– भक्तराज रसाइली 

काठमाण्डौ। अर्थतन्त्रकै ऐनाका रुपमा हेरिने सेयर बजारमा नेप्से सूचकले एक वर्षकै अवधिमा ठूलो छलाङ मारेसँगै बजारमा पुनः पुराना लगानीकर्ताहरु पनि सक्रिय हुन थालेका छन्।

सेयर बजारले छलाङ मारेको मौका छोपी सेयर खरिदबिक्री गर्न ब्रोकर हाउसहरु खचाखचमात्रै छैनन् कि डीपी हाउसहरुमा पनि लगानीकर्ताको बाक्लै भीड लाग्ने गरेको देखिन्छ। काठमाण्डौको कमलादीस्थित प्रभु क्यापिटलमा ४ वटा कम्पनीका प्रमाणपत्र बोकेर आएका नीरबहादुर खत्री ६ वर्षपछि अब बजारमा सक्रिय हुने दाउमा छन्। ओखलढुंगा स्थायी घर भएका खत्री हाल काठमाण्डौ बौद्धका बासिन्दा हुन्। खत्री पेसाले व्यापारी हुन्।

एचआईडीसीएलको आईपीओ सेयर, सेन्चुरी बैंकका हकप्रद सेयर, रिडी हाइड्रोपावरको आईपीओ सेयर र नेपाल इन्भेष्टमेन्ट बैंकको एफपीओ सेयरलाई खत्रीले आफ्नो डिम्याट खातामा अभौतिकीकरण गर्न डीआरएन फर्म भर्न व्यस्त देखिन्थे। अब प्रविधिको सहजता भएको र सेयर बजार बढिरहेका कारण पुनः सक्रिय हुने उनले बताए।

प्रभु क्यापिटलमा जुनियर अफिसर पदमा कार्यरत सुशीला श्रेष्ठका अनुसार सर्वसाधारणले फोनबाट अथवा स्वयं उपस्थित भई कम्पनीहरुका बारेमा जानकारी लिनेको संख्या पछिल्लो समय ह्वात्तै बढेको छ। प्रभु क्यापिटलले विभिन्न १३ कम्पनीका सेयर रजिस्ट्रारका रुपमा काम गर्दैै आएको छ। हकप्रद सेयरका प्रमाणपत्रलाई धमाधम डिम्याट गर्नेको पनि क्यापिटलमा बाक्लो भीड लाग्दै आइरहेको उनले दाबी गरिन्। बजार बढेपछि अहिले निष्क्रय पुराना लगानीकर्ताहरुले चासो बढाउँदै बुझ्न सम्पर्क बढाइरहेको उनको भनाइ छ।

बेला–बेलामा ठूला कम्पनीका भारी मात्रामा निष्कासन हुने आईपीओका सेयरहरु प्राथमिक बजारमार्फत खरिद गरी लामो समयको अन्तरालमा बजार बढेको बेला महँगोमा बेच्न लगानीकर्तालाई धपेडी पर्दछ। दोस्रो बजारमा समेत पुराना लगानीकर्ताको चासो बढेर पुनः सक्रिय हुन ब्रोकरहरुसँग सम्पर्क बढाएका भेटिन्छन्।