काठमाण्डौ । सम्बन्धित कम्पनीको सेयरधनीले खरीद नगरेका हकप्रद बोलकबोलबाट बिक्री गर्ने लहर नै चलेको छ । यही क्रममा साउन १५(आइतबार)देखि दोश्रो बजारमा प्रतिकित्ता १ हजार भन्दा बढीमा बिक्री भइरहेको माइक्रोफाइनान्सको सेयर लिलामीबाट सस्तोमै उठाउने अवसर खुलेको छ भने एक इन्स्योरेन्स कम्पनी र विकास कम्पनीको सेयरको लिलामीका लागि शिलबन्दी बोलपत्र पेश गर्ने समय भोलि(साउन १६ गते सोमबार)बाट सुरु हुँदैछ । 

दोश्रो बजारमा प्रतिकित्ता १ हजार भन्दा बढीको दरले खरिदबिक्री भइहेको फ्रस्ट माइक्रो फाइनान्स डेभलपमेन्ट बैंकको सेयर लिलामीबाट सस्तोमै उठाउने अवसर आज(आइतबार)देखि खुुलेको हो । 

यो माइक्रो फाइनान्स कम्पनीको बिक्री नभएको सर्वसाधारणतर्फको ११ हजार ६ सय २६ कित्ता सेयर बोलकबोलमार्फत खरीदका लागि बिक्री  प्रबन्धक ग्लोबल आइएमई क्यापिटल लिमीटेडले शिलबन्दी बोलपत्र आह्वान गरेको छ । 

इच्छुक लगानीकर्ताले फ्रस्ट माइक्रो फाइनान्सको सेयर खरीदका लागि शिलबन्दी बोलपत्र पेश गर्न सक्नेछन् । २२ गतेसम्म बोलपत्र पेश गर्न सकिने  र साउन २५ गते बोलपत्र खोल्ने कार्यक्रम छ । 
इच्छुकले प्रति कित्ता न्यूनतम १ सय रुपैयाँ दर तोक्नुुपर्नेछ भने न्यूनतम १ सय कित्ताका लागि बोली लगाउनुपर्नेछ । 

इच्छुक लगानीकर्ताले तोकिएको समयमा ग्लोबल आइएमई क्यापिटल लिमीटेडको जमलको राष्ट्रिय नाचघरस्थित मुख्य कार्यालयमा गएर शिलबन्दी बोलपत्र पेश गर्नसक्ने व्यवस्था मिलाइएको छ ।

उता, ज्योति विकास बैंक लिमीटेडले आगामी साउन १६ गते(भोलि)देखि बिक्री नभएको संस्थापक सेयरका लागि शिलबन्दी बोलपत्र आह्वान गरेको छ । 

२०७४ बैशाख २८ गतेदेखि जेठ ३१ गतेसम्म बिक्री खुल्ला गरी आवेदन माग गरिएकोमा संस्थापक सेयरका लागि पूर्ण आवेदन नपरेको भन्दै बैंक संचालक समितिको निर्णयअनुसार इच्छुक जोकोही व्यक्ति, कम्पनी, संघसंस्थाहरुले गोप्य शिलबन्दी बोलपत्र पेश गर्न सकिने बैंकले एक सूचनामार्फत जनाएको छ । 

यो बैंकले ७ लाख ७० हजार ४७.६० कित्ता संस्थापक सेयर लिलामीबाट बिक्री गर्न लागेको हो । इच्छुकले तोकिएको स्थानमा साउन १६ देखि २३ गतेसम्म शिबलन्दी बोलपत्र पेश गर्नसक्ने बताइएको छ । इच्छुुकले बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटलको काठमाण्डौको नक्साल, नारायणचौरस्थित मुख्य कार्यालयमा आइपुुग्ने गरी बोलपत्र पेश गर्नुपर्नेछ । 

बोलकबोल प्रक्रियामा सहभागी हुन चाहनेले बोलपत्रमा प्रति कित्ता सेयरको मूल्य न्यूनतम १ सय रुपैयाँ र एक आवेदकले न्यूनतम १०० कित्ताका लागि बोल लगाउनैपर्ने शर्त तोकिएको छ । साउन २५ गते बिहान बोलपत्र खोलिने सूचनामा स्पष्ट पारिएको छ । यो बैंकको पछिल्लो सेयर बिक्री मूल्य प्रति कित्ता २१३ रुपैयाँ रहेको छ ।

यसैगरी, दोश्रो बजारमा हिजोआज बिमा कम्पनीहरुको दबदबा छ । बिमा कम्पनीहरुले ठूलो परिमाणमा हकप्रद र बोनस सेयर जारी गर्ने गरी पूँजीवृद्धि योजना बिमा समितिमा बुुझाएपछि त्यस्ता कम्पनीका सेयरमा मरिहत्ते गर्ने लगानीकर्ता धेरै छन् । यही क्रममा दोश्रो बजारमा तछाडमछाड गर्नुभन्दा बुद्धि पुर्याएर सस्तोमै एक बिमा कम्पनीको सेयर लिलामीबाट खरीद गर्ने अवसर समेत सोमबारदेखि खुल्दैछ ।

सिद्धार्थ इन्स्योरेन्सले बैशाख २८ देखि जेठ ३१ गतेसम्म हकप्रदको बिक्री खुल्ला गरेको थियो । त्यसमध्ये बिक्री नभएको ७ हजार ९ सय ८३ कित्ता साधारण सेयर तथा ३ सय ६७ कित्ता संस्थापक सेयर बोलकबोलमार्फत बिक्री गर्ने भएको हो । 

सिद्धार्थको सेयर बिक्री प्रबन्धकको काम गरिरहेको एनएमबी क्यापिटलका अनुसार साउन १६ गते(सोमबार)देखि २३ गतेसम्म इच्छुकले तोकिएको स्थानमा शिलबन्दी बोलपत्र पेश गर्नसक्नेछन्।
साधारण सेयरका लागि सर्वसाधारण लगानीकर्ताले तथा संस्थापक सेयरका लागि कम्पनीको हाल कायम संस्थापक सेयरधनीले मात्र आवेदन दिनुपर्नेछ । 

इच्छुकले प्रति कित्ता न्यूनतम १ सय भन्दा बढी मूल्य प्रस्ताव गरी लिलामीको सेयरमा शिलबन्दी बोलपत्रमार्फत बोल लगाउनुपर्नेछ । साउन २५ गते बोलपत्र खोलिनेछ । 

बिक्री प्रबन्धक एनएमबी क्यापिटलको काठमाण्डौको नागपोखरीस्थित कार्यालयमा गएर शिलबन्दी बोलपत्र पेश गर्नसक्ने व्यवस्था गरिएको छ । 

यो इन्स्योरेन्स कम्पनीको पछिल्लो बिक्री मूल्य प्रतिकित्ता १६५० रुपैयाँ रहेको छ । यसअघिका धेरै अक्सन कारोबारमा बजार मूल्यको ९० देखि ९५ प्रतिशतसम्म बिड गर्नेले सेयर पाएका छन् । यो कम्पनीमा समेत त्यही हाराहारीमा मूूल्य तोकेर बोलपत्र पेश गर्न सके सेयर पर्न सक्छ ।