काठमाण्डौ। मोहन बस्याल वैदेशिक रोजगारीको सिलसिलामा हाल दुबई पुगेका छन्। उनी नेपालको सेयर बजारमा लगानी गर्न चाहन्छन्। तर उनको चाहना अझै पूरा हुन सकेको छैन।

बस्यालले नेपालकै सिद्धार्थ बैंकको दुबईस्थित एसबीएल रेमिटको आधिकारिक प्रतिनिधिमार्फत बैंक खाता र डिम्याट खाता खोलिसके तर दोस्रो बजारमा आक्रमक रुपमा सेयर खरिदबिक्री गर्ने चाहना भने सफल हुन सकेन। ‘मसँगै दुबईमा मेरा ५ जना साथीहरुसमेत सेयर बजारमा प्रवेश गर्न चाहन्छन्’, उनी भन्छन्, ‘तर विदेशमा ब्रोकरको आधिकारिक प्रतिनिधिको व्यवस्था छैन र नेपालस्थित ब्रोकर कम्पनीहरुमा हाम्रो पहुँच नपुगेपछि सेयर बजार आउने चाहनामाथि नै ब्रेक लागेको छ।’

बस्यालले विदेशबाटै केवाईसी खोल्ने व्यवस्था भएमा सेयर बजारमा थप १ लाख लगानीकर्ता थपिने जिकिरसमेत गरे। सेयर लगानीले विदेशमा हुने फजुल खर्च नियन्त्रण भई उत्पादनशील क्षेत्रमा लगानी हुने दाबी गर्दै उनले बिदेशबाट औपचारिक च्यानलमार्फत पैसा स्वदेश भित्रिने बताए।

हाल नेपाल धितोपत्र बोर्डले लगानीकर्ताको पहिचान (केवाईसी) ब्रोकरकै रोहवर वा स्वयं उपस्थितिमा मात्रै खोल्न पाउने व्यवस्था गरेपछि स्टक ब्रोकर कम्पनीहरुले विदेशमा रहेका नेपालीहरुले अनलाइन वा ई–मेलबाट केवाइसी अनुरोध गरे पनि ठूलो संख्यामा नवप्रवेशी गुमाइरहेका छन्। नेपाल आएका बेला ब्रोकर कम्पनीमा गई स्वयं उपस्थित भई केवाईसी खोलेर अनलाइन युजर र पासवर्ड लिई पुनः विदेश नै गएका व्यक्तिहरुले सेयर बजारमा उत्साहजनक उपस्थिति बढिरहेको छ।

विदेशबाट केवाईसी खोली सेयर बजार प्रवेश गर्ने जटिलताका विषयमा नेपाल धितोपत्र बोर्डका अध्यक्ष डा. भीष्मराज ढुंगानाले राजदूतावासले प्रमाणित गरेपछि वैदेशिक रोजगारीमा गएका व्यक्तिको पनि केवाईसी स्वीकार्न हुने र सेयर खरिदबिक्री गर्न सक्ने बताए। व्यक्तिको अनुपस्थितिमा नै पनि अन्य सम्पत्ति खरिदबिक्री भइरहेको परिप्रेक्ष्यमा केवाईसी पनि विदेशस्थित नेपालको राजदूतावासले सोही व्यक्ति हो भनी प्रमाणित गरेको खण्डमा केवाईसी सहजै स्वीकार्न सकिने उनको भनाइ छ।

स्टक ब्रोकर्स एसोसिएसनका नवनियुक्त अध्यक्ष सन्तोष मैनाली हाल केवाईसीको प्रक्रियालाई राज्य र नियामक सबै मिलेर छलफल गरी कानुनी परिमार्जन गर्दै बाटो खुलाउन आवश्यक रहेको बताउँछन्। ब्रोकरको पाटोबाट कुनै गाह्रो नभए पनि सबैले यस विषयमा गम्भीरतापूर्वक समाधान पहिल्याउन सके विदेशमा रहेका र पैसा भएका जमातलाई सेयर बजारमा प्रवेश गराइएको खण्डमा दीर्घकालीन फाइदा पुग्ने उनको भनाइ छ।