-भीष्मराज ओझा 
काठमाडौँ । प्रदूषित वायुका कारण काठमाडौँ उपत्यकाका बासिन्दाको स्वास्थ्यमा गम्भीर असर परिरहेको भए पनि सम्बन्धित पक्षबाट यस क्षेत्रमा प्रभावकारी कदम चालेको देखिँदैन । 

सडक विस्तार र मेलम्ची खानेपानी आयोजनाको नयाँ पाइप बिछ्याउने कार्यबाट उत्पन्न धुलो र सवारी साधनबाट निस्कने धुवाँले यहाँको वायु निकै प्रदूषित बन्दै गएको छ । 

प्रधानमन्त्री डा बाबुराम भट्टराई सरकारका पालामा शुरु भएको बाटो विस्तार कार्य अझै पूरा भएको छैन । मेलम्ची खानेपानीअन्तर्गत उपत्यकाका सबै सडकमा नयाँ पाइप बिछ्याउने कार्य जारी छ । 

उपत्यकामा बढ्दो सवारी साधन, इँटाभट्टा, उद्योग र फोहर बाल्दा निस्कने धुवाँले वायु प्रदूषित बन्दै गएको छ । उपत्यकामा करीब ५० लाख मानिसको बसोबास रहेको अनुमान छ । 

प्रदूषणले मानिसको स्वास्थ्यमा अल्पकालीन र दीर्घकालीन असर परिरहेको वीर अस्पतालका निर्देशक डा भूपेन्द्र बस्नेत बताउनुहुन्छ । “धुलो र धुवाँले रुघाखोकी, फेक्सोको निमोनिया, श्वासप्रश्वासको समस्या हुन्छ भने दीर्घकालीन रुपमा दम, फोक्सोको क्यान्सर, मुटुलगायतका रोग देखा पर्छ।” उहाँ भन्नुहुन्छ । वायु प्रदूषणले अबको १० वर्षपछि दम र मुटु रोगीको संख्या निकै बढ्ने उहाँको अनुमान छ । 

सवारी साधन, धुलो र इँटाभट्टा मुख्य कारण 

काठमाडौँको हानिकारक प्रदूषणको (पिएम) स्रोतमा योगदानको आधारमा सवारी साधन ३८, धुलो २५, कृषि कार्य १८ र इँटाभट्टा ११ प्रतिशत रहेको वातावरण विभागका महानिर्देशक दुर्गाप्रसाद दवाडी बताउनुहुन्छ । 

वायु प्रदूषणको तात्कालिक समस्या धुलो नै हो । दीर्घकालीन र व्यवस्थापन गर्न कठिन भनेको सवारी साधनबाट निस्कने धुवाँ हो । “उद्योग कलकारखाना, इँटाभट्टाबाट निस्कने धुवाँ र फोहरको नियमित अनुगमन एवं नियमनबाट व्यवस्थापन गर्न सकिन्छ,” उहाँ भन्नुहुन्छ । 

उपत्यकाका विभिन्न अस्पतालबाट बिना प्रशोधन निस्कने पानी र फोहर स्वास्थ्यका लागि खतरा रहेको उहाँको भनाइ छ । महानिर्देशक दवाडी वातावरण संरक्षण गर्न विभिन्न मन्त्रालयअन्तर्गतका कार्यलाई आपसी संयोजन गर्न र विद्यमान कानूनी जटिलतालाई हटाउन प्रधानमन्त्री कार्यालयअन्तर्गत संयन्त्र बनाई काम गर्दा प्रभावकारी हुने धारणा राख्नुहुन्छ । 

उपत्यकामा हाल ११२ इँटाभट्टा छन् । त्यसमध्ये ११० चिम्नीमा आधारित रहेको नेपाल इँटा उद्योग महासंघका अध्यक्ष महेन्द्रबहादुर चित्रकार बताउनुुहुन्छ । 

बिहान र बेलुकी बढी प्रदूषण 

वातावरण विभागले देशको समग्र वायु प्रदूषणको स्थिति जाँच र अनुगमन गरी कार्ययोजना तय गर्न देशभर वायु गुणस्तर मापन केन्द्र स्थापना गरेको छ । 

हालसम्म पुल्चोक, रत्नपार्क, कीर्तिपुर, धुलिखेल, शंखपार्क, भैँसेपाटी, भक्तपुर, सौराहा, लुम्बिनी र पोखरामा तीन गरी १२ स्टेशनको स्थापना गरिसकेको विभागका सहायक प्रवक्ता मोहनदेव जोशी बताउनुहुन्छ । 

त्यसको २४ घण्टे तथ्याँक केलाउँदा दिउँसोको समय (११ देखि ४) कम तथा बिहान र बेलुकीको समय बढी प्रदूषण देखिएको छ । वार्षिक तथ्याँक केलाउँदा कात्तिकदेखि माघसम्म अत्यधिक प्रदूषण हुने गरेको पाइएको छ । 

