काठमाण्डौ । म्युचुअल फण्डहरुले वाणिज्य बैंकहरुको सेयरमा लगानी घटाउँदै लगेको पाइएको छ । 

म्युचुअल फण्डहरुले सार्वजनिक गरेको तथ्यांकअनुसार चालू आर्थिक वर्ष २०८०/ ८१ को साउन महिनादेखि कात्तिक मसान्तसम्ममा वाणिज्य बैंकहरुको सेयरमा लगानी घट्दै गइरहेको देखिएको छ । यसले हाल सञ्चालनमा रहेका म्युचुअल फण्डहरुले वाणिज्य बैंकहरुको सेयर धमाधम बिक्री गरिरहेको स्पष्ट हुन्छ ।

वाणिज्य बैंकको सेयरमा लगानी गर्दा जोखिम त्यति नभएतापनि अपेक्षाकृत रुपमा नाफा ननिस्किएपछि उनीहरुले वाणिज्य बैंकको सेयर घटाएको हुन सक्ने कतिपय लगानीकर्ताको भनाइ छ ।

धितोपत्र दोस्रो बजारमा वाणिज्य बैंकहरुको सेयरमा लगानी गर्दा जोखिम कम भएपनि मुनाफा समेत खासै बृद्धि नहुने अवस्था छ । बैंकहरुले पछिल्लो केही वर्षयता लाभांश दर समेत घटाउँदै आइरहेका छन् । यसकारण पनि म्युचुअल फण्डहरुको नाफा तथा आय बृद्धि हुन सकेको छैन । 

कात्तिक महिनाको तथ्यांकअनुसार पनि सञ्चालनमा रहेका ४२ वटा म्युचुअल फण्डमध्ये हिमालयन ८०–२० र एनआईसी एशिया ग्रोथ फण्ड गरी दुई वटा फण्डमात्रै नाफामा थिए भने बाँकी ४० वटा म्युचुअल फण्डले घाटा ब्यहोरेका थिए । नाफामा संकुचन आएसँगै असोज महिनाको तुलनामा कात्तिक महिनामा अधिकांश म्युचुअल फण्डहरुको प्रतिइकाई खुद मूल्य (न्याभ) घटेको थियो । 

सूचीकृत सेयरमा लगानीको दायरा बढाएपनि म्युचुअल फण्डहरुले पछिल्लो महिनाको तुलनामा वाणिज्य बैंकहरुको सेयरमा लगानी खुम्च्याउँदै लगेका छन् । यसले कमर्सियल बैंकहरुको सेयरभाउ अझै घट्न सक्ने सम्भावना छ । 

म्युचुअल फण्डहरुले सेयरबजारमा लगानी बढाएपनि बजारले भनेजस्तो ग्रोथ लिन सकेको छैन । नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षामा सेयरबजारलाई सुधार गर्ने केही नीतिगत प्रयासले केही दिनयता सेयरबजारमा सामान्य सुधार देखिन थालेको छ । 

चालू आवको चार महिनासम्ममा म्युचुअल फण्डहरुले वाणिज्य बैंकहरुको सेयरमा २.९१ प्रतिशतले लगानी घटाएका छन् । साउन महिनामा कुल लगानीमध्ये २८.६८ प्रतिशत रकम वाणिज्य बैंकहरुको सेयरमा लगानी रहेकोमा कात्तिक मसान्तसम्म घटेर २५.७४ प्र्रतिशत कायम छ । 
म्युचुअल फण्डहरुले वाणिज्य बैंकहरुको सेयरमा लगानी घटाउँदा चार महिनायता बैंकिङ समूहसमेत घटेको छ । साउन महिनामा १ हजार २७४ को विन्दुमा रहेको बैंकिङ समूह ८.०१ प्रतिशतले घटेर १ हजार १७२ विन्दुमा झरेको छ । 

वाणिज्य बैंकहरुको सेयरमा लगानीको दायरा घट्दै जाँदा सेयरभाउ र बैंकिङ समूहसमेत घट्दै गएको लगानीकर्ताहरु बताउँछन् । पछिल्लो समय सेयरबजारमा जुनसुकै कम्पनीको सेयरमा डिमाण्डभन्दा बढी सप्लाई बढी हुने गरेको छ । वाणिज्य बैंकहरुको सेयरमा लगानी अझै बढेमात्रै सेयरभाउ बढ्न सक्ने लगानीकर्ताहरुको भनाइ छ ।