चितवन । नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले अहिलेको विषम परिस्थितिबाट मुलुकलाई बाहिर ल्याउन सबै मिलेर अगाडि बढ्न आवश्यक रहेको बताएका छन्।
चितवन उद्योग वाणिज्य संघको ५५ औँ वार्षिक साधारणसभा तथा अधिवेशनलाई प्रमुख अतिथिका रुपमा सम्बोधन गर्दै ढकालले भने, ‘अहिले मुलुक विसम परिस्थितिमा छ। राज्य, निजी क्षेत्र, बैंक तथा वित्तीय क्षेत्र कुनै एकले अर्कोलाई आरोप प्रत्यारोप गर्ने अवस्था छैन। विषम परिस्थितिमा अर्थतन्त्रका सबै क्षेत्रहरु एकआपसमा मिलेर अगाडि बढ्नुपर्ने आवश्यकता छ।’
‘कोभिडका कारण तथा रुस र युक्रेनबीचको युद्धका कारण पेट्रोलियम, खाद्यान्न लगायत धेरै वस्तुको मूल्य बढेको छ र आउदा दिन अझै कठिन हुने देखिन्छ। यस्तो अवस्थामा एउटा पक्षले अर्को पक्षलाई आरोप लगाउनुभन्दा पनि सबै मिलेर यो विषम परिस्थितिलाई पार लगाउनुपर्छ’, ढकालले भने।
आफूभन्दा अगाडि बोल्ने निजी क्षेत्र, राजनीतिक दलका प्रतिनिधि तथा स्थानीय निकायका तर्फबाट उपस्थित प्रायः सबै वक्ताहरुको एउटै आवाज पाएको र उहाँहरु सबैले स्थानीय विकास र पर्यटन प्रवर्द्धनमा निजी क्षेत्रको भूमिका औँल्याउँदै ढकालले यदि स्थानीय बासिन्दा, राजनीतिक दल, निजी क्षेत्र सबैको समान बुझाइ भएमा चितवनलाई राम्रो पर्यटकीय स्थलहरुको रुपमा विकास गर्न सकिने बताए।
छोटो समयमा पर्यटन पूर्वाधारको विकासबारे आफ्नो अनुभव सुनाउँदै ढकालले यदि स्थानीय व्यवसायीहरुले जिल्लामा रोजगारी बढाउने, स्थानीय साधनस्रोतको उपयोग गर्ने खालका व्यवसाय अगाडि बढाएमा आफूले निजी क्षेत्रको नेतृत्वका तर्फबाट मात्र नभई आइएमई समूहको अध्यक्ष एवं ग्लोबल आइएमई बैंकको अध्यक्षका रुपमा समेत सहकार्य र सहयोग गर्न तयार रहेको प्रतिबद्धता व्यक्त गरे।
निजी क्षेत्रको विकासमा चितवन उद्योग वाणिज्य संघले खेलेको भूमिकाको प्रशंसा गर्दै ढकालले नयाँ कार्यसमितिले थप महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरे।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago