काठमाण्डौ । लिपुलेकहुँदै चीनतिर जाने बाटो खोलेकोमा तीव्र विरोध सुरु भएपछि भारतले नेपालबाट हुने पाम तेलको निर्यातमा रोक लगाएको छ।

भारतीय रक्षामन्त्री राजनाथ सिंहले उक्त बाटो वैशाख २५ गते उद्घाटन गरेका थिए। लगत्तै विरोध सुरु हुन थालेपछि वैशाख २९ बाट भारतले नेपालबाट पाम तेलको निर्यात रोकेको हो।

दक्षिण एसियाली स्वतन्त्र व्यापार संगठन (साफ्टा) र दक्षिण पूर्वी एसियाली देशहरुको स्वतन्त्र व्यापार सम्झौताका मापदण्ड पालना नगरी नेपालबाट पाम तेल निर्यात भएको भन्दै भारतले रोकिदिएको हो। 

पाम तेल निर्यात गर्न ५ महिनाअघि भारतले नै अनुमति दिएका ३९ नेपाली फर्मको इजाजत निलम्बन गर्न सरोकारवाला सरकारी निकायलाई निर्देशनपत्र पठाएको छ। निर्देशनपत्रमा भनिएको छ, ‘विस्तृत छानबिन नभएसम्मका लागि निलम्बन गरिनेछ।’

भारतको यो निर्णयलाई केही अर्थविद्हरुले भारतसँगको चिसिँदै गएको नेपालको राजनीतिक सम्बन्ध मुख्य रहेको बताएका छन्। ‘केही दिनदेखि नेपालबाट निर्यात हुने पाम तेलको भारतीय भन्सार कार्यालयले जाँचपास गरेका छैनन्,’ भन्सार विभाग स्रोत भन्छ। 

पाम तेल नेपालमा उत्पादन हुँदैन। अन्य देशबाट पाम भन्ने रुखबाट उत्पादन हुने वनस्पति तेलको कच्चापदार्थ यहाँ ल्याई निर्यात हुन थालेको दुई वर्ष भयो। नेपाली व्यापारीले मलेसिया र इन्डोनेसियाबाट पाम तेल नेपाल ल्याई प्रशोधन गरेर भारततर्फ निर्यात गर्दै आएका छन्।

साफ्टा सदस्य राष्ट्रहरुभन्दा बाहिरका देशबाट यो तेल निर्यात भए गुणस्तरका आधारमा ४० प्रतिशतसम्म भन्सार महसुल लाग्ने व्यवस्था भारतले गरेको छ। साफ्टा अनुसार नेपाल बंगलादेशजस्ता देशबाट हुने निर्यातमा भने भन्सार महसुल नलाग्ने व्यवस्था छ।

सफ्टा सम्झौताअनुसार तेस्रो मुलुकबाट ल्याएको कच्चा पदार्थमा ३० प्रतिशतभन्दा बढी ‘भ्यालु एड’ गरिएको हुनुपर्ने, त्यसो भएमा भन्साररहित सुविधा हुनुपर्ने व्यवस्था छ। तर ३० प्रतिशत नै ‘भ्यालु एड’ भएरनभएको विषयमा भारतिय पक्षसँग विवाद हुने गरेको छ। ३० प्रतिशत नभएको र आश्चर्यजनक ढंगले भारतमा नेपालबाट पाम तेल निर्यात बढेको भन्दै गत जनवरीमा समेत भारतले रोक लगाउने निर्णय गरेको थियो। 

उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले निकासी खुलाइदिन पहल गरेको थियो। त्यसपछि भारतले ३९ फर्म सूचीकृत गरी उनीहरुबाट मात्र निर्यात गर्न पाउने इजजात दिएको थियो। 

चालू आर्थिक वर्षको ९ महिनामा १६ अर्ब ७८ करोड रुपैयाँको निर्यात भइसकेको भन्सार विभागको तथ्यांकले देखाउँछ।