भरतपुर । राष्ट्रिय वाणिज्य बैंक भरतपुर महानगरपालिका–१० स्थित चौबीसकोठी चोकमा रहेको भवनमा आज बिहान आगलागी भएको छ ।

बिहान ७:३० बजेदेखि लागेको आगो डेढ घण्टामा नियन्त्रणमा आएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी नायब उपरीक्षक एकनारायण कोइरालाले जानकारी दिनुभयो । दुई तले भवनको आगलागीबाट तल्लो तलाका अधिकांश सामान जलेर नष्ट भएका छन्। शाखा प्रमुखको कार्यकक्ष जलेर ध्वस्त भएको छ ।

आगलागीबाट भएको क्षतिको यकिन विवरण सङ्कलन भइरहेको छ । भरतपुर महानगरपालिका, रत्ननगर नगरपालिकाको दमकल, नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना र स्थानीयको सहयोगमा आगो नियन्त्रणमा लिइएको हो ।

विद्युत् सर्ट भएर आगलागी भएको र महत्वपूर्ण कागजात,पैसाको लकर र सर्बर सुरक्षित रहेको सहायक प्रमुख जिल्ला अधिकारी जनकराज पन्तले बताउनुभयो ।