काठमाण्डौ । चालु आर्थिक वर्षको दोश्रो त्रैमासको वित्तीय विवरण प्रकाशन गर्ने मामलामा समेत फस्र्ट माइक्रोफाइनान्स नाम झै फस्र्ट नै भएको छ ।
यो कम्पनी हरेक त्रैमासको  वित्तीय विवरण सार्वजनिक गर्ने काममा सधैं फस्र्ट नै हुँदै आएको छ । 

माघ १ गते कम्पनीले प्रकाशन गरेको वित्तीय विवरण अनुसार अघिल्लो आर्थिक वर्षको  यही अवधिको तुलनामा खूद नाफातर्फ १८.०७ प्रतिशतको प्रगति भएको देखिएको हो ।

अघिल्लो आर्थिक वर्षको दोश्रो त्रैमाससम्म ४ करोड ७६ लाख खूद नाफा आर्जन गरेको यो कम्पनीले समीक्षा अवधिमा ५ करोड ६३ लाख कमाएको हो ।

समीक्षा अवधिमा कम्पनीले ४ अर्ब  ६८ करोड सापटी लिएको छ, अघिल्लो वर्ष ३ अर्ब ७१ करोड सापटी लिएको थियो ।

व्यवसाय बिस्तारमा ध्यान दिएका कारण कम्पनीको खूद ब्याज आम्दानी पनि बढेको छ । अघिल्लो वर्ष ८ करोड ५ लाख रहेको यस्तो आम्दानी बढेर ९ करोड १२ लाखको उचाईमा पुगेको हो । 

यो कम्पनीको समीक्षा अवधिमा ८ करोड ८४ लाख संचालन मुनाफा आर्जन भएको छ ।

दोश्रो त्रैमाससम्म यो कम्पनीको चुक्तापूँजी ६८ करोड ४३ लाख रुपैयाँ रहेको छ । रिजर्ब ११ करोड ९३ लाखबाट बढेर १५ करोड ३० लाखको उचाईमा पुगेको छ । 

समीक्षा अवधिमा कम्पनीको वार्षिकीकृत प्रतिसेयर आम्दानी(इपीएस) २०.९१ रुपैयाँ कायम भएको छ । अघिल्लो वर्ष यो अवधिमा इपीएस १६.४६ रुपैयाँमा सीमित थियो । इपीएसतर्फ कम्पनीले २१ प्रतिशतको ग्रोथ हासिल गरेको देखिएको छ । 

यो अवधिमा कम्पनीको प्रतिसेयर नेटवर्थ १२२.३६ रुपैयाँ र मूल्य आम्दानी अनुपात २२.८५ गुणा कायम भएको छ ।