झापा । झापामा अब लोकल गाडीमा ननस्टपको बोर्ड लेखेर चलाउन नपाइने भएको छ । 

जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाको पहलमा जिल्लाका विभिन्न यातायात व्यवसायी संघ–संगठनहरुसंगको शुक्रबार भएको छलफलबाट लोकल बसहरुमा ननस्टप लेखेर चलाउन नपाइने सहमति भएको हो । 

सहमति कार्यान्वयन स्वरुप यातायात व्यवसायी संघ–संगठनहरुको उपस्थितिमा ट्राफिक प्रहरीले शुक्रबार नै ५० भन्दा बढी त्यस्ता सवारी साधनहरुमा लगाइएको ननस्टपको बोर्ड झिकेको छ । 

पहिलो चरणमा काँकडभिट्टा बसपार्कबाट धरान र विराटनगरका लागि छुट्ने त्यस्ता बसहरुबाट बोर्ड झिकिएको र सम्बद्ध यातायात व्यवसायी संघ–संगठन तथा चालक, सहचालकहरुलाई सो कार्यमा सहयोग गर्न अनुरोध गरिएको प्रहरी निरीक्षक ढुण्डीराज गिरीले जानकारी दिए । 
  
पूर्वपश्चिम तथा मेची राजमार्ग अन्तरगत लामो तथा मध्यम दुरीको यातायातहरुमा यात्री झुक्याउने उद्देश्यले लोकल गाडीमा ननस्टपको बोर्ड राखेर चलाउँदा यात्रीहरुले हैरानी व्यहोर्नु परेको गुनासो आएपछि यस्तो कार्य थालिएको गिरीले जानकारी दिए ।