-अर्जुन तिमल्सिना
नेपालको बित्तीय क्षेत्रमा अहिले मर्जर निकै चर्चाको बिषय बनेको छ र बजार तताएको पनि छ ।
केही समयअघि अनौपचारिक रुपमा राष्ट्र बैंकका गभर्नर र अर्थमन्त्रीले बोलेपछि तातेको बिषय बजेटमार्फत नै सम्बोधन भएपछि भने बजारको हटकेक नै भएको छ । पहिलाको मर्जरको नीतिअनुसार कतिपय बैंकहरुले अझै चुक्तापुँजी पुर्याउन नसकिरहेको अवस्थामा आएको बिग मर्जरको नीतिलाई विज्ञ अर्थमन्त्रीको बोल्ड डिसीजन र हिम्मतको रुपमा समेत लिनुपर्ने हुन्छ ।
हाम्रो जस्तो अल्प बिकसित देशका लागि बिग मर्जरको विषय एउटा महत्वपूणृ विषय हो र यो निर्णयका कारण देशको एउटा आर्थिक मेरुदण्ड तयार हुनेछ भन्ने आशा गर्न सकिन्छ । सायद यही कुरा बुझेरै अर्थमन्त्रालयले समेत बजेटमै बिग मर्जरलाई ल्याएको हुनसक्छ ।
विश्व नै एउटा घर हो भन्ने अवधारणा तीव्र विकास भइरहेको अहिलेको अवस्थामा अब बिग मर्जरले मात्र पुग्दैन, बरु योसँगै युनिभर्सल बैंकिङ्गको अवधारणा समेत ल्याइन आवश्यकछ ।
युनिभर्सल बैंकिङ सिस्टमको इतिहास हेर्ने हो भने सन् १९३० मा युरोपियन देशहरुबाट सुरु भएको हो भने बिस्तारै अमेरिका र एशिया तथा भारतमा पनि यो लागू भएको पाइन्छ । अझ रोचक कुरा त् के छ भने यही सिस्टम बने पछि नै ती राष्ट्रहरु आर्थिक रुपमा मजबुत र बिकसित भएका रहेछन ।
के हो युनिभर्सल बैंकिङ ?
युनिभर्सल बैंकिङ सिस्टम भनेको त्यस्तो बृहत सेवा दिने सिस्टम हो, जहाँ एउटै छानामुनि बैंकहरुले थोक बैकिङ्ग, खुद्रा बैकिङ्ग र लगानी बैकिङ्ग गरेर तीनथरि सेवा दिन सक्छन्, जसअन्तर्गत बैंकहरुले इन्सुरेन्स सेवा पनि एउटै छानो मुनिबाट प्रदान गर्न सक्छन । यस्तै, आफ्नै पुंजीबाट ठूलो लगानी सिधै गर्न सक्छन् ।
हाम्रोजस्तो देशमा यो त्यो अर्थ मा पनि उपयुक्त छ कि ठूला आयोजना निर्माण गर्न ठूलो पुंजी आवश्यक हुने र त्यसका लागि बिग मर्जर र युनिभर्सल बैंकिंङबाट बन्ने मजबुत वित्तीय संस्थाहरुले ठूलो पूँजी जुटाउन सक्ने हुँदा यो निकै उपयुक्त हुने देखिन्छ ।
बजारमा भने मर्जरको बिसयमा मिश्रित प्रतिक्रिया पाइन्छ । धेरैजसो बिग मर्जरको पक्षमै देखिन्छन् भने कतिपय चाहि भर्खर २ अर्ब बाट ८ अर्ब पुंजी बनाइएकोले फेरी मर्जर उपयुक्त नहुने तर्क समेत राखिरहेका छन् ।
आम सर्बसाधारण लगानीकर्ता भने मर्जरको पक्षमै छन् । स्मरण रहोस् अहिले चर्चामा आएको बिग मर्जर पनि युनिभर्सल बैंकिंग सिस्टमकै एक भाग हो ।
यसमा नेपाल राष्ट्रबैंक र गभर्नरको दुरदृष्टि देखिन्छ र हुन पनि आवश्यक छ । बिग मर्जरमा जानु भन्दा पहिले राष्ट्र बैंकको नेतृत्व र अगुवाईमा एउटा छुट्टै आर्थिक बिज्ञ टोली बनाएर बैंकहरुसँग समन्वय गर्दै अगाडि बढ्नुपर्ने देखिन्छ । दुई वा दुईभन्दा बढी संस्था गाभ्नु पर्ने भएकोले राष्ट्र बैंक र सरकार हचुवाकै भरमा भने अघि बढ्न हुन्न ।
