काठमाण्डौ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरी र राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. मिनबहादुर श्रेष्ठबीच भेटवार्ता भएको छ। सिंहदरबारस्थित योजना आयोगका कार्यालयमा मुख्यमन्त्री चौधरी र उपाध्यक्ष श्रेष्ठबीच मुलुकको अर्थतन्त्र र विकासका विषयमा छलफल भएको हो। 

भेटमा मुख्यमन्त्री चौधरीले स्वदेशी उत्पादनलाई बढवा दिने नीति तथा कार्यक्रममा ल्याउनुपर्ने बताए। स्वदेशी उत्पादनहरु प्रवर्द्धन हुने र रोजगारी सिर्जना हुने कार्यक्रमहरु बनाउनका लागि भूमिका खेल्न आयोग समक्ष उनले अनुरोध गरे। 

मुख्यमन्त्री चौधरीले अहिले विदेशी मदिराहरु जताततै छ्याप्छ्याप्ती रहेको तर नेपालमै उत्पादन हुने मदिराको भने कुनै मूल्य नरहेको बताए। ‘कोरियाबाट आउने छ्याङ हामी किन्छौँ, अनि यहाँ थारुको घरम बनेको चाहिँ घोप्याउनुपर्ने स्थिति छ’, चौधरीले भने, ‘यसको अन्त्य गरेर मास बेसमा स्वदेशी उत्पादनहरु बढाउने र रोजगारी सिर्जना हुनुपर्छ।’ 

मुख्यमन्त्री चौधरीले स्वदेशी उत्पादनहरु धेरै राम्रा भए पनि मार्केटिङ गर्न नसकेको भन्दै अब हरेक स्वदेशी उत्पादनलाई प्राथमिकता राख्नुपर्ने बताए। 

छलफलमा उपाध्यक्ष डा. श्रेष्ठले आन्तरिक उत्पादनहरु बढाउनु नै आजको आवश्यकता रहेको बताए। अर्थतन्त्रलाई वलियो बनाउनका लागि पनि स्वदेशी उत्पादनलाई जोड दिनुपर्ने उनले बताए। स्वदेशी उत्पादन र रोजगारी सिर्जना हुने परियोजनालाई जोड दिइर अर्थतन्त्रलाई वलियो बनाउनु र्ने उनको भनाइ छ। 

रोजगारी सिर्जना हुने गरी आन्तरिक उत्पादनहरुलाई जोड दिनुपर्छ भन्ने सधैँ आफ्नो मान्यता रहेको उनले बताए। ‘मास बेस इन्कम जेनेरेट हुने गरी काम गर्नुपर्योे’, डा. श्रेष्ठले भने, ‘भइरहेको भन्दा केही नयाँ गर्नुपर्छ भन्ने छ, हामी उत्पादन र रोजगारीका लागि केही गर्छौँ।’