उपत्यकाको कचौरा आकारको भौगोलिक अवस्थाले बिहान, बेलुका तातो र चिसो हावा तलमाथि पर्ने समय हुने हुँदा प्रदूषण बढ्ने गरेको नेपाल स्वास्थ्य अनुसन्धान परिषद्का अनुसन्धान शाखा प्रमुख डा मेघनाथ धिमाल बताउनुहुन्छ । 

जाडो याममा सबै इँटाभट्टा बढी चल्ने र पानी कम पर्ने भएकाले वायु प्रदूषण दोब्बर हुन्छ । अनुसन्धान प्रमुख डा धिमाल भन्नुहुन्छ, “परिषद्को अध्ययनमा उपत्यकाको वायु सरकारले तोकेको मापदण्डभन्दा तेब्बर र विश्व स्वास्थ्य संगठनले तोकेको भन्दा आठ गुणा बढी प्रदूषित पाइयो ।” 

कपडाको सामान्य मास्कले धुलो धुवाँका साना कण रोक्न नसक्ने भएकाले प्रदूषणबाट बच्न गुणस्तरीय मेडिकल मास्क लगाउनुपर्ने विज्ञको सुझाव छ । 

धुलोभन्दा धुवाँ घातक 

वातावरणविद् भूषण तुलाधर स्वास्थ्यका लागि धुलोभन्दा धुवाँ बढी घातक भएको तर्क गर्नुहुन्छ । 

दृढ इच्छा शक्ति भए धुलोको समस्या तत्काल समाधान गर्न सकिन्छ तर धुवाँको समस्या घट्ने देखिँदैन । उहाँ भन्नुहुन्छ, “धुलो क्षणिक समस्या हो र धुलोको कण धुवाँको तुलनामा ठूला हुन्छन् । तर धुवाँमा बढी हानिकारक र साना रासायनिक कण हुन्छन् ।” 

धुवाँको प्रदूषणले क्यान्सरलगायत गर्भवती महिला र गर्भको शिशुको वृद्धिमा समेत नकारात्मक असर पार्ने वातारवणविद् तुलाधर बताउनुहुुन्छ । 

छोटो दूरीमा हिँड्ने, साइकल लेन बनाएर साइकल चलाउने र सुरक्षित वातावरणमैत्री सार्वजनिक यातायातको व्यवस्था गर्न सके प्रदूषणलाई धेरै नै कम गर्न सकिने उहाँको तर्क छ । 

सूचना प्रविधिको बढ्दो प्रयोगसँगै आम मानिसले प्रयोग गर्ने विद्युतीय सामग्री प्रयोगविहीन भएपछि उचित व्यवस्थापन गर्न नसक्दा यो अहिले मानव स्वास्थ्यका लागि नयाँ चुनौती थपिएको छ । 

महिला वातावरण संरक्षण समितिका अध्यक्ष विष्णु थकाली विद्युतीय प्रदूषण वायु प्रदूषणभन्दा बढी खतरनाक मान्नुहुन्छ र यसले मानव स्वास्थ्यमा दीर्घकालीन असर पार्ने बताउनुहुन्छ । 

“प्रयोगविहीन मोबाइल, कम्प्यूटर, टिभी, ब्याट्री, फ्रिजजस्ता विद्युतीय सामग्रीको व्यवस्थापन बढी चुनौतीपूर्ण देखिएको छ, विद्युतीय प्रदूषण बाल्दा निस्कने धुवाँ र रसायनले स्वास्थ्यमा दीर्घकालीन र गम्भीर असर पार्छ”, अध्यक्ष थकाली भन्नुहुन्छ । 

काठमाडौँका कवाडी संकलन केन्द्रमा विद्युतीय सामान फुटाई त्यसमा रहेको बहुमूल्य धातु झिकेर बाँकी फोहर जलाई विसर्जन गरिन्छ । कृषि वस्तु, प्लाष्टिक र टायर बाल्दा वायु प्रदूषण धेरै हुने गरेको जानकारी दिँदै उहाँले यसलाई नियन्त्रण गर्न सचेतना जगाउनुपर्ने बताउनुहुन्छ । विद्युतीय प्रदूषण नियन्त्रण गर्ने सम्बन्धमा हाल आवश्यक कानूनको समेत कमी रहेको सरोकारवालाको भनाइ छ । 

धुलोको समस्या कम हुँदै जाने 

मेलम्ची आयोजना कार्यान्वयन एकाइले सन् २०१२ देखि उपत्यकामा खानेपानी वितरणका लागि नयाँ पाइप बिछ्याउन शुरु गरेको थियो । करीब ८०० किलोमिटर पाइपमध्ये अब ६७ किलोमिटरमात्रै बिछ्याउन बाँकी रहेको एकाइका प्रमुख तिरेसप्रसाद खत्री बताउनुहुन्छ । 

आगामी जेठसम्म बाँकी काम सम्पन्न गरिसक्ने जनाइएको छ । आयोजना प्रमुख खत्री भन्नुहुन्छ, “थप २०० किलोमिटर पाइप बिछ्याउने कार्य आगामी एक वर्षमा सम्पन्न हुन्छ, तर यो योजना भित्री गल्लीमा हुने हुँदा धेरै धुलो उड्दैन र आवागमनमा खासै अवरोध हुँदैन ।” 

