काठमाण्डौ । बुल रनका कारण सेयर बजार उत्सवमय छ हिजोआज । यो बेला देशका कुना कुनाका लगानीकर्ता सेयरमा लगानी गरेर कुस्त कमाउने योजनासहित ब्रोकर हाउसहरुमा धाइरहेका छन् ।
उछालको गतिमा दौडिएको सेयर बजारमा पैसा कमाउने अवसरहरुको बाढी आएपछि लगानीकर्ताको दौडधूप कति हदसम्म बढेको छ भन्ने कुरा ब्रोकर हाउसहरुमा लागेको भीड हेरे पुग्छ । त्यहाँ खुट्टा राख्ने ठाउँ पाउन छाडिइसकेको लगानीकर्ताहरु नै बताउँछन् ।
यो बेला सेयर बजारको विषयमा जानकारी नै नभएकाहरु समेत सहयोगी र निकटस्थहरुमार्फत बजारमा आउने र लगानी खन्याउने क्रम बढिरहेको छ । देशभरबाट लगानी गर्ने लगानीकर्ताको लहर चलिरहेको बेला नेप्सेले कार्यान्वयनमा ल्याएको अनलाइन कारोबार प्रणालीबाट कारोबार गर्नेहरुको संख्या समेत बढ्न थालेको छ ।
आइतबार सेयर बजारमा ३ वटा रेकर्ड कायम भए । तीमध्ये एउटा थियो हालसम्मकै सर्वाधिक कारोबार हुनु । यो दिन बजारमा ३ अर्ब ६० करोड बढीको कारोबारको नयाँ कीर्तिमान कायम भएको छ । कारोबारको यो कीर्तिमान त्यत्तिकै कायम भएको छैन । यो बेला बजारमा कमाउने अवसर छोप्न स्वदेशका मात्र होइन, विदेशमा बस्ने नेपालीहरुले लगानी ओइराएका छन् ।
नेप्सेस्थित उच्च स्रोतका अनुसार आइतबारकै कारोबारमा पनि १२ प्रतिशत बढी रकमको कारोबार विदेशमा बस्ने नेपालीहरुले अनलाइनबाट गरेका छन् । यसको अर्थ आइतबार विदेशमा बस्ने नेपालीहरुले अनलाइनबाट ४३ करोड बढीको सेयर खरीद गरेका छन्।
नेप्सेका अनुसार यो दिन अनलाइन कारोबार मात्र कुल कारोबारमा ४४ प्रतिशत भएको छ । अर्थात, १ अर्ब ५९ करोड ७९ लाख बढी रकमको सेयर कारोबार अनलाइनबाट भएको छ । यसको अर्थ नेप्सेको अनलाइन प्रयोगकर्ताको संख्या बुल मार्केटमा बढ्न थालेको देखिएको छ ।
आइतबार कारोबारमा संलग्नमध्ये १२ हजार २९५ जनामध्ये ३ हजार १ सय ८८ कारोबारी अनलाइन कारोबारी हुन् । उनीहरुले ४९ हजार ८४४ आदेश प्रविष्ट गरी १५ हजार १८४ को संख्यामा कारोबार गरेका छन् ।
नेप्सेमा मिठाई
यसैबीच, बजारमा उछाल आई कारोबार रकमले ऐतिहासिक रेकर्ड बनाएपछि खुशी बनेका नेप्सेका सीइओ चन्द्रसिंह साउदले बजार बन्द भएलगत्तै खुशियालीमा मिठाई बाँडेका छन् ।
नेप्सेस्थित उच्च स्रोतका अनुसार उनले ३ वटा कीर्तिमान कायम भएको भन्दै सहकर्मीहरुलाई खुशियालीमा मिठाई बाँडेका थिए । कर्मचारीहरु समेत बजारमा उछाल आई मुख मीठो गर्न पाएका कारण खुशी र उत्साही देखिएका थिए ।
11 months ago
11 months ago
11 months ago
11 months ago
11 months ago
11 months ago
11 months ago
11 months ago
11 months ago
11 months ago