काठमाण्डौ । लामो समयपछि नेपाल आयल निगमले इन्धनको मूल्यमा एकैपटक भारी कटौति गरेको छ । 

निगमको सोमबार बसेको सञ्चालक समितिको बैठकले डिजेल, मट्टीतेल र हवाई इन्धनको मूल्य लिटरमा १०  रुपैयाँले र पेट्रोलको मूल्य लिटरमा ३ रुपैयाँले घटाउने निर्णय गरेको हो । खाना पकाउने ग्याँसको मूल्य भने यथावत राखिएको छ । 

निगमका कार्यकारी निर्देशक उमेशप्रसाद थानीका अनुसार यो निर्णयसँगै अब डिजेल र मट्टीतेलको खुद्रा मूल्य प्रतिलिटर १६५ रुपैयाँ कायम भएको छ भने पेट्रोलको नयाँ मूल्य प्रतिलिटर १७५ रुपैयाँ कायम भएको छ । 

यस्तै, हवाई इन्धनको आन्तरिक र बाह्यतर्फको मूल्य क्रमशः १६० रुपैयाँ प्रतिलिटर र १.३५ डलर प्रतिकिलोलिटर कायम भएको छ।

शनिबार आइओसीले खाना पकाउने ग्याँसको मूल्य प्रतिसिलिण्डरमा ३० रुपैयाँ, पेट्रोल लिटरमा १ रुपैयाँ ५० पैसा र डिजेलको मूल्य लिटरमा ७ रुपैयाँले घटाएर नयाँ मूल्यसूची एनओसीलाई पठाएको थियो । यहीकारण इन्धनको मूल्यमा भारी कटौति गरिएको थानीको भनाई छ ।  

थानीकाअनुसार निगमलाई अझै सरकारको ६ अर्ब ५० करोड ऋण र आइओसीको ८ अर्ब रुपैयाँ बक्यौता बाँकी छ । तर, अर्थतन्त्र चलायमान गराउन र महँगी नियन्त्रणका लागि डिजेलको मूल्य कटौती गरेर राहत दिने सरकारको निर्देशनपछि मूल्य घटाउने निर्णय गरिएको उनको दाबी छ ।