काठमाण्डौ । नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले स्थानीय तहका जनप्रतिनिधिहरुले विकास र लगानीका लागि एकआपसमा प्रतिस्पर्धा गर्नुपर्ने बताएका छन्।
बुटवल उद्योग वाणिज्य संघ रुपन्देहीद्वारा आयोजित नवनिर्वाचित स्थानीय जनप्रतिनिधिलाई बधाइ तथा सम्मान कार्यक्रममा प्रमुख अतिथिका रुपमा सम्बोधन गर्दै वरिष्ठ उपाध्यक्ष ढकालले स्थानीय जनप्रतिनिधिहरुले आफ्नो स्थानीय तहमा धेरैभन्दा धेरै उद्योग–व्यवसाय सञ्चालन गर्ने, स्वदेशी तथा विदेशी लगानी भित्र्याउने र रोजगारी सिर्जना गर्ने विषयमा एक–आपसमा प्रतिस्पर्धा गर्नुपर्ने बताएका हुन्। तीन तहका सरकार तथा निजी क्षेत्रको सहकार्यले मात्र जनअपेक्षाअनुरुपको विकास र समृद्धि हासिल गर्न सम्भव भएको उल्लेख गर्दै ढकालले निजी क्षेत्रसँगको सहकार्यको महत्वलाई बुझेर अगाडि बढ्न जनप्रतिनिधिलाई आग्रह गरे।
स्थानीय सरकार र निजी क्षेत्र दुवैको साझा लक्ष्य विकास र सम्मृद्धिमार्फत जनतालाई सुखी तुल्याउने रहेको ढकालको भनाइ थियो। ‘त्यसैले राज्य र निजी क्षेत्रबीच बलियो साझेदारीका लागि म यहाँहरुलाई आह्वानसमेत गर्दछु’, उनले भने।
छोटो समयमा मलेसियाले हासिल गरेको विकासको उदाहरण प्रस्तुत गर्दै वरिष्ठ उपाध्यक्ष ढकालले स्थानीय निकायहरुले लगानीका लागि अनुकूल वातावरण बनाई निजी क्षेत्रको लगानी आकर्षित गर्ने हो भने राज्यले बिना लगानी धेरैभन्दा धेरै फाइदा लिन सक्ने बताए।
ढकालले बुटवल मुलुककै आर्थिक केन्द्र बन्दै गएको पनि बताए। ‘सिंगो रुपन्देही जिल्ला पर्यटन र कृषि क्षेत्रका लागि अथाह सम्भाव्यता बोकेको जिल्ला हो’, उनले भने, ‘विश्वकै केन्द्र बन्दै गरेको बुद्धभूमि लुम्बिनीको भैरहवामा हालै सञ्चालनमा आएको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल, भैरहवामा रहेको विशेष आर्थिक क्षेत्रलगायतका कुराहरुलाई समुचित रुपमा उपयोग गर्न सकेमा यसबाट रुपन्देही जिल्लाले मात्र नभई सिंगो मुलुकले नै मुहार फेर्न सक्छ।’
ढकालले निजी क्षेत्र मुलुकभित्र लगानी वृद्धि, रोजगारी सिर्जना, औद्योगिक व्यावसायिक विकासमार्फत आमनेपालीको आमूल परिवर्तनमा निरन्तर क्रियाशील रहँदै आएको बताए।
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19