– अर्जुन तिमिल्सिना

काठमाण्डौ । सोल्टी होटेल लिमिटेड सबैभन्दा पुरानो र पहिलो फाइभ स्टार होटेल हो। यो होटेल सन् १९६५ मा उद्घाटन गरिएको थियो। 

तत्कालीन समयमा भारतीय होटेल व्यवस्थापन कम्पनीको व्यवस्थापन र विश्व बैंकको आर्थिक सहयोगमा यो होटेल स्थापना भएको थियो। स्थापनाकालमा यो होटेलमा १०४ कोठा थिए। हाल यो होटेलमा २८२ लक्जरी कोठा छन्। 

यो होटेलले हस्पिट्यालिटीका अलवा विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय एयरलाइन्सहरुमा क्याटरिङ सेवा पनि दिँदै आएको छ। यो होटेलले आफ्नो व्यापार विस्तारका क्रममा राजधानीबाहिर नेपालगन्जमा पनि आफ्नो पहिलो शाखा खोलेको छ। 

आधारभूत पक्ष 

चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म यो होटेलको चुक्तापुँजी ८४ करोड २५ लाख रुपैयाँ रहेको छ। होटेलको रिजर्भ र रिर्टन अन अर्निङमा ६३ करोड ८६ लाख रुपैयाँ रहेको छ। 

दोस्रो त्रैमाससम्म होटेलले ४ करोड ९० लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। यो अवधिसम्म होटेलको वार्षिकीकृत प्रतिसेयर आम्दानी (ईपीएस) ०.५८ रुपैयाँ र प्रतिसेयर नेटवर्थ १७.५८ रुपैयाँ रहेको छ। प्रतिसेयर  कुल सम्पत्ति २६.७१ रुपैयाँ रहेको होटेलको मूल्य आम्दानी अनुपात ३९५.२२ गुणा रहेको छ। 

अन्तिम कारोबार मूल्यअनुसार यो होटेलको प्रतिकित्ता सेयरभाउ २३५.५० रुपैयाँ रहेको छ। यो होटेलको सेयरको अंकित मूल्य १० रुपैयाँ रहेको छ। 

होटेलको विगत ९ वर्ष लाभांश इतिहास हेर्दा वार्षिक औसत लाभांशदर ३८ प्रतिशत रहेको छ। कोभिडको प्रभावका कारण व्यवसाय खस्किँदा होटेलले विगत दुई वर्षदेखि लाभांश वितरण गरेको छैन। 

इलिअट वेभका आधारमा 

यो सिद्धान्तमा ५ वेभ र ९ डिग्री हुन्छन्। त्यस्ता डिग्रीहरुले सानाठूला गरेर १ दिनदेखि १०० वर्षसम्मको समय अवधिलाई प्रतिनिधित्व गर्छन्। इलिअट वेभमा बजार माथि जान ५ फरक–फरक वेभ हुन्छन् भने तल जान ३ वेभ हुन्छन्। माथि लाग्ने ५ वेभमा पनि ३ वटा चढावका र २ वटा सुधारका देख्न सकिन्छ। यसमा १, ३, ५ चढावका हुन्छन् भने २ र ४ मा करेक्सनका हुन्छन्। वेभ ५ को करेक्सन वेभ ए हो। वेभ ए, बी र सीले बजार तल जाने संकेत गर्छन्। 

सन् २०२० को जुलाई महिनादेखि हालसम्मको यो होटेलको मूल्यरेखाले बनाएको रेखाचित्रलाई आधार मानेर इलिअट  वेभलाई विश्लेशषण गर्ने हो भने इलिअट वेभको वेभ १ मा १३५ रुपैयाँदेखि २३३ रुपैयाँसम्म हुने देखिन्छ। वेभ २ मा करेक्सन भएर १८७ रुपैयाँसम्म र वेभ ३ मा बढोत्तरीका साथ ३२३ रुपैयाँसम्म भएको देखिन्छ। वेभ ४ मा करेक्सन भएर पुनः २०२ रुपैयाँसम्म आएको छ। वेभ ५ मा पुनः बढोत्तरी भएर सेयरभाउ ३६७ रुपैयाँ पुग्न सक्ने देखिन्छ। (हेर्नुहोस् माथि मुख्य तस्बिरमा) 

फिवोनासी सिद्धान्तका आधारमा

फिवोनासी एक्सटेन्सन एउटा यस्तो टुल हो, जसले एकपल्ट बढेपछि बजार घट्दा कतिसम्म तल आउन सक्छ र कति–कतिमा टेवा लिन्छ भन्ने विषय अनुपातका आधारमा संकेत गरेको हुन्छ। बढ्दा पनि कति–कति प्रतिशतमा प्रतिरोध गरेको हुन्छ भन्ने यी अनुपातबाट अनुमान लगाउन सकिन्छ। यस्ता अनुपातलाई फिवोनासी गोल्डेन अनुपातहरु पनि भनिन्छ। ती अनुपातहरु २३.६, ३८.२, ५०, ६१.८ र १०० प्रतिशत हुन्। 

यो सिद्धान्तअनुसार यदि यो होटेलको सेयरभाउ घटेमा ०.२३ प्रतिशतको टेवामा २३५ रुपैयाँसम्म, ०.३८ प्रतिशतको टेवामा २२६ रुपैयाँ, ०.५ प्रतिशतको टेवामा २१९ रुपैयाँसम्म र ०.६१ प्रतिशतको टेवामा २११ रुपैयाँसम्म आउन सक्ने देखिन्छ। (तल तस्बिरमा हेर्नुहोस्)

 

