– प्रकाश न्यौपाने

काठमाण्डौ । अन्य क्षेत्रजस्तै सेयर बजार पनि एउटा लगानीको क्षेत्र हो। तर, अन्य क्षेत्रभन्दा लगानीका लागि सेयर बजार अलि बढी जोखिम मानिन्छ। 

नेपालको सेयर बजारमा लगानी गरेर प्रशस्त पैसा कमाउने लगानीकर्ता पनि थुप्रै छन्। गुमाउने पनि उत्तिकै छन्। 

लगानीकर्ताले सेयर बजारमा फरक–फरक योजना बनाएर लगानी गरेको पाइन्छ। सेयर बजारमा लगानी गर्नुको मुख्य उद्देश्य भनेको कम्पनीले दिने लाभांश खाएर उच्च प्रतिफल निकाल्नु नै हो। 

नेपालको सेयर बजारमा लगानी गर्ने अधिकांश लगानीकर्ता राम्रो लाभांश दिने कम्पनीमा आकर्षित भएको पाइन्छ भने केही लगानीकर्ता हालसम्म लाभांश नदिएका कम्पनीमा आकर्षित भएको पाइएको छ। 

उदाहरणका लागि राष्ट्रिय बीमा कम्पनी (आरबीसीएल) र विशाल बजार कम्पनी (बीबीसी)लाई लिन सकिन्छ। आरबीसीएलले आर्थिक वर्ष २०६२–६३ मा एकपटकमात्रै लाभांश दिएको थियो। त्यसपछि भने हालसम्म लाभांश दिएको छैन। बीबीसीले भने हालसम्म लाभांश दिएको छैन।  

यी कम्पनीले केही वर्षदेखि वार्षिक साधारणसभा पनि गर्न सकेका छैनन्। तर, यिनै कम्पनीका सेयरमूल्य अहिले पनि राम्रो लाभांश दिने कम्पनीको भन्दा बढी नै छन्। 

हाल आरबीसीएलको सेयरमूल्य प्रतिकित्ता १२ हजार ३३६ रुपैयाँ र बीबीसीको प्रतिकित्ता ३ हजार १०० रुपैयाँ रहेको छ। यी कम्पनीमा लगानी गर्नु कति सुरक्षित छ भन्ने चासो अहिले लगानीकर्तामा व्यापक रुपमा देखिन्छ। 

सेयर लगानीकर्ता संघ नेपालका कार्यवाहक अध्यक्ष तारा फुल्लेल तोकिएको समयमभित्र वार्षिक साधारणसभा गर्न नसक्ने र लाभांश पनि वर्षौंदेखि दिन नसकेका कम्पनीहरुमा लगानी गर्नु जोखिमपूर्ण नै हुने बताउँछन्। ‘आरबीसीएल र बीबीसीले न समयमै वार्षिक साधारणसभा गर्न सकेका छन् न त लाभांश नै वितरण गरेका छन्’, उनले भने, ‘यस्ता कम्पनीका सेयरमा लगानी गर्नु जोखिमपूर्ण हुन्छ। तर, लगानी गर्ने वा नगर्ने निर्णय लिने अधिकार भने लगानीकर्ता स्वयंको हुन्छ।’

त्यस्ता कम्पनीमा लगानी गर्ने लगानीकर्ताले कम्पनीको रिजर्भलाई ध्यान दिएको हुन सक्ने फुल्लेलको तर्क छ। ‘भविष्यमा राम्रै लाभांश वितरण गर्ने आशमा पनि लगानीकर्ता त्यस्ता कम्पनीमा आकर्षित भएका हुन सक्छ’, उनले भने।

त्यस्ता कम्पनीका सेयर संख्या कम भएकोले सेयरमूल्य उच्च भएको हुन सक्ने फुल्लेलका भनाइ छ। 

बजार जानकार केशव कोइराला (काका) नेपालको सेयर बजारमा पछिल्लो समय कम्पनीको वित्तीय अवस्था अध्ययन नगरी हल्लाको भरमा लगानी गर्नेको संख्या बढ्दै गएको बताउँछन्। ‘केही ठूला लगानीकर्ताले त्यस्ता कम्पनीका सेयर कर्नरिङ गरेर माथि लगेका हुन्छन्’, उनले भने, ‘अनि, हल्लाको पछि दौडिने लगानीकर्ताले त्यस्तै सेयर हानथाप गर्दै खरिद गर्दा पनि आरबीसीएल र बीबीसीजस्ता कम्पनीका सेयरमूल्य उच्च भएको हो।’ 

त्यस्ता कम्पनीको सेयर संख्या पनि कम भएका र भविष्यमा राम्रै लाभांश दिने आशमा पनि लगानी गरी होल्ड गरेका कारण पनि सेयरमूल्य उच्च भएको कोइरालाले बताए। ‘आरबीसीएल र बीबीसीको सेयर संख्या कम छ। ती कम्पनीको सेयर होल्ड गर्ने धेरै छन्’, उनले भने, ‘किनबेच कम भएका कारण पनि मूल्य उच्च भएको हुन सक्छ।’