काठमाण्डौ । नेप्से परिसूचक मंगलबार झिनो अंकले घटेको छ । यो दिन नेप्से परिसूचक १.४६ अंकले घटेको हो । कारोबार रकम २१ करोड माथि पुगेको छ । 

केही दिनदेखि नेप्से परिसूचक ११७५ देखि माथि १२०० कै आसपासमा घुमिरहेको छ । दैनिकजसो ठूलो अंकको गिरावट वा बढोत्तरी छैन । कारोबार रकम पनि १६ देखि २५ करोडको बीचमै घुमिरहेको छ । यसले बजार स्थिर अवस्थामा छ भन्ने देखाउँछ । 

विश्लेषकहरुले यो अवस्थालाई बजारमा वृद्धिको युग सुरु हुने पूर्वसन्ध्याको रुपमा बुझेका छन् । बजारका प्राविधिक विश्लेषक धनकुमार राईले बजार अब निकट भविष्यमै बुलिस यात्रामा अगाडि बढ्ने र यो कम्तीमा पनि २ वर्षसम्म रहने दाबी गरेका छन् । उनले त बजारमा अब सुरु हुने बुलिस यात्राले २१०० को विन्दू चुम्ने समेत यसअघि नै घोषणा गरिसकेका छन् । 

सेयर बजारका विज्ञ तथा विश्लेषक रविन्द्र भट्टराईले समेत केही दिनदेखि बजार वृद्धिको संघारमा रहेको भनाईहरु सार्वजनिक गरिरहेका छन् । उनले अगस्ट ५ मा पोष्ट गरेको फेसबुक स्टाटसमा लेखेका छन्–‘लामो ओरालो हिँडेपछि पुनः उकालो लाग्नुअघि केही तेर्सो हिँड्नु पर्छ। अहिले बजारको अवस्था यस्तै हो ।’

उनले समेत आफ्नो स्टाटसमा बजार अब निकट भविष्यमै उकालो लाग्ने स्पष्ट संकेत गरेका छन् । 

पछिल्लो समय बजारका लेखक, विज्ञ तथा विश्लेषकमात्र होइन, फण्डामेन्टल्ली विश्लेषण गर्ने विश्लेषक र टेक्निकल्ली विश्लेषण गर्नेहरुको समेत एउटै मत छ, त्यो हो बजार अब चाँडै बुलिस यात्रातर्फ उन्मुख हुन्छ । कुनै पनि विज्ञ तथा लेखकले बजारमा बियरिस अवस्था आउँछ वा गिरावटको अवस्था लामो समय रहन्छ भनेका छैनन् । यसले समेत बजार निकट भविष्यमै बढ्ने विश्लेषण बलियो बन्दै गएको छ । 

एकातिर बजार बढ्छ भन्ने विश्लेषकहरुको दैनिकजसो विश्लेषण आइरहेको छ भने अर्कोतर्फ अधिकांश लगानीकर्ता ‘पर्ख र हेर’को अवस्थामा छन् । केही नीतिगत परिवर्तनको कुनै छनक आउनेबित्तिकै बजार बुम हुने अवस्था रहेको जानकार बताउँछन्। 

पछिल्लो समय कम्युनिष्ट सरकारको बजारप्रतिको रबैयाप्रति सेयर बजारमा राम्रो होल्ड गर्ने मारवाडी समुदाय सशंकित देखिएका छन् । यहीकारण उनीहरुले बजारमा ठूलो खरीदबिक्री गरिरहेका छैनन् । यसले पनि बजारमा चमक आउन सकेको छैन । म्युचुअल फण्ड संचालकहरु मुद्धतीमा पैसा राखेर ब्याज खाँदै बसेका छन्, बजारको विकास र बिस्तारमा सहयोग गर्नेतर्फ उनीहरुको ध्यान छैन । 

यहीबेला लगानी गर्न चाहने लगानीकर्ता समेत ‘पर्ख र हेर’को अवस्थामा बसेको देखिन्छ । यी कारणहरुले समेत बजार वृद्धिको पूर्वसन्ध्यामा दैनिकजसो स्थिर देखिएको छ । मंगलबार समेत यही प्रवृति निरन्तर रह्यो । 

यो दिन ‘क’ वर्गका कम्पनीहरुको कारोबार मापक सेन्सेटिभ इण्डेक्स ०.२६ अंकले घट्यो भने समग्र कारोबार मापक फ्लोट इण्डेक्समा ०.१२ अंकको गिरावट देखियो । 

मंगलबार तीन समूहको उपसूचक बढ्यो भने बाँकी सबै समूहमा रातो पोतियो । होटल समूह ३२.३४ अंकले बढ्यो भने निर्जीवन बिमा समूहमा ११.०५ र अन्य समूहमा २.४१ अंकको बढोत्तरी भयो । 

बैंकिङ समूहमा ०.७७ अंकको गिरावट देखियो भने विकास बैंक समूहमा १.३१ अंक, जलविद्युत समूहमा ४.९६ अंक, बित्त समूहमा ४.०३,

उत्पादनमूलकमा २५.४२, माइक्रोफाइनान्समा १०.८१ र जीवन बिमा समूहमा ३९.८३ अंकको गिरावट आयो । 

धेरै कारोबार गर्ने कम्पनी
यो दिन बजारमा १ सय ५७ कम्पनीका ९ लाख ९ हजार ३ सय ४१ कित्ता सेयर २१ करोड ३७ लाख ९१ हजार ३ सय १५ रुपैयाँमा किनबेच भयो । 

यो दिन सबैभन्दा बढी प्रोग्रेसिभ फाइनान्सको ३ करोड ४६ लाख बढीको संस्थापक सेयर किनबेच भयो । यसैगरी, फ्रस्ट माइक्रोफाइनान्सले १ करोड ७१ लाख बढीको कारोबार गरेको यो दिन छिमेक लघुवित्त विकास बैंकले १ करोड ११ लाख, इन्भेष्टमेन्ट बैंकले ७३ लाख, सानिमा बैंकले ६२ लाख बढीको कारोबार गरे । प्रोग्रेसिभ फाइनान्सको ५९ लाख बढीको सेयर किनबेच भएको यो दिन नेपाल लाइफ इन्स्योरेन्सले ५३ लाख, स्ट्याण्डर्ड चार्टर्डले ५० लाख, एभरेष्ट बैंकले ४२ लाख र ग्लोबल आइएमई बैंकले ३७ लाख बढीको कारोबार गरे । 

धेरै कमाउने र गुमाउने कम्पनी
यो दिन सपोर्ट माइक्रोफाइनान्स बित्तीय संस्थाका लगानीकर्ताले सबैभन्दा धेरै कमाए । यो कम्पनीको सेयर मूल्य १० प्रतिशतको हाराहारीमा बढ्यो । प्रोग्रेसिभ फाइनान्सका लगानीकर्ताले ९.४० प्रतिशतले सम्पत्ति बढाए । यस्तै, भार्गव विकास बैंकका लगानीकर्ताले ८.८० प्रतिशतले सम्पत्ति बढाए । 

यो दिन फ्रस्ट माइक्रोफाइनान्सको सेयरमूल्यमा सबैभन्दा ठूलो गिरावट देखियो । यो कम्पनीले १२ प्रतिशत बढी नगद लाभांश वितरणको घोषणा गरेको बिषयले बजारमा नकारात्मक प्रभाव पारेको देखियो । यहीकारण कम्पनीको सेयर मूल्यमा ९.५१ प्रतिशतको पहिरो गयो ।