काठमाण्डौ । सरकारले चार्टर्ड उडानमार्फत स्वदेश आउने नागरिकलाई क्वारेन्टिनमा राख्ने प्रयोजनका लागि होटेलको सूची र मूल्य सार्वजनिक गरेको छ।

जिल्ला प्रशासन कार्यालय काठमाण्डौले पर्यटन विभागले उपलब्ध गराएको होटेलको सूची र मूल्य सार्वजनिक गरेको हो। सार्वजनिक गरिएका होटेलमा ३ हजार ५०० शय्या क्षमता रहेको छ।

जिल्ला संकट व्यवस्थापन केन्द्र (डिसिसिएमसी) ले यही भदौ २ गते कोभिड–१९ विश्वव्यापी सङ्क्रमणका कारण उत्पन्न असहज परिस्थितिमा स्वदेश आउनै पर्ने अवस्थामा रहेका नागरिकलाई स्वदेश आउन सहजीकरण गर्नेसम्बन्धी आदेश, २०७७ बमोजिम विमानस्थल हुँदै नेपाल प्रवेश गर्ने र स्वेच्छाले होटेल क्वारेन्टिनमा बस्ने व्यक्तिलाई राख्न होटेल सूचीकृत गर्ने निर्णय गरेको थियो।

सोही निर्णयका आधारमा पर्यटन विभागले बिहीबार क्वारेन्टाइन प्रयोजनार्थ होटेलको विवरण र मूल्य जिल्ला प्रशासन कार्यालय काठमाण्डौलाई उपलब्ध गराएको थियो। तारे होटेलदेखि सामान्य पर्यटकस्तरका होटेलको सूची र मूल्य सार्वजनिक गरिएको जिप्रका काठमाण्डौका प्रशासकीय अधिकृत रमा घिमिरेले जानकारी दिए। 

पर्यटन विभागका सूचना अधिकारी सुरेन्द्र थापाले स्वास्थ्यसम्बन्धी मापदण्ड पालना गर्नसक्ने क्षमता भएका होटेललाई क्वारेन्टिनका रूपमा प्रयोग गर्न सूचीकृत गरिएको जानकारी दिए। “अहिले हामीले तीन हजार ५०० शय्या भएको होटेललाई तयारी अवस्थामा राखेका छौँ, चरणबद्ध रूपमा यो थपिन सक्छ”, उनले भने, “स्वास्थ्यसम्बन्धी प्रोटोकलको पालना गर्न सम्भव भएका होटेललाई सूचीकृत गरेको हौँ, सबै होटेलमा त्यो सुविधा नहुन सक्छ।”

सकभर आइसोलेटेड क्षेत्रमा भएका, कम्पाउण्ड भएका, बाहिरी व्यक्तिसँग घुलमिल हुन नसक्ने, सामाजिक दूरी कायम गर्न सक्ने होटेललाई सूचीकृत गरिएको उनले जानकारी दिए। होटेल व्यवसायी महासंघ, होटेल एसोसियसन तथा व्यवसायीसँग छलफल गरेर क्वारेन्टिन होटेलको सूची सार्वजनिक गरिएको उनको भनाइ छ। 

पर्यटकीय क्षेत्र ठमेल, ताहाचल, गौशाला, बत्तिसपुतली, दरबारमार्ग, सानो गौचरन, नक्साल, भक्तपुर, लाजिम्पाट, गोदावरी, कमलादी, स्वयम्भू, झम्सीखेल, बूढानीलकण्ठ, लैनचौर कमलपोखरी र बागबजार क्षेत्रमा होटेललाई क्वारेन्टिनका रूपमा प्रयोग गरिने छ।

विभागले क्वारेन्टिमा प्रयोग गरिने पर्यटकस्तरका होटेलको मूल्य र खानाको मेनु पनि सार्वजनिक गरेको छ। पाँच तारे होटेलमा एकल रु ९ हजार र दुईजना साझेदारीमा बस्नेका लागि प्रतिव्यक्ति रु  ६ हजार तोकिएको छ। 

यस्तै चारतारे होटेलमा एकल रु ८ हजार र दुई जनाको हकमा प्रतिव्यक्ति रु ५ हजार ५००, तीनतारे तथा डिलक्स रिसोर्टमा एक जनाको रु ६ हजार र दुईजनाको हकमा प्रतिव्यक्ति रु पाँच हजार, दुई तारेमा एकल रु ५ हजार र दुई जना भएमा प्रतिव्यक्ति रु ३ हजार ५००, एकतारेमा एकल रु चार हजार र दुई जना भएमा प्रतिव्यक्ति रु दुई हजार ५०० तथा पर्यटकस्तरको होटेलमा एकल रु २ हजार ८०० र २ जना भएमा प्रतिव्यक्ति रु १ हजार ८०० शुल्क तोकिएको छ।

पर्यटकस्तरको होटेलका लागि दिनको चार पटक दिइने खानाको मेनु पनि तोकिएको छ। पर्यटकस्तरको होटेलले क्वारेन्टिनमा बस्ने व्यक्तिलाई बिहानको नास्ता, खाना, खाजा र बेलुकाको खाना खुवाउनुपर्नेछ। तारे होटेलले खुवाउने खाना आफ्नै ढंगको हुनेछ।

सरकारले चार्टर्ड उडानमार्फत कोभिड–१९ का कारण विदेशमा अलपत्र परेका नागरिकको उद्धार गर्ने निर्णय गरिसकेको छ। त्यसरी विदेशबाट उद्धार गरिएको व्यक्ति कम्तीमा पनि एक साता होटेल क्वारेन्टिनमा बस्नुपर्ने व्यवस्था गरिएको छ। कोभिड–१९ महामारीका बीचमा यही भदौ ३ गतेसम्म ५९ देशबाट करिब ५२ हजार नेपाली स्वदेश फर्किका छन्।