने कम्पनीहरु

आज नेप्सेमा सूचीकृतमध्ये २३१ कम्पनीका ३९ लाख ७१ हजार ५९४ कित्ता सेयर १ अर्ब २९ करोड ६ लाख ६४ हजार ६४२ रुपैयाँमा किनबेच भएका छन्। 

यो दिन एनआईसी एसिया बैंकको सर्वाधिक ६ करोड ६५ लाख रुपैयाँ बढीको कारोबार भएको छ। नबिल बैंकको ५ करोड ९२ लाख रुपैयाँबराबरको कारोबार भएको आज शिवम सिमेन्टको ५ करोड १७ लाख रुपैयाँ, रिडी पावरको ५ करोड रुपैयाँ, एभरेस्ट बैंकको ४ करोड ६८ लाख रुपैयाँ, हिमालयन डिस्टिलरीको ३ करोड १२ लाख रुपैयाँ, अरुण भ्याली हाइड्रोपावरको २ करोड ७३ लाख रुपैयाँ, अपी पावरको २ करोड ६३ लाख रुपैयाँ, गोर्खाज फाइनान्सको २ करोड ४७ लाख रुपैयाँ र एचआईडीसीएलको २ करोड ३० लाख रुपैयाँ बढीको कारोबार भएको छ। 

धेरै कमाउने र धेरै गुमाउने

आज न्यादी हाइड्रोपावरका सेयरधनीहरु मालामाल भए। यो कम्पनीको सेयरभाउमा १० प्रतिशतको बढोत्तरीका साथ पोजिटिभ सर्किट लागेको छ। युनिभर्सल पावरको सेयरभाउ ९ प्रतिशतले बढ्दा युनियन हाइड्रोपावर, माउन्टे हाइड्रो, दिव्यश्वरी हाइड्रोपावर र दोर्दी खोला जलविद्युतको सेयरभाउ पनि ९ प्रतिशतको हाराहारीमा उकालो लागेको छ। 

यो दिन जनउत्थान सामुदायिक लघुवित्तका सेयरधनीहरुले धेरै गुमाए। यो लघुवित्तको सेयरभाउ १ प्रतिशत बढीले ओरालो लागेको छ।