काठमाण्डौ । सिडिएससीले ब्रोकर कम्पनीको सिएनएस (क्लियरिङ्ग एन्ड सेटलमेन्ट)  सिस्टमसँग  एकीकृत गरी  ब्रोकर कार्यालयमा गएर ल्याप्चे लगाई स्वयम् लाभकर घोषणा गर्ने व्यवस्थाको यही साता अन्त्य हुने पक्का भएको छ ।

गत भदौ १६ गतेदेखि सिडिएससीले लाभकर घोषणा गर्न मिल्ने सिस्टम ‘मेरो सेयरमा’ मक टेष्ट गरिरहेको छ। 

लगानीकर्ताहरुलाई सिडिएससीले इमेल र फोन सम्पर्कद्वारा सुझाव लिएकोमा सो सुझावलाई समेत सिस्टम बनाउने क्रममै समायोजन गरिएको स्रोतले जनाएको छ ।

नेपाल धितोपत्र बोर्डको निर्देशनमा सिडिएससीले  ल्याप्चे नलगाई अटोमेटिक सिस्टमबाट आवश्यक सहजीकरण गर्न निर्देशन दिए मुताविक ‘मेरो सेयर’ पोर्टलमा यो साता लाइभ जाने  स्रोतको भनाई छ। 

स्रोतका अनुसार ‘मेरो सेयर’ पोर्टल लगईन लिएका सेयर कारोबारीहरुले मात्रै पर्चेज सोर्स खुलाई ब्रोकरको सिएनएसमा पठाउने व्यवस्था मिलाउन लागिएको हो ।

२०७२ पछि डिम्याट भएका सेयरको विवरण अटोमेटिक हुने भएको सिस्टममा स्रोत नखुलेको हकमा लगानीकर्ताहरुले कारोबार नम्बर वा रकम घोषणा गर्नुपर्ने हुन्छ । ‘मेरो सेयर’ र सिआस्वाका करिब ९ लाख प्रयोगकर्ताको डाटा सिस्टम माइग्रेसनको काम भइसकेको र अन्तिम परीक्षण भइरहेको बताइएको छ । 

मेरो सेयर’ पोर्टलका करिब  साढे ५ लाख प्रयोगकर्ताहरुले मात्रै इडीआईएसजस्तै सुविधा लञ्च गर्न लागेको सिडिएससीले ब्रोकर कार्यालयमै गई ल्याप्चे लगाउने बाध्यतालाई सहजीकरण गर्न लागेको बताइन्छ ।

नेपाल सरकारले गत साउन १ गतेदेखि लागू हुने गरी भारित औसत लागत विधिका आधारमा  पूँजीगत लाभकर स्वयं ब्रोकर कार्यालयमा गएर घोषणा र सहीछाप गर्नुपर्ने प्रावधान रहँदै आएको छ । सिडिएससीले ‘मेरो सेयर’ पोर्टलमार्फत सो पोर्टल प्रयोगकर्ताहरुलाई  ब्रोकर कार्यालय धाउन नपर्ने गरी हुन लागेको व्यवस्थाले केही राहात हुने आशा गर्न सकिन्छ ।