हाम्रो अर्थतन्त्रको आकार, जनसंख्या र उनीहरुको आवश्यकतालाई हेर्दा बैंक तथा वित्तीय संस्थाको संख्या अधिक नै भएको हो । हामीलाई अब केही संख्यामा क वर्गका वाणिज्य बैंक(समग्रमा सबैलाई बैंक भने पनि हुन्छ) र घ वर्गका माइक्रोफाइनान्स बाहेक वित्त कम्पनी र विकास बैंक आवश्यक छैन।
जनतालाई दिने सेवा र सुविधा सबै उस्तै, काम गर्ने क्षेत्र पनि लगभग उही र उस्तै भए पनि चारथरि वित्तीय संस्था किन चाहियो ? यहीकारणले सधैंभरि तरलताको समस्या पनि देखिइरहन्छ ।
सयभन्दा बढी बैंक तथा वित्तीय संस्था हुँदा यसले तरलताको समस्या निम्त्याएको छ भने अस्वस्थ प्रतिस्पर्धा, उच्च ब्याजदर लगायतका विकृति पनि ल्याएको छ । धेरै संस्था हुँदा नियामक केन्द्रीय बैंकको सुपरीवेक्षकीय क्षमताले समेत भ्याइरहेको छैन ।
जबसम्म बैंकको ब्याजदर उच्च हुन्छ, तबसम्म देशमा औद्योगिक विकास हुनसक्दैन । औद्योगिक विकास नभए हाम्रोजस्तो देश कृषि क्षेत्रको विकासले मात्र सन् २०३० सम्ममा सरकारले देखेको विकासोन्मुख राष्ट्रको सपना पूरा हुनसक्दैन ।
बिग मर्जर र युनिभर्सले बैंकिङको नीतिले बैंक तथा वित्तीय संस्थाको पनि भलो नै हुन देखिन्छ । बैंकको कस्ट अफ फण्ड र बेस रेट पनि कम हुन जान्छ । सधै तरलताको अभावले पानीबाट झिकेको माछा जसरी छटपटाएका केही बैंक तथा वित्तीय संस्था र शेयर लगानीकर्ता सबैलाई दीर्घकालसम्मै हित हुने देखिन्छ ।
राष्ट्रबैंकले छिटै मौद्रिक नीति सार्बजनिक गर्दैछ र यसमा धेरैको चासो समेत जोएिको छ । खासगरी सबैको चासो बिग मर्जरमै छ ।
बजारमा उत्सुकता के छ भने मर्जरको ढांचा कस्तो होला ? सरकार अथवा राष्ट्र बैंक कसरी अगाडि बढ्ला ?बिग मर्जर गर्ने नै हो भने पहिला सरकार आँफैबाट तीन वोटा बाणिज्य बैंकः कृषि विकास बैंक, नेपाल बैंक र राष्ट्रिय बाणिज्य बैंकलाई एउटै बनाएर युनिभर्सल बैंकिंङ सिस्टम अन्तर्गत एउटै छानोमुनि बिविध सेवा किन नदिने ? किन चाहियो तीनवटा सरकारी बैंक ?
निजी क्षेत्रका बैंकहरुलाई पनि कम्तीमा एउटा वाणिज्य बैंक, अर्को वाणिज्य बैंकसँग, डेभलपमेन्ट बैंक र फाइनान्सलाई अनिवार्य रुपमा मर्ज गर्नुपर्ने बाध्यकारी नियम आएमा मात्र बिग मर्जरको नीतिगत व्यवस्थाको सान्दर्भिकता पुष्टि हुनेछ । अन्यथा बिग मर्जर ‘हात्ती आयो हात्ती आयो फुस्स’ भने जस्तो हुन्छ ।
गभर्नर साब पहिलेबाटै बोल्दै हिंड्नु भएको छ । आफ्नै भनाइ पुस्टि गर्न पनि अब दह्रो रुपमा खुट्टा टेक्नु आवश्यक छ । यसका लागि सरकार, राष्ट्र बैंक, निजी क्षेत्र सबैको मन मिल्नुपर्ने देखिन्छ ।
बजार हेर्दा मनोबैज्ञानिक रुपमा बैंकरहरु पनि तयार देखिन्छन् ।
(लेखक पूँजीबजारका संस्थागत लगानीकर्ता हुन् ।)
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago