काठमाण्डौ । लिलामीमा राखिएका दुई जीवन बीमा कम्पनीसहित ४ कम्पनीका २ लाख बढी कित्ता सेयरमा बोलपत्र पेस गर्ने आज फागुन २० गते अन्तिम दिन रहेको छ।

गत फागुन ३ गतेबाट प्रुडेन्सियल क्यापिटल म्यानेजमेन्ट कम्पनी प्रालिले आफ्नो स्वामित्वमा रहेको नेशनल लाइफ इन्स्योरेन्स, नेपाल लाइफ इन्स्योरेन्स, नेपाल ग्रामीण विकास लघुवित्त र आईसीएफसी फाइनान्सको कुल २ लाख २१ हजार कित्ता संस्थापक सेयर लिलामीमा राखेको छ। यी सेयरमा आज बैंकिङ समयसम्म आवेदन पेस गर्न सकिनेछ। 

कम्पनीले नेसनल लाइफको १ लाख कित्ता, नेपाल लाइफको ५० हजार कित्ता, नेपाल ग्रामीण विकास लघुवित्तको २३ हजार कित्ता र आईसीएफसी फाइनान्सको ४८ हजार कित्ता रहेका छन्। 

लिलामी सेयरमा विद्यमान संस्थापकहरु वा जोकोही व्यक्ति, कम्पनी तथा संघसंस्थाले बोलपत्र पेस गर्न सक्नेछन्। बोलपत्र पेस गर्दा न्यूनतम २ हजार कित्ता र अधिकतममा सम्पूर्ण कित्ताका लागि बोलपत्र पेस गर्न सकिनेछ।

लिलामीमा राखिएकामध्ये प्रतिकित्ता नेसनल लाइफको ३९० रुपैयाँ, नेपाल लाइफको ९०० रुपैयाँ, ग्रामीण विकास लघुवित्तको ३७५ रुपैयाँ र आईसीएफसी फाइनान्सको १९५ रुपैयाँ तोकिएको छ। यसको अर्थ बोलपत्र पेस गर्दा न्यूनतम मूल्य वा सोभन्दा बढी बोलकबोल गर्नुपर्नेछ।

बोलपत्र धितोपत्र बिक्री प्रबन्धक एनआईसी एसिया क्यापिटलको काठमाण्डौको बबरमहलस्थित कार्यालयमा पेस गर्नुपर्नेछ।