-अर्जुन तिमिल्सिना 
काठमाण्डौ । दसैँ तथा तिहार र छठको कारण सेयर बजार  लामो समयदेखि बन्द अवस्थामा रहेको छ ।तिहार अगाडि केहि दिनमात्रै खुलेको सेयर बजार यो साताको पहिलो कारोबार आइतबार पनि छठ पर्वको कारण बन्द छ ।

गत कात्तिक २३ गते बन्द भएको सेयर बजार अब मंसिर ४ गते सोमबार मात्रै खुल्ने छ । गत कात्तिक महिनामा सेयरबजारमा जम्मा १२ दिनमात्रै कारोबार भएको थियो । 

विभिन्न  सामाजिक सञ्जाल र क्लब हाउसमा  सँधै सेयरबजारको विषयमा  चर्चा गर्ने लगानीकर्ताहरु आज भारत र अष्ट्रेलियाको क्रिकेट हेरेर मस्त देखिन्छन् । कोहि भने क्रिकेटको गफमा मस्त छन् ।

क्रिकेटका फ्यानहरु मध्ये कोहि भारतको पक्षमा छन् भने कोही अष्ट्रेलियाको पक्षमा देखिन्छन् ।केही लगानीकर्ता क्लबहाउसमा नै संगीत सुन्दै छन् भने कोही संगितसँगै आँफै गीत गाँउदै पनि छन् । 

क्लवहाउसमा  गीत सुनाउँदै अरुण नामका लगानीकर्ताले भने, ‘म केही दिनमा पासपोर्ट बनाउन काठमाण्डौ आउँदैछु । ४० वर्ष कटेपछि रमाउँला... भन्ने गित पनि अब गीतमा नै सीमित रहने भो ।  म जस्ता व्यक्ति पनि पासपोर्ट बनाएर विदेशिनु परेपछि देशको अवस्था के भन्नु ? देशमा गरि खाने अवस्था भएन ।’

यस्तो कथा र व्यथा, यसअघि पनि ब्रोकर हाउसमा नै भेटिने गरेका कतिपय लगानीकर्ताहरुबाट सुनिदै आएको हो । त्यहाँ एक जना लगानीकर्ता भन्दै थिए, ‘अब सेयर बजारमा टिक्न मुस्किल भयो । केही समयको लागि विदेशिनु नै उत्तम हुन्छ ।’ अर्का एक जना लगानीकर्ता भन्दै थिए, ‘मैले कोरिया बसेर आएको सबै पैसा सेयरबजारमा लगाएँ तर लगानी अहिले सबै घाटामा नै छ ।’

क्लब हाउसमा अर्का लगानीकर्ता भन्दै थिए, ‘मैले त सेयर बजार नै भुलिसकें ।’ नेप्सेको चार्ट हेर्दै गरेका अरुण नामका लगानीकर्ताले आगामी कारोबारमा  बजार १ हजार ८६५ विन्दुभन्दा  माथि गएमा अपट्रेन्ड लिन्छ । 

क्लव हाउसमै केहि लगानीकर्ता भन्दै थिए, ‘भारतको अर्थतन्त्रमा क्रिकेट प्रतियोगिताको माध्यमबाट विज्ञापनबाट १२ हजार करोड भारु कमाएर  सहयोग पुगेको छ । हाम्रो रंगशालामा चाहिं यतिखेर कमिला हिंडेका छन् ।’