काठमाण्डौ । लिबर्टी माइक्रो लाईफ इन्सुरेन्स पनि भुक्तानी सम्बन्धि कारोबारहरु गर्नका लागि नेशनल पेमेन्ट स्वीच(एनपीएस) मा आबद्ध भएको छ । 

कम्पनीले नेपाल क्लियरिङ्ग हाउस (एनसीएचएल) को भुक्तानी प्रणालीहरु प्रयोग गरी डिजिटल माध्यमबाट भुक्तानी गर्न सो व्यवस्था लागू गर्न लागेको हो ।

यसका निम्ति कम्पनीतर्फबाट संस्थाका प्रमुख कार्यकारी अधिकृत राम कुमार यादव र एनसीएचएलका तर्फबाट संस्थाका प्रमुख कार्यकारी अधिकृत नीलेश मान सिंह प्रधानले सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् । 

जसअन्तर्गत लिबर्टी माइक्रो लाईफका आन्तरिक प्रणालीलाई एनसीएचएलको नेशनल पेमेन्ट इन्टरफेससँग जोडी बीमा लेखको भुक्तानी, बीमा दाबी भुक्तानी, एजेन्ट कमिसन, तलब, भेण्डर भुक्तानीलगायतका कारोबारहरु आफ्ना तथा लाभग्राहीहरुका बैंक खाताहरु बीच सोझै गर्न सकिन्छ ।

एनसीएचएलका विभिन्न भुक्तानी प्रणालीहरुको एकीकृत इन्टरफेसको रुपमा विकास गरिएको एनपीआई मा हाल ५३ वटा सदस्य बैंक वित्तीय संस्थाहरु आबद्ध छन् भने पीएसपी/पीएसओ, रेमिटेन्स कम्पनीहरु, मर्चेन्ट बैंक, सरकारी तथा अर्ध–सरकारी संस्थाहरु लगायतका १०० भन्दा बढी गैर—बैंकिङ संस्थाहरु इन्डाइरेक्ट/प्राविधिक सदस्यका रुपमा आबद्ध छन् । 

मर्चेन्ट बैंकिङ, बीमा, सहकारी, लघुवित्त लगायतका विभिन्न क्षेत्रहरुमा भुक्तानी कारोबारहरुलाई डिजिटाइज गर्न एनपीएस अन्तर्गतका विभिन्न उपकरणहरु सञ्चालनमा छन् ।

उक्त कम्पनी गत जनवरी २०२३ मा नेपालको ग्रामीण क्षेत्रहरूमा बीमा सम्बन्धी सेवाहरूको पहुँच विस्तार गर्ने, वित्तीय चेतना प्रदान गर्ने, सीमान्तकृत समुदायलाई बीमा सम्बन्धी विभिन्न सेवाहरु प्रदान गर्ने उद्देश्यले स्थापना गरिएको पब्लिक लिमिटेड कम्पनी हो 

उक्त सम्झौता पश्चात लिबर्टी माइक्रो लाईफ एनपीएसमा आबद्ध पाँचौ माइक्रो लाईफ इन्सुरेन्स कम्पनी भएको  छ।