– भक्तराज रसाइली

काठमाण्डौ । विविध कारणले विगत चार वर्षदेखि सेयर कारोबार सूचक नेप्से इन्डेक्समा भएको लगातार गिरावटले अधिकांश लगानीकर्ताको पोर्टफोलियोमा पनि नराम्रोसँग भूक्षय गएको छ ।

सेयरमूल्यमा भएको डरलाग्दो गिरावटले कतिपय लगानीकर्ता पलायन त भए नै कतिपयका दैनिकी पनि निक्कै कष्टदायी भइरहेको सुनिन्छ । यद्यपि यस्तो विषम परिस्थितिमा दीर्घकालीन मुनाफाको आशमा सपनाहरू बुन्दै गरेका एक अदम्य साहसी युवाको सेयरबजारको यात्रालाई यस साता पस्केका छौँ । उनी हुन्, गोपाल कटवाल । आफूलाई गोपाल स्वामी परिचय दिन रुचाउने उनी सुनसरी बराहक्षेत्र नगरपालिका–८ का बासिन्दा हुन् । उनी हाल काठमाण्डौको गोठाटार बसोबास गर्छन् ।

कटवाल २०५१ सालमा एसएलसी दिएर उच्च अध्ययनकै सिलसिलामा राजधानी आए । २०५२ सालमा आरआर क्याम्पसमा प्रमाणपत्र तह पढेपछि उनी पुनः पूर्वतिर नै फर्के । इटहरीको जनता क्याम्पसबाट स्नातकमा टप गरेका उनी मास्टर डिग्री पढ्न पुनः राजधानी हानिए ।

केन्द्रीय क्याम्पस कीर्तिपुरमा रुरल डेभलपमेन्ट विषयमा स्नातकोत्तर गर्दा कटवाले टप १० भित्रको स्थान ओगटेको दाबी गरे । कटवाल लगानीकर्ता दबाब समूहका सचिव र क्यान्सर फ्री सोसाइटी नेपालका अध्यक्षसमेत छन् । दुई वर्षअघि आफ्नो छोरालाई ब्लड क्यान्सरले समातेपछि क्यान्सर भएका विपन्न व्यक्तिलाई आर्थिक सहयोग र क्यान्सरबारे जनचेतनाका निम्ति क्यान्सर फ्री सोसाइटी नेपाल संस्थाको स्थापना गरेको उनको भनाइ छ ।

कटवाल कोरियन भाषामा निक्कै दखल राख्दथे । कोरियन भाषाको कोचिङ कक्षा पढाएर नै उनले आफ्नो खर्च टार्थे । वैदेशिक रोजगारको उच्च रोजाइ बनेको कोरिया जान सन् २०१० मा ईपीएस भाषा परीक्षा कटवालले दिए । परीक्षा उत्तीर्ण गरेपछि उनी सन् २०११ मा कोरियातिर लागे ।

साढे चार वर्ष कोरियामा रोजगार गरेका कटवाल २०७२ मा गएको विनाशकारी भूकम्पपश्चात् नेपाल फर्के । कोरिया पुनः जान भिसा पनि थपिन्थ्यो तर उनलाई थप इच्छा जागेन । उसो त कटवालले कोरियामै रहँदा पनि सेयरमा लगानी गरिनै रहेका थिए ।

कटवाललाई सेयरबजारको तिर्सना भने स्नातक अध्ययन गर्दागर्दै भएको थियो । कटवाललाई सेयरबजारको उस्तुकता बढ्दै गयो । स्नातकोत्तर अध्ययन सकाएपछि कृषि विकास बैंकको आईपीओ भरेका उनले त्यतिबेला ३७० कित्ता हाता पारे । सरकारी संस्थानको आईपीओमा सर्वसाधारणको त्यति चासो नभएको उनले सम्झे ।

विश्वविद्यालयमा डिग्री अध्ययन गर्दैगर्दा भिजिटिङ प्रोफेसर र विज्ञहरुले सेयरबजारबारेमा दिएको ज्ञान र व्यवस्थापन विषय पढ्दै गरेका साथीहरुकै लहैलहै अनि देखासिकीमा कटवालले पकेट खर्च जुटाउनै भन्दै आईपीओ भरेको सुनाए । ‘पढाइ खर्च बाबाले पठाए पनि म कोरियन भाषा पढाएको आयले आईपीओ भर्थें’, उनले विगत सम्झँदै भने, ‘आईपीओ भरेको मैले सायदै कम होला । अहिले पनि म हाइड्रोबाहेक भर्छु ।’

