काठमाण्डौ । विदेशबाट फर्किने नेपालीले अब एउटामात्रै मोबाइल फोन ल्याउन पाउने भएका छन्।

भन्सार विभागले आगामी पुस १५ गतेदेखि मोबाइल भित्र्याउने नियमहरुमा कडाइ गर्ने तयारी गरिरहेको छ। जसअनुसार विदेशबाट फर्किनेहरुले आफूले प्रयोग गरिरहेको मोबाइल ल्याउन पाउने त्रिभुवन विमानस्थल भन्सार कार्यालयले जनाएको छ। त्यसका अतिरिक्त थप मोबाइल ल्याएमा दोस्रो मोबाइलका लागि भन्सार विभागलाई १८ प्रतिशत कर अनिवार्य तिर्नुपर्ने कार्यालयले जनाएको छ। विदेशबाट मोबाइल ल्याउँदा ५ प्रतिशत भन्सार शुल्क र १३ प्रतिशत मूल्य अधिवृद्धि कर गरी कुल १८ प्रतिशत कर अनिवार्य तिर्नुपर्ने भएको हो। 

विदेशबाट झिटीगुन्टा सुविधाअनुसार प्रतिव्यक्ति एक थान मोबाइल ल्याउन पाउने व्यवस्था छ। त्योभन्दा बढी ल्याएमा भन्सार तिराउने वा जफत गर्ने अधिकार भन्सार विभागको रहेको छ। त्यसरी जफत गरिएका मोबाइल सरकारले टेन्डर आह्वान गरेर बिक्री गर्छ।

भन्सार राजस्व तिरिसकेपछि उक्त मोबाइलको लागि विभागले प्रज्ञापनपत्र दिन्छ। सोही प्रज्ञापनपत्रका आधारमा पनि उक्त मोबाइल फोन डिभाइस म्यानेजमेन्ट सिस्टम (एमीडएमएस)मा दर्ता हुनेछ।

नेपाल दूरसञ्चार प्राधिकरणले एमीडएमएस लागू गरेको छ। गैरकानुनी बाटोबाट आएका मोबाइलको प्रयोगलाई रोक्न प्राधिकरणले यो प्राणाली लागू गरेको हो। यो प्रणाली लागू भएपछि आधिकारिक रुपमा आयात भएका फोनबाहेक अरु फोन दर्ता गर्नुपर्ने हुन्छ।