काठमाण्डौ । ओरालो झरिरहेको बिमा समूहको सूचकमा साताको अन्तिम कारोबार दिन बिहीबार तेहेरो अंकको यूटर्न भएको छ । बिमा र वाणिज्य बैंक समूहको योगदानले बजार परिसूचक ११.९९ अंकले उकालो लाग्दै १७९८.८३ को उचाईमा पुगेको छ । दोहोरो अंकले नेप्से बढे पनि कारोबार रकम भने बुधबारको तुलनामा निकै घटेको छ । 

बिहीबार सबैभन्दा बढी १२५.५६ अंकले उक्लिएको बिमा समूहलाई उत्पादनमूलक समूहले ६९.०८ अंकको बढोत्तरीले पछ्याएको छ । विकास बैंक समूह २१.८७ अंकले उक्लिँदा वाणिज्य बैंक समूहमा ५.८ अंकको बढोत्तरी देखिएको छ । होटल समूह ११.७९ र बित्त समूह ५.८३ अंकले उक्लिएका छन् । अन्य समूह ५.७८ अंकले उक्लियो भने जलविद्युत समूहमा भने ९.९ अंकको गिरावट देखियो । 

बिहीबार १ सय ४१ कम्पनीका ३१ लाख ५४ हजार कित्ता सेयर १ अर्ब ४८ करोड ६९ लाखमा किनबेच भएका छन् । 
बिहीबार सेन्सेटिभ र फ्लोट इण्डेक्स क्रमशः २.१७ र ०.९२ अंकले उक्लिए । 

धेरै कारोबार गर्ने कम्पनी
बिहीबार पनि सबैभन्दा बढी सिद्धार्थ बैंक लिमीटेडले नै कारोबार गरेको छ । यो कम्पनीको १३ करोड बराबरको सेयर किनबेच भयो । यसैगरी, नेपाल बैंक लिमीटेडको ७ करोड १० लाख, माछापुच्छे बैंकको ६ करोड ९६ लाख, शिखर इन्स्योरेन्सको ५ करोड ९१ लाखको सेयर कारोबार भयो । नेपाल इन्भेष्टमेन्ट बैंकले ४ करोड ६५ लाख, मेगा बैंकले ४ करोड ५१ लाख, नेपाल बंगलादेश बैंकले ४ करोड ४२ लाख, कृषि विकास बैंकले ४ करोड २८ लाख, सनराइज बैंकले ४ करोड १० लाख र एनआइसी एशिया बैंकले ३ करोड ८८ लाखको कारोबार गरे । धेरै कारोबार गर्ने टप १० कम्पनीको सूचिमा ९ स्थान वाणिज्य बैंकहरुले कब्जा गरे । बिमा एक स्थानमा खुम्चिन बाध्य भयो । 

धेरै कमाउनेहरु
बिहीबार सबैभन्दा धेरै बोटलर्स नेपाल(तराई) लिमीटेडका लगानीकर्ताले करिब १० प्रतिशतले आफ्नो सम्पत्ति बढाएका छन् । यसैगरी, राप्तिभेरी विकास बैंक लिमीटेड, किसान माइक्रो फाइनान्स बित्तीय संस्था, नेपाल कम्युनिटी डेभलपमेन्ट बैंक, कर्णाली डेभलपमेन्ट बैंक, कैलाश विकास बैंक, कन्काई विकास बैंक, रिलायवल माइक्रो फाइनान्स बित्तीय संस्था, सगरमाथा फाइनान्स लिमीटेड र यति फाइनान्स लिमीटेडका लगानीकर्ताले पनि आफ्नो सम्पत्ति बढाएका छन् । यी कम्पनीहरुले ८ देखि १० प्रतिशतको बीचमा सम्पत्ति बढाएका हुन् । 

धेरै गुमाउनेहरु
कालिका माइक्रो क्रेडिट डेभलपमेन्ट बैंक लिमीटेडका लगानीकर्ताले बिहीबार सबैभन्दा धेरै गुमाएका छन् । यो संस्थाका लगानीकर्ताले करिब १० प्रतिशतले गुमाउनु परेको छ । समीट माइक्रो फाइनान्स डेभलपमेन्ट बैंक, नयाँ नेपाल लघुवित्त विकास बैंक, एनएमबी माइक्रो फाइनान्स बित्तीय संस्था, सेती फाइनान्स लिमीटेड, रिदी हाइड्रोपावर डेभलपमेन्ट कम्पनीका लगानीकर्ताले पनि धेरै गुमाएका छन् । राष्ट्रिय बिमा कम्पनी लिमीटेडको प्रोमोटर सेयरधनीले समेत सम्पत्ति गुमाउनुपरेको छ भने लक्ष्मी लघुवित्त बित्तीय संस्था र एक्सल डेभलपमेन्ट बैंक लिमीटेडका लगानीकर्ताले पनि धेरै गुमाएका छन् ।