काठमाण्डौ । बुधबार पूँजीबजारमा वाणिज्य बैंकहरुकै दबदबा रहे पनि नेप्से परिसूचक चाहि १३.६३ अंकले करेक्सन भएको छ । मंगलबार पहिलोपटक १८ सय पार गरेको परिसूचक बुधबार १७८६.८४ अंकमा झरेको हो । 
उत्पादनमूलक बाहेक सबै समूहको परिसूचकमा रातो पोतियो । 

सबैभन्दा बढी बिमा समूह १२५.९२ अंकले ओर्लियो भने होटल समूह ३५.५५ अंकका साथ तल झर्यो । 

वाणिज्य बैंक समूहमा ११.५१ अंकको गिरावट देखिदा विकास बैंक समूहको सूचक ६.२८ अंकले तल झर्यो । 

जलविद्युत समूह १२.०६, अन्य समूह १५.६१ र बित्त समूह १.८२ अंकले ओरालो लागे । 

बुधबार कुल १ सय ४१ कम्पनीका ३४ लाख ७४ हजार ८ सय १ कित्ता सेयर २ अर्ब १२ करोड ९१ लाख रुपैयाँमा किनबेच भयो । 

धेरै कारोबार गर्ने कम्पनी
बुधबार एकैदिन सिद्धार्थ बैंकको मात्रै ३९ करोड ९६ लाख रुपैयाँको सेयर किनबेच भयो । शिखर इन्स्योरेन्सले १० करोड ७ लाख बराबरको कारोबार गर्यो भने माछापुच्छे बैंकले ९ करोड ५२ लाखको सेयर किनबेच भयो । यसैगरी, नेपाल बैंक लिमीटेडले ८ करोड ८१ लाख, एनआइसी एशिया बैंकको ७ करोड ६९ लाख, कृषि विकास बैंकको ७ करोड ६ लाख, ग्लोबल आइएमई बैंकको ५ करोड ३० लाख, नेपाल बंगलादेश बैंकको ५ करोड २८ लाखको सेयर कारोबार गरे । जलविद्युत लगानी तथा विकास कम्पनी लिमीटेडको ४ करोड ३८ लाख र सनराइज बैंकको ४ करोड १६ लाख बराबरको सेयर किनबेच भयो । 

धेरै कमाउनेहरु
बुधबार मिसन डेभलपमेन्ट बैंक लिमीटेडका लगानीकर्ताहरुले बाजी मारे । यो कम्पनीका लगानीकर्ताले १० प्रतिशतको दरले आफ्नो सम्पत्ति बढाए भने त्यसपछि क्रमशः बोटलर्स नेपाल(तराई) लिमीटेड, किसान माइक्रो फाइनान्स बित्तीय संस्था, कृषि विकास बैंक, कैलाश विकास बैंक, अरनिको डेभलपमेन्ट बैंक लिमीटेड, सिन्धु विकास बैंक, काष्ठमण्डप डेभलपमेन्ट बैंक, मनास्लु विकास बैंक र नेपाल कम्युनिटी डेभलपमेन्ट बैंक लिमीटेडले कमाए । यी सबै कम्पनीले ७ प्रतिशत भन्दा बढी १० प्रतिशतको बीचमा सम्पत्ति बढाएका छन् । 

धेरै गुमाउने कम्पनी
बुधबार सबैभन्दा बढी १० प्रतिशतको दरले महिला सहयात्रा माइक्रोफाइनान्स बित्तीय संस्थाका लगानीकर्ताले गुमाएका छन् । त्यसपछि नयाँ नेपाल लघुवित्त विकास बैंक, निर्धन उत्थान बैंक, जलविद्युत लगानी तथा विकास कम्पनी, नेरुडे लघुवित्त विकास बैंक, स्वरोजगार लघुवित्त विकास बैंक, ओरिएन्टल होटल्स लिमीटेड, आइएलएफसिओ माइक्रो फाइनान्स बित्तीय संस्था, साझा विकास बैंक र फेवा विकास बैंक लिमीटेडका लगानीकर्ताले गुमाएका छन् ।