नेपालमा ७२ सालमा गएको महाभुकम्प ५–६ महिनाअघि दोस्रो बजारमा कटवालले लगानी गर्न सुरुआत गरे । स्वाबलम्बन विकास बैंक र मितेरी विकास बैंकका क्रमशः प्रतिकित्ता रु. २ हजार ३३० र रु. ६३० मा ७०० र १००० कित्ता किन्दै दोस्रो बजारमा लगानी ओइराउन थाले । उसो त कटवाल कोरिया छँदै श्रीमतीलाई पैसा पठाइदिएर सेयरबजारमा लगानी गरिरहेका थिए । उनले श्रीमतीलाई सेयरबजार विश्लेषक रवीन्द्र भट्टराईसँग सेयर तालिम पनि लिन लगाए।

दोस्रो बजारमा लगानी गर्दैगर्दा हाल निक्कै घाटा बेहोरिरहेका कटवाल भन्छन्, ‘साग रोपेको हैन, आँप रोपेको हुँ भोलिको दिनमा राम्रो फल पाउँछु भन्नेमा म ढुक्क छु ।’

भूकम्पपश्चात् नेपाल नै बस्ने निधो गरेका कटवालले सेयरमा लगानी थुपार्ने क्रम बढ्दै गयो । सुरुसुरुमा मार्केटले मुनाफा पनि दिएको बताउने कटवाल ज्ञान अभावमै मार्जिन ऋण लिएर सेयरमा लगानी चुलाउँदै २ करोड रुपैयाँ बढी पुर्याए । ‘हौसिँदै गइयो, लगानी बढाइयो, कागजमा नाफा देखेर ऊर्जा पनि थपिँदै गयो’, मलिन स्वरमा उनले भने, ‘नाफालाई नगदलाई कन्भर्ट नगर्नु मेरो ठूलो भूल भएको अहिले महसुस हुन्छ । कागजमै आयो, कागजमै गयो ।’

कटवालको पोर्ट्फोलियोमा हाल ५० प्रतिशत गिरावट आएको छ । नेप्से सूचकांक उच्च विन्दुमा पुग्दा हौसिएका कटवालले आफूसँग भएका सेयर नाफामा हुँदा मख्ख त परे तर त्यो नाफा कागजमै सीमित बन्न पुग्यो ।

सेयरबजारमा लागेपछि प्रफिट टार्गेट हुनुपर्ने जिकिर गरेका कटवाल भन्छन्, ‘नयाँनयाँमा लोभको कुण्डमा फसिँदो रहेछ । लालचीपन जाग्दोरहेछ तर दीर्घकालीन लगानी ४–५ वर्षका लागि गर्ने हो भने कहिले हारिँदैन ।’

छोटो समयमा कटवालले सिकेको पाठ नयाँ प्रवेशीहरुलाई सेयरबजारमा दिशानिर्देश हुनसक्छ । धैर्यता, विश्वास र सकारात्मक सोच यी तीनै कुरा भने एउटा लगानीकर्तामा अतिआवश्यक चीज भएको कटवालको भनाइ छ ।

मुलुकमा सबै आर्थिक सूचकमा सकारात्मक देखिँदादेखिँदै पनि नियामक निकायकै कमजोरी, स्वार्थ र अदूरदर्शीले समग्र पूँजीबजार नकारात्मक बनेको कटवालको तर्क छ । तपाइँ नेप्से सूचकांक उच्च हुँदा नाफा बुक गर्न चुक्नु भएछ नि भन्ने प्रश्नमा कटवालले चुकेको नभई चुकाइएको हो भन्ने उत्तर दिए ।

पूँजीबजारसँग सरोकार राख्ने नियामकीय निकायहरुका उच्च नेतृत्वमा डाक्टरहरुजस्तो बुद्धिजीवीले नै हाँक्दासमेत पूँजीबजारको विकास र विस्तार नहुनु बिडम्बना भएको कटवालको ठम्याइ छ ।

