chandra sing saud
काठमाण्डौ । नेपाल स्टक एक्सचेञ्जले अनलाइन कारोबार प्रणालीको भेण्डर कम्पनी वाइको प्रालिलाई स्पष्टीकरण सोध्ने निर्णय गरेको छ ।
आइतबार अनलाइन कारोबारका क्रममा एक्कासी समस्या भई प्रणालीले काम नगरेपछि लगानीकर्ताहरुको आलोचना खेपिरहेको नेप्से व्यवस्थापनका उच्च अधिकारी सम्मिलित बैठकले वाइकोलाई लिखित स्पष्टीकरण सोध्ने निर्णय गरेको हो ।
‘हामीले वाइकोलाई लिखित स्पष्टीकरण सोध्ने आज निर्णय गरेका छौ ।’ नेप्सेका प्रमुख कार्यकारी अधिकृत चन्द्रसिंह साउदले बिजशालासँग भने–‘भोलि लिखित स्पष्टीकरण सोध्नेछौ ।’
उनले अनलाइन कारोबारको क्रममा बारम्बार समस्या आइरहेको स्वीकार गर्दै यसमा नेप्सेको भन्दा पनि भेण्डर कम्पनीको दोष रहेको दाबी गरे । ‘बारम्बार समस्या आउँदा समेत किन समाधान भएन भन्ने कुरामा हामी गम्भीर छौ ।’ साउदले भने–‘कमजोरी वाइकोले गरिरहेको छ, तर लगानीकर्ताको नजरमा हामी झूठा देखिने अवस्था भइसक्यो ।’
आफूलाई वाइकोले आइतबार नेटवर्किङको समस्याले गर्दा कारोबारको क्रममा यस्तो भएको दाबी गरेको उल्लेख गर्दै साउदले भने–‘नेटवर्किङको समस्या भनेको के हो ? यो कसरी आयो ? यसको समाधान के हो ? लगायतका बिषयमा हामी वाइकोलाई स्पष्टीकरण सोध्छौ ।’
वाइकोका अधिकारीलाई उद्धृत गर्दै साउदले आइतबारको समस्या प्रणालीको नभई नेटवर्किङको रहेको दाबी गरे । ‘टिएमएस र नट्सबीच कनेक्सनको समस्या रहेछ यो ।’ उनले भने–‘विशुद्ध प्राविधिक समस्या हो । सिस्टम नै फेल भएको होइन ।’
उनले आइतबार कारोबारका क्रममा समस्या भएपछि वाइको र नेप्सेको प्राविधिकहरुको सक्रियतामा १५ मिनेटमै समाधान खोजिएको भए पनि अर्डरको मिसम्याच हुने कारणले बजारमा समय थप वा बजार सुचारु गर्न नसकिएको दाबी समेत गरे । ‘समस्या समाधान भएपछि मिसम्याचको समस्या टार्न पूरा सिस्टमलाई नै रिस्टार्ट गर्नुपर्ने थियो ।’ उनले भने–‘रिस्टार्ट गर्दा सिस्टम बिग्रेको बेला आएको अर्डरको मिसम्याच हुन्थ्यो, त्यही भएर गरेनौं ।’
उनले वाइकोलाई अनलाइन कारोबार प्रणालीको हार्डवेयरको मात्र भुक्तानी भएको उल्लेख गर्दै समस्या निरन्तर रहिरहे सफ्टवेयरको दिन बाँकी रहेको भुक्तानी रोकिदिने चेतावनी समेत दिएको सुनाए ।
साउदका अनुसार वाइकोलाई सफ्टवेयरको भुक्तानी दिन करिब ९ करोड रुपैयाँ बाँकी छ ।
उनले आइतबारको समस्या समाधान भइसकेकोले सोमबार कारोबारका लागि कुनै समस्या नरहेको समेत दाबी गरे ।
11 months ago
11 months ago
11 months ago
11 months ago
11 months ago
11 months ago
11 months ago
11 months ago
11 months ago
11 months ago