एमएसीडी लाइनका आधारमा

एमएसीडी लाइन भनेको सेयर अर्थात बजार परिसूचकको अन्तिम मूल्यको २६ दिन र १२ दिनको एक्सपोनियल मुभिङ एभरेज हो। यसमा एमएसीडी लाइन र सिग्नल लाइन गरी दुई लाइन हुन्छन्। यदि एमएसीडी लाइनले सिग्नल लाइनलाई तलबाट काट्छ भने बुलिस क्रस ओभर र माथिबाट काट्छ भने बियरिस क्रस ओभर हुन्छ। 

यो लाइनअन्तर्गत भन्नुपर्दा एमएसीडी लाइनले सिग्नल लाइनलाई तलबाट काटेको छ (हेर्नुहोस् हरियो एरो)। हिस्टोग्राम सकारात्मक र क्रमशः लामा–लामा बन्दै गएका छन्। यो आधारमा यो होटेलको सेयरभाउमा खरिदचाप परेको अनुमान लगाउन सकिन्छ। 

बोलिंगर ब्यान्डका आधारमा

यसमा ३ वटा ट्रेन्ड लाइन हुन्छन्। पहिलो (बीचको) सामान्य चलायमान औसत रेखा, दोस्रो अप्पर ब्यान्ड र तेस्रो लोअर ब्यान्ड। यो ब्यान्डको सामान्य नियम भनेको मूल्य माथिल्लो र तल्लो ब्यान्डमा सीमित हुन्छ भन्ने हो। अर्थात् अझ सरल भाषामा भन्नुपर्दा जब मूल्य रेखाले माथिल्लो रेखालाई छुन्छ तब बजारमा करेक्सन हुन्छ र जब तल्लो रेखालाई छुन्छ तब बजार स्वभाविक रुपमा फेरि माथितिर जान थाल्छ भन्ने हो। यो लाइनअन्तर्गत एमएसीडी लाइनले सिग्नल लाइनलाई गत ६ अप्रिलमा तलबाट काटेको छ (हेर्नुहोस् हरियो एरो)। हिस्टोग्राम सकारात्मक र क्रमशः लामा–लामा बन्दै गएका छन् (हेर्नुहोस् कालो एरो)। यस आधारमा यो होटेलको सेयरमा खरिदचाप परेको अनुमान लगाउन सकिन्छ। 

आरएसआईका आधारमा 

आरएसआई विन्दुअन्तर्गत १४ दिनको मूल्यलाई आधार मानेर भविष्यमा हुने मूल्य परिर्वतनको भविष्यवाणी गरिन्छ। यसमा ५० को जोनलाई सेन्ट्रल जोन, ३० भन्दा तल ओभर सोल्ड जोन र ७० भन्दा माथिलाई ओभर बट जोन भनेर छुट्याइन्छ। यसअन्तर्गत हालको कम्पनीको आरएसआई बढ्दो क्रममा  ६० को तहमा रहेको छ। यदि आगामी कारोबारमा योभन्दा माथि जान्छ भने अझै बुलिस बन्दै गएको बुझिन्छ। अघिल्लोपटक यो होटेलको आरएसआई ७२ को विन्दुमा पुगेपछि सेयरभाउमा करेक्सन आएको थियो।

इचिमोकुका आधारमा

इचिमोकुअन्तर्गत यो होटेलको क्लाउड पोजिसनमा मूल्यरेखाहरु क्लाउड पोजिसनबाट माथि लगेको देखिन्छ। कन्भर्जन लाइनले बेस लाइनलाई तलबाट काटेर माथि गएको देखिन्छ (हेर्नुहोस् कालो एरो)। त्यसैगरी क्लाउडको पोजिसन पनि रातोबाट हरियो बन्ने तरखरमा रहेको देखिन्छ। (हेर्नुहोस् हरियो एरो)

पिभट विश्लेषणका आधारमा 

पिभट विश्लेषण भनेको सेयर तथा डेरिभेटिभको अधिकतम, न्यनूतम र अन्तिम मूल्यलाई आधार मानी यसको भविष्यमा हुने मूल्यको उतारचढाव निकालिन्छ।

बढेमा प्रतिरोध 

  • प्रतिरोध १– २३६
  • प्रतिरोध २– २४५
  • प्रतिरोध ३– २५३

पिभट प्वइन्ट : २२८

घटेमा सपोर्ट 

  • सपोर्ट १– २१९
  • सपोर्ट २– २११
  • सपोर्ट ३– २०२

निष्कर्ष

प्राविधिक रुपमा नेप्सेका विभिन्न उपसमूहमध्ये यो साता होटेल समूहमा लगानीकर्ताको आकर्षणमा परेको देखिन्छ। सोल्टी होटेल पनि धेरै लगाीकर्ताको आकर्षणमा परेको कम्पनी हो। अल्पकालीन औजारमार्फत हेर्दा एमएसीडीमा बुलिस क्रसओभर देखिएको छ। त्यसैगरी बेलिंगर ब्यान्डमा पनि लामो समय मध्य ब्यान्डभन्दा माथि कारोबार भएको छ। आरएसआई पनि बढ्दो क्रममा ६० को विन्दुभन्दा माथि रहेको छ। 

यी तीनवटै औजारलाई संयुक्त रुपमा हेर्दा यो होटेलको सेयरमूल्यमा बढोत्तरीको सम्भावना देखिन्छ।

नोट : सेयर बजारमा प्राविधिक विश्लेषण विभिन्न औजारमा आधारित अनुमान हो। लगानीकर्ताले लगानी गर्दा आफ्नो जोखिम लिन सक्ने क्षमता र कम्पनीको वित्तीय अवस्था हेरेर लगानी गर्नुपर्छ। यो कुनै कारोबारको सिफारिस भने होइन। कारोबार गर्दा आफ्नो स्वविवेक प्रयोग गरिनुपर्छ।