वैदेशिक रोजगारीबाट कमाएको पैसा सबै सेयरबजारमा नै एकमुष्ट खन्याएका कटवालका पिताले जग्गा बेचेको पैसासमेत सेयरमै ओइरिए । उनको लगानी हाल नोक्सानमा छ । मुटुको टुक्राभन्दा प्यारो छोरासमेत ब्लड क्यान्सर पीडित छन् । हाल भारतको राजीवगान्धी क्यान्सर हस्पिटलमा उपचार गर्न पनि उनले धेरै पैसा खर्चिनुपरेको छ । यद्यपि उनी कति पनि विचलित भने छैनन् । भगवानप्रति दृढ विश्वास रहेको उल्लेख गर्दै उनले डिक्लरेसन मुडमा अनि तनावमै भए पनि आनन्द लिन थालेको बताए । अनि उनी फेरि निकैबेर भावुक मुद्रामा प्रस्तुत भए ।

दोस्रो बजारमा बिताएको छोटो समयमै उनले धेरै पाठ पनि सिकेको हामीसामु खुलाउन चाहे । नेपालमा आम लगानीकर्तामा अपरिपक्वता भएको र ज्ञान नै नभई सेयरबजारमा आउने प्रचलन गलत भएको उनको बुझाइ छ ।

नियामक निकायको असंवेदनशिलता र मिडियाका समाचारमा म्यानुपुलेसनको गन्ध आफूले थाहा पाएको कटवाल दाबी गर्छन् । ‘हामी हल्लाको भरमा लगानी गर्छौं’, कटवाल भन्छन्, ‘हिजोको सिकार म भएँ, सबै अज्ञानतामा नै भयो ।’

सर्टटम कारोबारीभन्दा पनि दीर्घकालीन लगानी गर्न सेयरमा लगानी गर्नुपर्ने पाठ आफूले सिकेको कटवाल सुनाउँछन् । उनी भन्छन्, ‘अहिलेको परिदृश्य निकै सकारात्मक बन्दै गएको छ, मुलुकमा आर्थिक गतिविधि सलबलाउन थालेको र अहिले लगानीको निम्ति ठूलो अवसर हो ।’

नियामक निकायका उच्च नेतृत्वमा दृढ इच्छाशक्ति भए नेपालको पूँजीबजारमा कायापलट हुने कटवाल दाबी गर्छन् । विद्युत्मा कुलमान घिसिङले पाएको नेतृत्वले छलाङ मारेझै नियामकीय निकायमा पनि कुलमानजस्तै मान्छे आवश्यक रहेको उनको ठहर छ।

सेयरबजारमा लगानी गरेर पैसा गुमाए पनि कुनै गुन्जायस नभएको तर अनुभव सँगाल्दै आनन्द लिइरहेको कटवाल सुनाउँछन् ।

विश्व अर्थतन्त्रको अभ्यासको अनुशरण नेपालले पनि गर्नुपर्ने सुझाउँदै कटवाल नेपाली मुद्रालाई करेन्टझै रफ्तारमा दौडाउनुपर्ने धारणा राख्छन् । ‘पैसालाई सुत्न दिनुहुँदैन, आर्थिक समृद्धि त्यतिबेला सम्भव हुन्छ, जतिबेला पैसा करेन्टझैँ चलायमान हुन्छ’, कटवाल तर्क गर्छन् ।

नेपालको सेयरबजारलाई कच्चा तेलसँग तुलना गर्दै कटवालले स्थिर सरकार, पूर्वाधार निर्माणमा भएको वृद्धि अनि आर्थिक मूभमेन्ट सुरुआतसँगै भोलिको दिन सुनौलो भएको उनको बुझाइ छ ।

कटवालले भोगिरहेको सेयरबजारको अनुभवले आगामी दिनमा नवप्रवेशीलाई दिशानिर्देश बन्न सकोस् । छोरोलाई गम्भीर रोग ब्ल्ड क्यान्सरले पीडा दिँदा पनि समग्र नेपालीलाई सचेतनामा सक्रिय हुने कटवालको कदम र क्यान्सरपीडित विपन्न व्यक्तिलाई आर्थिक सहयोग सराहनीय छ । यी युवाको लक्ष्य र सपना पूरा होऊन् । साथै बिजशाला टिम उनको छोराका निम्ति  स्वास्थलाभको कामना पनि गर्दछ ।