काठमाण्डौ। वित्तीय साक्षरता कार्यक्रमका लागि आइएमई पे र मिडिया इन्टरनेसनलबीच सम्झौता भएको छ।

सम्झौताअनुसार मिडिया इन्टरनेसनलको आयोजनामा देशका ७७ जिल्लामा सञ्चालन हुने फाइनान्सियल डिजिटलाइजेसन लिट्रेसी कार्यक्रमको मुख्य प्रायोजक आइएमई पे हुनेछ। सम्झौतापत्रमा आइएमई डिजिटल सोलुसन लिमिटेडका प्रमुख कार्यकारी अधिकृत विकास नाहाटा र मिडिया इन्टरनेसनलका प्रवन्ध निर्देशक माधव निर्दोषले हस्ताक्षर गरेका छन्। 

सम्झौता आदानप्रदान कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख कार्यकारी अधिकृत विकास नाहाटाले यो कार्यक्रम देशका सवै क्षेत्रमा वित्तीय साक्षरता पुर्याउन सफल हुने विश्वास व्यक्त गरे। प्रबन्ध निर्देशक माधव निर्दोषले आइएमईसँग सहकार्य गर्न पाउँदा खुसी लागेको बताए। 

आइएमई ग्रुपमा प्रवक्ता राजु पौडेलले नेपाल सरकारले अघि सारेको ‘डिजिटल नेपाल’ अभियानलाई सहयोग पुगोस् भन्ने उद्देश्यका साथ कार्यक्रममा सहभागी भएको बताए। 

भर्चुअल माध्यमबाट सञ्चालन हुने यस्ता कार्यक्रममा प्रशिक्षण प्रदान गर्नका लागि आइएमईले तालिम तथा प्रशिक्षण विभागका प्रमुख माधव कटुवाललाई जिम्मेवारी दिएको छ। 

झन्डै ३५ हजार एजेन्ट आउटलेट सञ्जाल भएको ‘आइएमई पे’ आइएमई ग्रुप अन्तर्गतको डिजिटल वित्तीय सेवाप्रदायक उत्पादन हो। नेपाल राष्ट्र बैंकको भुक्तानी तथा फर्छ्यौट विनियमावली–२०७२ बमोजिम आइएमई डिजिटलले दूरसञ्चार सञ्जालका माध्यमबाट मोबाइल वालेट सेवा प्रदान गर्ने अनुमति प्राप्त गरेको हो। यस्तो अनुमति पाउने आइएमई डिजिटल देशकै पहिलो भुक्तानी सेवा प्रदायक कम्पनी हो।

आइएमई डिजिटलले ‘आईएमई पे’ ब्रान्डअन्तर्गत मोबाइल वालेट सेवा उपलब्ध गराउनेछ र यसको मद्दतबाट सेवाग्राही आफैँले अथवा एजेन्टहरुको सहयोग लिएर मोबाइलमार्फत विभिन्न किसिमका भुक्तानीसम्बन्धी कार्य गर्न सक्नेछन्। यसले व्यक्ति–व्यक्तिका बीचमा हुने सामान्य रकम ट्रान्सफर गर्ने सुविधादेखि लिएर विभिन्न अनलाइन तथा स्थलगत स्टोरहरूमा क्यूआरमार्फत भुक्तानी गर्ने, मोबाइल रिचार्ज गर्ने र विभिन्न घरयासी तथा कार्यालयका बिलहरू भुक्तानीमा सेवा प्रदान गर्दै आइरहेको छ।

आइएमई डिजिटलले बैंकको सुविधाबाट वञ्चित तथा न्यून बैंकिङ सुविधा प्राप्त नेपालीलगायत सम्पूर्ण सर्वसाधारण जनतालाई वित्तीय सेवाहरूको पहुँच उपलब्ध गराएर नेपालको वित्तीय समावेशीकरणमा योगदान पुर्याउने लक्ष्य लिएको छ। मोबाइल वालेटमा ब्याज र क्यास ब्याकको पनि सुविधा उपलब्ध छ। विभिन्न प्रकारका बिल भुक्तानी एवं जुनसुकै बैंकका खातामा रकम पठाउन मिल्ने आइएमई पे वालेटको अर्को महत्वपूर्ण विशेषता हो।