-अर्जुन तिमिल्सिना
काठमाण्डौ । वाइको कम्पनीको टीएमएस(ट्रेड म्यानेजमेन्ट सिस्टम)मा आज फेरि समस्या देखिएको छ । 

टीएमएस नै नचल्ने तथा अर्डर म्याच नहुने जस्ता समस्या देखिएका छन् ।  

ब्रोकरहरुले ल्याउने भनेको नयाँ टीएमएसको विषय अन्यौलग्रस्त बनिरहेकै बेला एकपछि अर्को गर्दै टीएमएसमा समस्या देखिन थालेको हो । 

क्लबहाउसमा बोल्दै धेरै  लगानीकर्ताले यसको चर्को विरोध गरेका छन् । क्लबहाउसमा बोल्दै एक लगानीकर्ताले वाइको कम्पनीलाई कारवाही गर्नुपर्ने धारणा राखे ।  सुवास भट्टराई नाम गरेका अर्का लगानीकर्ताले भने जब जब बजार बढ्न थाल्छ, तब तब टीएमएसमा समस्या आउनु 'षड्यन्त्र' भएको दाबी गरे ।

क्लब हाउसमा बोल्दै राजु पौडेल नाम गरेका अर्का लगानीकर्ताले पनि वाइकोको कार्यशैलीप्रति आक्रोश पोखे । कम्पनीको लापरबाहीले पटक पटक यस्तो समस्या आएको बताए । उनले सेयर बजार 'माफियाहरुको बजार'को रुपमा रुपान्तरण भइरहेको आरोप पनि लगाए । 

टीएमएस बिग्रँदा लगानीकर्ताको मनोबल बिग्रिने उल्लेख गर्दै उनले थपे-'यो अपराध हो, यसको गम्भीर छानबिन हुनुपर्छ ।' 

क्लबहाउसमा नै पाण्डे  नाम गरेका लगानीकर्ताले पनि टीएमएसमा खेलवाड भएको आरोप लगाए । 

उता, वाइको कम्पनीका सञ्चालक  दिपेश प्रधानले भने २-४ मिनेट मात्रै समस्या भएको बताए । 'ब्रोकर र इन्टरनेट सेवा प्रदायकको सेवामा आउने समस्याले पनि यस्तो भएको हुनसक्छ ।' उनले थपे-'तर हाम्रो नट्स र डेटा सेन्टरमा खासै ठूलो समस्या छैन ।' 

उनले आफूहरुको मनशाय बजार बिगार्ने र लगानीकर्ताको मनोबल कमजोर पार्ने नरहेको प्रष्ट पारे । 

बजारको फ्रन्टलाइन रेगुलेटर नेपाल स्टक एक्सचेञ्ज लिमीटेड(नेप्से)का प्रवक्ता मुराहरि पराजुलीले ब्रोकरहरुको डेटा हबमा केही समय समस्या देखिएको बताए  । सो समस्या समाधान भइसकेको उनको भनाई छ । 

ब्रोकरहरुले समयमै नयाँ टीएमएस ल्याउन नसक्दा र वाइको कम्पनीको टीएमएसले बेला बेलामा धोका दिँदा आफूहरु हैरान बनेको लगानीकर्ताको गुनासो छ ।