विसं २०६८ मंसिरदेखि उपत्यकामा शुरु भएको सडक विस्तार कार्यबाट उत्पन्न धुलोले पनि वायु प्रदूषण बढेको हो । काठमाडौँ उपत्यका विकास प्राधिकरणका विकास आयुक्त भाइकाजी तिवारी हालसम्म झण्डै ४३० किलोमिटर सडक विस्तार भइसकेको जानकारी दिनुहुन्छ । 

“सरकारले आवश्यक बजेट, स्रोत र साधन उपलब्ध गराए आगामी दुई वर्षमा सम्पूर्ण सडक विस्तारको काम सक्छौँ,” उहाँ भन्नुहुन्छ । विकास आयुक्तले यसो भने पनि सडकसँग सम्बन्धित सरकारी निकायबीच आपसी समन्वय नहुनु, सडक सीमाभित्रका घरटहरा समयमै नहट्नु, सडक विस्तारबाट पीडितहरु आन्दोलित हुनु, सर्वाेच्च अदालतबाट जारी भएका अन्तरिम आदेशलगायतका कारण तोकिएकै मितिमा सडक विस्तार हुनेमा आशंका छ । 

खानेपानीका पाइप बिछ्याइसकेका र विस्तार गरिसकेको सडकमा तत्काल धुलो उड्न नदिन सम्बन्धित निकायले पानी छर्किने गरे पनि त्यो प्रभावकारी छैन । काम सम्पन्न हुनेबित्तिकै भत्काएका सडकमा तत्काल कालोपत्र गरिहाल्नुपर्ने नयाँ बानेश्वरकी यशोदा भट्टको सुझाव छ । 

धुवाँ घट्ने छाँट छैन 

हानिकारक प्रदूषणको प्रमुख स्रोतका रुपमा रहेका सवारी साधनको संख्या काठमाडौँमा तीव्र रुपमा बढिरहेको छ । सवारी प्रदूषण नियन्त्रण नापजाँचमा सफल हरियो स्टिकरका सवारी साधनमध्ये करीब ४७ प्रतिशत साधन प्रदूषण उत्सर्जनमा असफल भएको पाइएको छ । 

मुलुकभर कूल २८ लाख सवारी साधन रहेकामा काठमाडौँ उपत्यकामा मात्रै करीब ११ लाख सवारी साधन रहेको बताइन्छ । 

यातायात व्यवस्था विभागका महानिर्देशक रुपनारायण भट्टराई भन्नुहुन्छ, “सवारी साधनको प्रदूषण जाँच्न नयाँ प्रविधि ल्याउँदैछौँ । यसले सवारी साधनको प्रदूषणको मात्रा जाँच्न सहज र छिटो हुनेछ ।” 

यसबाहेक २० वर्ष पुराना सवारी साधनले निकाल्ने धुवाँले वायु प्रदूषणमा ठूलो हिस्सा ओगटेको छ । त्यसैले यही चैत १ गतेदेखि २० वर्ष पुराना सवारी साधन सञ्चालनमा रोक लगाइएको छ । तर यसमा प्रभावकारी अनुगमन हुन नसक्दा धुवाँको मुस्लो फाल्ने सवारी साधन सडकमा खुलेआम चलिरहेका छन् । 

विश्वका ठूला शहरमा वायु प्रदूषण कम गर्न हरियाली बनाउने प्रचलन दिनानुदिन बढ्दो छ । काठमाडौँमा भने भएका रुख बिरुवा काटिएका छन् । सडकमा नयाँ वृक्षरोपण गर्ने कार्यले प्राथमिकता पाउने गरेको छैन । 

ललितपुर महानगरपालिकाका प्रमुख चिरिबाबु महर्जन हरियाली सडक बनाउने योजना अघि सारेको बताउनुहुन्छ । महानगरले पहिलो चरणमा आगामी वर्षायाममा सडकका दायाँबायाँ करीब १४ किलोमिटरसम्म हुर्किसकेका ठूलो बिरुवा रोप्ने योजना बनाएको छ ।

महानगर प्रमुख महर्जन थप्नुहुन्छ, “पहिलो चरणमा वाग्मती पुलदेखि हरिसिद्धिसम्म र जावलाखेलदेखि बुङ्मतीसम्म वृक्षरोपण गर्छाैं । सडकको दायाँबायाँ प्रत्येक आठ फिट दूरीमा रोपिने त्यस्ता बिरुवाले शहर हरियालीमात्र हुने छैन, वातावरणसमेत स्वच्छ हुनेछ।” 

ललितपुर महानगरले अनुमानित रु ८० लाखको लागतमा जाकारान्दा, कपुरलगायतका बिरुवा रोप्ने तयारीका साथसाथै सडक सफा गर्ने अत्याधुनिक मेसिन र गाडी ल्याउने प्रक्रिया अघि बढाइसकेको छ ।