काठमाण्डौ। लिवर्टी इनर्जी कम्पनी लिमिटेडको रु. ३५ करोड ६४ लाख बढीको आईपीओमा आवेदन दिने आज आइतबार अन्तिम मौका रहेको छ।

कम्पनीले गत भदौ ३ गतेदेखि आईपीओ निष्कासन तथा बिक्री खुला गरेको थियो। कम्पनीले जारी पुँजीको २५ प्रतिशतले हुन आउने रु. ३७ करोड ५० लाख रुपैयाँबराबरको रु. १०० अंकित ३७ लाख ५० हजार कित्तामध्ये स्थानीय बासिन्दाका लागि निष्कासन गरिएकोमेध्ये बाँकी रहन गएको १३ लाख १४ हजार ९३० कित्तासमेत गरी ३५ लाख ६४ हजार ९३० कित्ता (सामूहिक लगानी कोष तथा कम्पनीका कर्मचारीहरुका लागि छुट्याइएको कित्तासमेत) सेयर सर्वसाधारणमा निष्कासन गरेको हो।

लगानीकर्ताले न्यूनतम १० कित्ता र अधिकतम १० हजार कित्तासम्म सेयर खरिदका लागि आवेदन दिन सक्नेछन्। 

धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धकमा एनआईबीएल एस क्यापिटल लिमिटेड रहेको छ। 

एनआईबीएल एस क्यापिटलका अनुसार शनिबारसम्म १ लाख ५० हजारभन्दा बढीले ५१ करोड रुपैयाँभन्दा बढीको सेयर खरिद आवेदन माग गरेका छन्। रद्द र भेरिफाइ भएको फाइनल डाटा नआएका कारण परेका कुल आवेदनको संख्यामा सामान्य फेरबदल हुन सक्ने क्यापिटलले जनाएको छ।

यसअघि कम्पनीले आयोजना प्रभावितका लागि साउन ७ गतेदेखि साउन २१ गतेसम्म रु. १५ करोड रुपैयाँबराबरको आईपीओ निष्कासन गरेको थियो। 

यो आईपीओलाई रेटिङ एजेन्सी इक्रा नेपालले ‘इक्रा एनपी आईपीओ ग्रेड ४’ रेटिङ प्राप्त गरेको छ। यसले कम्पनीको आधारभूत अवस्था औसतभन्दा कमजोर रहेको देखाउँछ।

कम्पनीको हाल अधिकृत पुँजी १ अर्ब ५० करोड रुपैयाँ र चुक्ता पुँजी १ अर्ब १२ करोड ५० लाख रहेकोमा अधिकृत पुँजीको २५% का दरले ३७ करोड पचास लाख बराबरको ३७,५०,००० कित्ता शेयर आयोजना प्रभावित स्थानीय तथा सर्वसाधारणहरुमा जारी गरी बाँडफाँड गरेपश्चात कम्पनीको चुक्ता पूँजी १ अर्ब ५० करोड रुपैयाँ हुनेछ।